नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ। कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा आयोजित बजेट तथा नीति संवाद कार्यक्रमको सुझाव अर्थमन्त्री विष्णु पौडेललाई बुझाउँदै यो माग राखेको हो।
कांग्रेस केन्द्रीय सदस्य एवम् विभाग प्रमुख अजय बाबु शिवाकोटीले बजेट तयारीमा रहेका अर्थमन्त्री पौडेललाई स्टार्टअप नीति पूर्ण कार्यान्वयन गर्न, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा, कर छुटजस्ता सुविधा दिन सुझाए। उनले कर सुधारमा जोड दिँदै दोहोरो कर हटाएर एकद्वार प्रणाली लागू गर्न, कर कार्यालयमा जवाफदेहिता बढाउन र डिजिटल कर प्रणाली विकास गर्नुपर्ने बताए।
अर्थमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा शिक्षा सुधार, कृषि क्षेत्रमा विशेष ध्यान, कर सुधार र उद्यमशीलता प्रवर्द्धनका रणनीतिक सुझाव समेटिएका छन्। सुझाव बुझ्दै अर्थमन्त्री पौडेलले आगामी बजेटमा उद्यमशीलता, नवप्रवर्तन र लघु उद्यम सशक्तीकरणका विषय समेट्ने प्रतिबद्धता जनाए। उनले यी क्षेत्रमा उपयुक्त वातावरण बनाएर कार्यान्वयनलाई बलियो बनाउने बताए।
सुझाव बुझाउने कार्यक्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलताका मुद्दामा सरोकारवालासँग प्रभावकारी छलफल गरेर साझा धारणा बनाउनुपर्ने बताए। यस्तै, उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दा कार्यान्वयनका लागि सरकारलाई निरन्तर दबाब दिइरहने बताए।
प्रकाशित: ७ जेष्ठ २०८२ ११:०२ बुधबार





