१३ माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।

सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कुल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कुल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन्। आमादब्लममा १० समूहका १०२, ल्होत्सेमा  नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन्।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन्। आरोहण अनुमति जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ। रासस

प्रकाशित: २९ वैशाख २०८२ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App