१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च

आर्थिक वर्ष २०८१ /८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ।

प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए। उनका अनुसार चालु आव २०८१/८२ को नौ महिनामा पुँजीगततर्फ रु १० अर्ब ४९ करोड सात लाख ११ हजार र चालुतर्फ रु १० अर्ब ४९ करोड सात लाख ५५ हजार गरी रु २० अर्ब ९८ करोड १४ लाख ६६ हजार बजेट प्रदेश सरकारले खर्च गरेको छ।

प्रदेश सरकारले आव २०८१/८२ का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएको थियो। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ। विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ४३ प्रतिशत, प्रदेशसभा सचिवालयले ४३ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।  

आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र केही महिनाअघिबाट मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी सञ्ज्यालले जानकारी दिए। रासस

प्रकाशित: ९ वैशाख २०८२ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App