‘कालोसुन’ नामले परिचित अलैँचीको बजार फेरि खुल्न थालेको छ ।
बुधवार ताप्लेजुङमा सालाखाला अलैँची ८८ हजार प्रतिमन (४० किलोग्राम) को दरले कारोबार भइरहेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए ।
उनका अनुसार गोलसाई प्रजातिको गुणस्तरीय अलैँची भने ९०–९२ हजार प्रतिमनसम्ममा खरिद गर्न सकिन्छ । रेग्मीका अनुसार भारत र पाकिस्तानबिचको युद्ध अवधिभर भने अलैँचीको कारोबार प्राय ठप्प नै रहयो। ‘दुई देशको युद्धका कारण अलैँचीले तेस्रो बजार नपाउँदा कारोबार ठप्प भएको हुन सक्छ’ रेग्मीले भने । उनका अनुसार भारत र पाकिस्तानको युद्ध बिरामसँगै अलैँचीको बजार खुल्न थालेको छ ।
युद्धको समयमा बाह्य कारोबार ठप्प भएपनि आन्तरिक कारोबार हुँदाका अवस्थामा कहिदिन अलैँची ८४–८५ हजार प्रतिमनका दरले मात्र कारोबार भएको रेग्मीले बताए । अलैँचीको मूल्य भने साबिक भन्दा ओरालो लागेको छ । यसबर्ष अलैँचीको उच्च कारोबार भएको समयमा अलैँची प्रतिमन १ लाख १२ हजार रुपैयाँ प्रतिमन सम्ममा कारोबार भएको थियो । गोलसाई प्रजातिको अलैँची भने प्रतिमन १ लाख १५ हजार रुपैयाँ सम्ममा कारोबार भएको रेग्मीले जानकारी दिए ।‘भाउ त अचाक्ली नै आएको हो,तर अहिले घटेर पो समस्या भयो’मूल्य उतारचढावले अलैँचीको व्यावसायिक प्रक्रियामा पारेको असर बताउँदै रेग्मीले भने ।
यसबर्ष धेरै अवधिपछि अलैँचीको मूल्यले प्रतिमन १ लाख रुपैयाँ भन्दा माथि भाउ पाएको थियो । अलैँचीका लागि अब अन्तिम बिक्री सिजन हो । भदौ–असोजबाट अलैँचीको नयाँ उत्पादन बजारमा आउन थाल्छ । नेपालमा अलैँचीको आफ्नै समर्थन मूल्य छैन । अलैँचीको बजार नै तेस्रो मुलुकमा निर्भर रहँदा तेस्रो मुलुकका व्यवसायीले निर्धारण गरेको मूल्यका आधारमा नेपालमा अलैँचीको कारोबार हुने गरेको अलैँची व्यवसायीहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख बिमला पोख्रेल अलैँचीको प्याकेजिङ गरी मसलाको रुपमा नेपाल भित्रै प्रयोग गर्ने प्रणालीको विकास नगरेसम्म अलैँचीको बजारमा उत्पादककै मूल्य स्थापित हुन कठिन हुने बताउँछिन् ।‘सुकमेल किनेर प्रयोग गर्ने हामीले सुकमेल झैँ मसलाको रुपमा अब अलैँचीको उपयोग गर्ने हो भने मात्रै नेपाली उत्पादनले नेपाली बजार स्थापित गर्ने छ’पोख्रेलले भनिन् । नेपालमा उत्पादन हुने अलैँचीको ठूलो हिस्सा ताप्लेजुङले उत्पादन गर्छ।
एक तथ्याङ्क अनुसार नेपालमा उत्पादन हुने अलैँचीको कुल परिमाणमध्ये ताप्लेजुङ एक्लैले करिब ४७ प्रतिशत उत्पादन हिस्सा ओगटेको छ । विश्व बजारमा अलैँची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल अलैँची बजारका लागि भने सधैँ भारतमा भर पर्नुपर्ने अवस्थाका कारण अलैँचीको मूल्यमा नियमित उतार–चढाव देखिने अलैँची जोन ताप्लेजुङका अध्यक्ष वालमणि बराल बताउँछन् । नेपालबाट निर्यात हुने कृषि वस्तुमध्ये अलैँची सबैभन्दा बढी निकासी हुँदै आएको तथ्याङ्कले देखाउँछ ।
प्रकाशित: ७ जेष्ठ २०८२ ११:५६ बुधबार





