तेह्रथुमको लालीगुराँस नगरपालिकाले पालिकाभरिका किसानले उत्पादन गरेको अर्गानिक तरकारी र फलफूल घर–घरमै गएर खरिद गर्नेगरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
नगर प्रमुख अर्जुन मावुहाङका अनुसार कृषि एम्बुलेन्सले पालिकाभरिका किसानले उत्पादन गरेको तरकारी र फलफूल प्रत्येक किसानका घर–घरमा हप्तामा एकपटक पुगेर संकलन गरी बजारमा पुर्याउने छ। हप्तामा एक कृषकको ५ हजार मूल्य बराबरको तरकारी र फलफूल पालिकाको कृषि एम्बुलेन्सले खरिद गर्ने नगर प्रमुख मावुहाङले जानकारी दिए।
तत्काललाई नगरपालिकाले एउटा कृषि एम्बुलेन्स प्रयोगमा ल्याएको छ। यो कार्य सफल भए नगरपालिकाले आगामी आर्थिक वर्षको सुरुमै अर्को कृषि एम्बुलेन्स समेत खरिद गर्ने योजना बनाएको मावुहाङले जानकारी दिए। पालिकाले तरकारी तथा फलफूल बिक्रीवापतको रकम प्रत्येक घरका गृहिणीलाई भुक्तानी गर्ने भएको छ।
नगरपालिका क्षेत्रका किसानका घर–घरमा हिउँद र वर्षा दुवै याममा सवारी पुग्ने अवस्था रहेकोले घर–घरमै पुगेर किसानको उत्पादन खरिद गर्न समस्या नभएको नगर प्रमुख मावुहाङले जानकारी दिए। आफूले उत्पादन गरेको कृषिउपजको सडक पहुँच नभएको समस्या भएको भए आफूहरूलाई जानकारी दिन समेत नगर प्रमुख मावुहाङले किसानलाई आग्रह गरेका छन्।
कृषि एम्बुलेन्स तालिका मिलाएर हप्तामा एकपटक तरकारी र फलफूल उत्पादन गर्ने प्रत्येक कृषकका घरमा पुग्ने गरी प्रबन्ध गरिएको समेत उनले बताए। तर किसानसँग बिक्री योग्य सामग्री भने पर्याप्त मात्रामा हुनुपर्ने उनले बताए। विकासे मल लगाएको, कीटनाशक औषधि प्रयोग भएको तरकारी र फलफूल भने कृषि एम्बुलेन्सले खरिद नगर्ने भएको छ।
नगरपालिकाले यसअघि नै युरिया, डिएपी र कीटनाशक औषधिमा प्रतिबन्ध लगाइसकेकाले आफूहरूले विकासे मल र कीटनाशक औषधि प्रयोग भएका कृषिजन्य उत्पादन खरिद नगर्ने नगर प्रमुख मावुहाङले जानकारी दिए। नगरपालिकाले घरेलु तथा जैविक मल र विषादी प्रयोगमा जोड समेत दिएको छ।
प्रकाशित: २० वैशाख २०८२ १२:०९ शनिबार





