घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन्। उनले दुई दुहुना भैंसी र आठ भेडा पालेका छन्।
कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैंसी र भेडालाई खुवाउने र बीउ बिक्री गर्ने गरेका उनले बताए। गत वर्ष दुई लाख रुपैयाँको घाँसको बीउ बिक्री गरेका उनले यस वर्ष गत वर्षभन्दा बढी आम्दानी हुने विश्वास गरेका छन्।
‘बर्सिम घाँस खेतमा छरेपछि हिउँदमा घाँस खोज्न जानुपरेको छैन, समयको बचत भएको छ। हरियो हुँदा घाँस खुवाउन पाइने र त्यसको दाना बीउका रूपमा बिक्री हुन्छ,’ उनले भने। उनका अनुसार दाङका किसानले घाँसको बीउ बिक्रीबाट लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्।
घोराही–६ का प्रेम चौधरीले तीन भैंसी, एक गाई र छ बाख्रा पालेका छन्। उनले भने, ‘१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, पशुलाई घाँस खुवाउन सजिलो भएको छ। हिउँदमा हरियो घाँस खाएर भैंसीले दूध पनि बढाएका छन्।’
घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरेको उनले बताए। पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको उनको भनाइ छ। ‘वर्षातमा धान काट्नुअघि मसुरो छरे जस्तै घाँसको बीउ छर्ने गरिन्छ। घाँस उम्रँदा धान काटिसकेको हुन्छ, कतिपयले खेत जोतेर पनि छर्छन्,’ उनले भने। गत वर्ष ९० हजार रुपैयाँको बीउ बिक्री गरेका उनले यस वर्ष एक लाखभन्दा बढी बिक्री हुने अनुमान गरेका छन्।
घोराही–५, ६, ७, ८ र १७ का किसानले १५ देखि २५ कट्ठासम्म घाँसखेती गरेको घाँस बीउ उत्पादक सङ्घले जनाएको छ। अन्य बालीभन्दा बढी फाइदा हुने भएकाले किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले बताए।
घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर, अघरा र घोराही–१७ को कर्जाही, गैरागाउँका किसानले १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेको उनले बताए।
‘यसलाई ‘ग्रिनगोल्ड’ पनि भनिन्छ। यो खेतीबाट दोहोरो–तेहोरो फाइदा हुन्छ। हरियो घाँस, सुकेको डाँठ खुवाउन पाइने र दाना बिक्रीबाट नगद आम्दानी हुने भएकाले दाङका धेरै पालिकाका किसानले यो खेती गरेका छन्,’ अधिकारीले भने।
गत वर्ष घाँसको दाना बिक्रीबाट किसानले दुई लाख ९० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरेका छन्। यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने भएकाले लाभकारी भएको उनले बताए। रासस
प्रकाशित: २३ वैशाख २०८२ ०९:३३ मंगलबार




-600x400.jpg)
