आर्थिक वर्ष २०८१/८२ को ५ महिना बित्दा कटारी नगरपालिकाको पुँजीगत बजेट खर्च १३.३३ प्रतिशत मात्र भएको छ। गत वर्षको तुलनामा यो खर्च सुधार भए पनि अपेक्षाकृत छैन।
नगरसभाले चालु वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८४३ रुपैयाँको बजेट पारित गरेको थियो। यसमा पुँजीगततर्फ २१ करोड ६५ लाख २६ हजार ४२१ र चालुतर्फ ६५ करोड १६ लाख ३८ हजार ४२२ रुपैयाँ विनियोजन गरिएको थियो। मङ्सिर मसान्तसम्म पुँजीगततर्फ २ करोड ८८ लाख ६२ हजार ९७२ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले बताए। उनले विकास निर्माणका धेरै योजनाको काम भइरहे पनि भुक्तानी कम भएकोले खर्च कम देखिएको बताए।
चालुतर्फ भने १८ करोड ३६ लाख ६८ हजार ४५८ रुपैयाँ अर्थात् २८.२१ प्रतिशत खर्च भएको छ। नगरपालिकाले सङ्घीय सशर्त अनुदान ४० करोड ६६ लाख ५५ हजार, वित्तीय समानीकरण १२ करोड ६६ लाख ६० हजार, राजस्व बाँडफाँडबाट ४० लाख र प्रदेश सशर्त चालु ७४ लाख ३८ हजार प्राप्त गर्ने अनुमान गरेको छ। राजस्व सङ्कलनतर्फ १ करोड २१ लाख २२ हजार ८७७ रुपैयाँ सङ्कलन भएको छ, जुन साढे ४ करोडको लक्ष्यको तुलनामा सन्तोषजनक रहेको राजस्व शाखाका हिरालाल अधिकारी दनुवारले बताए।
नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले १४ वटै वडाका लागि ७० देखि ७१.५ लाखसम्मको बजेट विनियोजन गरिएको बताए। जसका लागि ९ करोड ९२ लाख रुपैयाँ छुट्याइएको छ। वडाहरूको जनसङ्ख्या, भौगोलिक अवस्था र राजस्व सङ्कलनका आधारमा बजेट बाँडफाँड गरिएको उनले बताए।
प्रकाशित: ६ वैशाख २०८२ १५:२८ शनिबार





