१६ चैत्र २०८१ शनिबार
image/svg+xml १७:२६ अपराह्न
अन्तर्राष्ट्रिय

विश्वका लगानीकर्ताका लागि चीन खुला, अर्थतन्त्रमा नयाँ अवसर

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सबै देशका कम्पनीलाई चीनमा लगानी गर्न र अवसरको फाइदा उठाउन आग्रह गरेका छन्। ‘चीन विकास मञ्च २०२५’ बारे थप जानकारी मागिएको बेला उनले यो कुरा भनेका हुन्।

‘विश्व अर्थतन्त्रको स्थिर विकासका लागि वृद्धिको गति खोल्ने’ नारा बोकेको यो मञ्च मार्च २३ देखि २४ सम्म बेइजिङमा चलेको थियो। चिनियाँ प्रधानमन्त्री ली छ्याङले आइतबार यो मञ्चको उद्‌घाटन समारोहमा मुख्य सम्बोधन गरेका थिए। 

गुओले आफ्नो सम्बोधनमा चीनको आर्थिक विशेषतामार्फत विकासको शक्ति बुझ्न र अन्तर्राष्ट्रिय गतिशीलताबीच सही बाटो पहिल्याउन सबै पक्षलाई आह्वान गरे। ‘यसले दिगो आर्थिक विकासका लागि चीनको विश्वास र प्रतिबद्धता झल्काउँछ,’ उनले भने।  

उनका अनुसार यो फोरममा ७५० भन्दा बढी विदेशी प्रतिनिधि सहभागी थिए। पहिलो पटक भाग लिने बहुराष्ट्रिय कम्पनीको संख्या बढेको छ भने उद्योगको क्षेत्र पनि फराकिलो भएको छ।  

‘यो विदेशी लगानीकर्ताले चीनप्रति आशावादी रहेको र यहाँको आर्थिक सम्भावनामा विश्वास गरेको संकेत हो,’ गुओले थपे, ‘चीनमा लगानीको उत्साह कायम छ।’

उनले चीनले उच्च गुणस्तरको विकास र खुलापनलाई प्राथमिकता दिने उल्लेख गरेका छन्। ‘चीनमा लगानी गर्न र भविष्यको योजना बनाउन सबै देशका कम्पनीलाई स्वागत छ। हाम्रो लक्ष्य विश्वव्यापी आर्थिक वृद्धिलाई स्थिर बनाउनु हो,’ उनले भने। सिन्ह्वा

प्रकाशित: १३ चैत्र २०८१ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App