२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

थालिकाँडामा विद्युत पुगेपछि खुसियाली

थालिकाँडामा पहिलो पटक बत्ती पुगेपछि खुसी साट्दै नागरिकहरू। तस्बिरः नागरिक

दैलेख सदरमुकामसँग नजिकै रहेपछि विद्युत पुग्न नसक्दा विकासबाट टाढा रहेको डुङ्गेश्वर गाउँपालिका–३ स्थित थालिकाँडामा बत्ती पुग्दा नागरिकहरूमा खुसी छाएको छ। २०५२ सालमै यही पालिका भएर पहिलो पटक दैलेख सदरमुकाम बत्ती गएपछि थालिकाँडा भने पहिलो पटक बत्ती बाल्न पाउँदा नागरिकहरूमा खुसी छाएको हो।

थालिकाँडा गाउँ अहिले बत्ती जडानपछि झिलिमिली देखिएको छ। बत्तीको प्रयोगले मिलदेखि अन्य घरायसी कुराहरूमा सहज भएको स्थानीय बताउँछन्। सदरमुकाम नजिक भएपछि बिजुलीकै कारणले टाढाजस्तो भएको गाउँ अहिले बल्ल बत्ती बाल्न पाएपछि स्थानीयहरूमा खुसियाली छाएको स्थानीय धर्मराज रावलले बताए।  

थोरै घरमा सोलार र अधिकांश घरमा टुकी बत्ती मार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनबाट बत्ती पुगेपछि खुसी भएका छन्। गाउँमा बिजुली पुगेपछि अँध्यारो बस्तीबाट उज्यालो बस्तीका रूपमा रुपान्तरण भएको छ। गाउँमा कच्ची सडकसँगै लामो समयपछि विद्युत पनि पुगेको हो। अहिले पहिलो पटक थालिकाँडाका १६ घरधुरीमा मिटर जडान गरिएर बत्तीको सुरुवात गरिएको ३ नम्बर वडाका अध्यक्ष कृष्णबहादुर खत्रीले बताए।

गाउँका ५० घरधुरीलाई विद्युत सहज रूपमा प्रयोग गर्न पाउने छन्। बत्ती जडानसँगै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको वडाध्यक्षले बताए। धेरै लामो प्रतीक्षा भएको ठाउँमा विद्युत पुर्‍याउन पाउँदा खुसी लागेको नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रका प्रमुख टंकराज गिरीले बताए।

प्रकाशित: १३ पुस २०८२ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App