सप्तरीको सुरुङ्गा नगरपालिका–५ का दुर्गानन्द चौधरी आँप बगैंचामा मचान बनाएर (बाँसको अग्लो खटिया) सुत्न थालेको पन्ध्र दिन भयो। बगैंचाका रुखमा फूल ढपक्कै फुलेदेखि आँप टिप्ने बेलासम्म उनको रात मचानमा बित्नेछ।सुरुङ्गा
करिब दुई बिघामा आँप खेती गरेका चौधरीको चैत महिनादेखि बगैंचामै बास हुन्छ । फूल फुल्नुअघिदेखि प्रत्येक बोटमा पानी लगाउने र मल, औषधि हाल्ने काममा दिनहुँ खटिनुपर्ने उनी बताउँछन्। ‘फूल खेल्ने बेला किरा मार्ने औषधि हाल्नेदेखि फल टिकाइराख्न दिनरात हेरचाह गर्न बगैंचामै बास बस्नुपर्छ,’ उनले भने।
गर्मीमा सर्प र बाँदरको जोखिम हुन्छ। यी सबै जोखिम मोलेर चार महिना बगैंचामा सुतेर बल्ल लहान बजारमा आँप पुर्याउने उनले बताए। गत वर्ष डेढ लाख रुपैयाँ लगानी लगाएर फलाएको आँप बेच्दा करिब डेढ लाख नाफा भएको उनले सुनाए । ‘घरपरिवारका सबै सदस्यको मेहनतले फलेको आँप बेचेर करिब तीन लाख रुपैयाँ हात पर्यो,’ उनले भने, ‘यसमा डेढ लाख फाइदा भयो।’
चार बिघा जग्गामा आँप खेती गरेका सिरहा गोविन्दपुरका किसान लालबहादुर कोइरीको आँपको रुखमा पनि मजर ढकमक्क फुलेको छ । मजर देख्दा उत्पादन राम्रै हुने आशामा उनी खुसी छन् । आँपमा अत्यधिक मात्रामा फूल लागेपछि उनी खुसी भएका हुन ।
चौधरीको मात्र होइन मधेसमा आँपको बोट मजर (फूल) ले ढपक्कै छ । बोटमा मजर राम्रो भएपछि स्थानीय किसान खुशी छन् । उनीहरूका अनुसार मजर लागेदेखि नै उत्पादन राम्रो हुनेरनहुने थाहा हुन्छ । ‘आँप फुल्नु भनेको उत्पादन बढ्ने संकेत हो,’ सुरुङ्गाका आँप किसान चौधरी भन्छन्,‘ हावाहुरी र असिना नपरी मौसमले साथ दिए राम्रै आँप उत्पादन हुन्छ । उनले भने ‘यसबाट मुनाफा पनि राम्रै हुने आशामा छु ।’ हावाहुरी र असिनाबाट रोकथाम गर्न पानी र औषधि छर्कन सुरु गरेको चौधरीले सुनाए ।
खासगरि सप्तरी र सिरहामा उत्पादित आँप स्वादिलो हुने भएकाले नारायणघाट, काठमाडौं, पोखरा लगायत भारतको बिहार राज्यमा बढी माग हुने गर्छ ।
अढाई बिघामा आँप खेती गरेका मल्हनवाका किसान मिश्री यादव पनि यसपाली हौंसिएका छन् । आँपको बोटमा फूल राम्रो भएकाले उत्पदान पनि राम्रै हुने आशामा उनी छन् । उत्पादन राम्रो हुनेदेखेपछि फूल खेल्दै गरेको बगैचामा आँप किन्न व्यापारीहरू कृषकको घरदैलोंमा पुग्न थालेका छन् । ‘फूल फूलेकैं बेलादेखि बोट हेरेर व्यापारीहरू आँप ठेक्कामा लिन आउन थालेका छन् । आँप उत्पादन कमी हुँदा बजारभाउ महँगिने गर्छ । सिरहा र सप्तरीलाई आँप खेतीको भण्डार मानिन्छ । सिरहा र सप्तरीका कृषकहरूले आम्रपाली, मालदह, बम्बई, दसहरी, कलकतिया जातका आँपको खेती गर्दै आएका छन् । आँप उत्पादन बढ्नु र घट्नुमा हावाहुरी र असिनाको भूमिका पनि महत्वपूर्व हुन्छ ।
आँप उत्पादनमा मधेस अब्बल
नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो। मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ। मुलुकभर ४२ हजार १ सय ९६ हेक्टर हाराहारीमा आँप खेती हुँदै आएको छ।
मुलुकभरि वार्षिक ४ लाख ५३ हजार ४ सय १६ टन हाराहारीमा आँप उत्पादन हुन्छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेस प्रदेशमा मात्र ३ लाख ४१ हजार ४ सय ४५ टन आँप फल्छ। मधेस प्रदेशमा वर्षैपिच्छे आँपको क्षेत्रफल बढ्दै गएको मन्त्रालयको तथ्यांक छ । ०७८/०७९ मा २७ हजार ६ सय ५३ हेक्टर क्षेत्रमा आँप खेती भएको थियो । जसमा ३ लाख ८६ हजार ६ सय ५९ मेट्रिक टन आँप उत्पादन भएको थियो । ०७९/०८० मा २९ हजार ९९ हेक्टरमा आँप खेती भएको थियो । जसमा ३ लाख ९५ हजार ७ सय ९४ मेट्रिक टन आँप उत्पादन भएको थियो । ०८०/०८१ मा ३३ हजार १ सय ७१ हेक्टरमा आँप खेती भएको थियो । जसमा ३ लाख ४६ हजार ६ सय ८१ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
मधेसका आठवटै जिल्लामा आँपको व्यावसायिक खेती भए पनि सबैभन्दा बढी उत्पादन सप्तरी र सिरहामा हुन्छ। गत वर्ष सप्तरीमा ७ हजार ५ सय हेक्टरमा आँप लगाइएको थियो । ८६ हजार २ सय ५० टन आँप फलेको थियो । सिरहामा ९ हजार ५ हेक्टर क्षेत्रमा आँप लगाइएको थियो जसमा १ लाख ३ हजार ५ सय ५८ टन उत्पादन भएको थियो ।
त्यस्तै मधेस प्रदेशकै धनुषामा ३ हजार २ सय हेक्टर क्षेत्रमा आँप लगाइएकोमा ३६ हजार टन उत्पादन भएको थियो । महोत्तरीमा ४ हजार हेक्टरमा आँप लगाइएकोमा ४५ हजार टन उत्पादन भएको थियो । सर्लाहीमा २ हजार ५ सय हेक्टरमा आँप लगाइएकोमा ४५ हजार टन उत्पादन भएको थियो । सर्लाहीमा २८ हजार ७ सय ५० टन आँप फलेको थियो । रौतहटमा १ हजार ३ सय २५ हेक्टरमा आँप लगाइएकोमा १५ हजार २ सय ३७ टन उत्पादन भएको थियो । यसैगरी बारामा १ हजार ५ सय हेक्टरमा आँप लगाइएकोमा १६ हजार ८ सय ७५ टन फलेको थियो ।
पर्सामा ८ सय ५० हेक्टरमा आँप लगाइएकोमा ९ हजार ७ सय ७५ टन उत्पादन भएको मधेस प्रदेशको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधेसमा बम्बई, दसहरी, मालदह, जर्दा, आम्रपाली, कलकत्तिया, मिश्रीकनलगायत जातका आँप उत्पादन हुन्छ। हावापानीका दृष्टिले मधेस आँप उत्पादनका लागि अनुकूल क्षेत्र हो। तर आँपका उपभोक्ता बढिरहँदा स्वदेशी उत्पादन भने त्यही हिसाबमा बढ्न सकिरहेको छैन।
शीतभण्डार नहुँदाको पिरलो
२०७५ भाद्र २ गते तत्कालिन प्रदेश २ (हाल मधेस प्रदेश) सभालाई विशेष सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको मुख्य फल आँपलाई युरोप लगायतका विकसित मुलुकमा निर्यात गर्नुपर्ने बतएका थिए । तर, यसका लागि आँपको भण्डारण गर्न आवश्यक पर्ने शीतभण्डार मधेस प्रदेशमा छैन । न शीतभण्डार छ न आँप किसानलाई प्रोत्साहन गर्ने सरकारी सहयोग नै उपलब्ध हुन सकेको छ ।
सबैभन्दा बढी आँप उत्पादन हुने सिरहा र सप्तरीमा शीतभण्डार छैन। ‘शीतभण्डार भए किसानले आँप भण्डारण गरी मूल्य आएका बेला बेच्न पाउँथे,’ आँप किसान राम चौधरीले भने, ‘सबैभन्दा बढी आँप उत्पादन हुने क्षेत्रमा शीतभण्डार नहुनु विडम्बना हो।’ शीतभण्डार बनाउन मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २०७५ कात्तिक २० मा प्रस्ताव आह्वान गरेको थियो। प्राप्त प्रस्तावमध्ये मन्त्रालयले आठ संस्थालाई छनोट गरेको थियो।
शीतभण्डार निर्माणका लागि सप्तरीको जिल्ला सहकारी संघ, शुभनारायण कृषि व्यावसायिक फार्म, जनहित कृषक समूह, लक्ष्मीनिया धनुषा, लवकुश बचत तथा ऋण सहकारी संस्था, बरहथवा सर्लाही, राप्ती हर्बल प्रोसेसिङ प्रालि रौतहट, अमन मत्सय फार्म सिम्रौनगढ बारा, शिवम एग्रो इन्डस्ट्री सुगौली पर्सा र ग्लोबल लेदर ट्रेनिङ इन्डस्ट्री वीरगन्ज छनोटमा परेका थिए।
प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लामा एकएकवटा शीतभण्डार बनाउने योजनाअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा शीतभण्डार निर्माणका लागि १६ करोड र अर्को आवमा ४० करोड र त्यसपछि २० करोड रुपैयाँ विनियोजन गरेको थियो।
तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भन्छन्, ‘मधेसको मेरुदण्ड कृषि उत्पादनलाई संरक्षण, प्रवर्द्धन र बजार व्यवस्थापनका लागि आठवटै जिल्लामा शीत भण्डार निर्माणको योजना ल्याएका थियौ। तर योजना कार्यान्वयन प्रक्रियामा गएसँगै उजुरी र निवेदन हाल्ने क्रम सुरु भयो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो। त्यसपछि यो योजना ओझेलमा पर्न गयो।’ पछि आफू अर्थ मन्त्री भएका बेला पनि बजेट विनियोजन गरेको स्मरण गर्दै उनले भने, ‘किसानका लागि बरदान साबित हुने योजना केही व्यक्तिका कारण अलपत्र पर्यो। अब कानुनी बन्दोबस्त मिलाएर यो योजना पूरा गरिनुपर्छ।’
मधेस प्रदेश कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रीस्तरीय निर्णयका आधारमा तय गरिएको शीतभण्डार योजना प्रदेशभरि नै अलपत्र परेको छ।
प्रकाशित: २५ चैत्र २०८१ ०९:३५ सोमबार