नेपालको गरिबी न्युनिकरणमा रेमिट्यान्सको ठूलो भूमिका उल्लेखनिय रहेको विश्व बैंकले निष्कर्ष निकालेको छ ।
सोमबार विश्व बैंकले नेपाल राष्ट्रगत आर्थिक परिदृश्यः नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर प्रतिवेदन सार्वजनिक गर्दै नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्युनिकरणमा उल्लेखनीय सफलता हासिल गरेको र यसमा मुलतः विप्रेषण (रेमिट्यान्स) को ठूलो भुमिका रहेको बताएको हो । विश्व बैंककाअनुसार भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक रुपमा रोजगारीका अवसरहरूलाई खुल्ला गर्नका लागि नीतिगत कदमहरू चाल्नुपर्छ ।
विश्व बैंककाअनुसार नेपालको आर्थिक वृद्धि अन्य देशको तुलनामा निकै पछाडि छ ।
प्रतिवेदनमा भनिएको छ– ‘सन् १९९६ देखि सन् २०२३ को अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४।२ प्रतिशतले मात्र वृद्धि भयो, जुन दक्षिण एसियाका आठ राष्ट्रहरूमध्ये छैटौँ स्थानमा पर्दछ । निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्युन उत्पादकत्व जस्ता संरचनागत चुनौतीहरूले नेपालको अर्थतन्त्रलाई पछाडि धकेल्नुका साथै गैर–कृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको छ ।’
नेपालमा आन्तरिक रोजगारी अवसर सिमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको विश्व बैंकको ठहर छ ।
प्रतिवेदन सार्वजनिक गर्दै मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका विभागीय राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले गरिबी न्युनिकरणमा नेपालको सफलता उल्लेखनीय रहेको बताए। उनकाअनुसार मुलुकमा प्रचुर सम्भावना हुँदाहुँदै त्यसको उपयोगमा नेपाल चुकिरहेको छ ।
उनले भने, ‘आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन । नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युतको कुशलतापूर्ण उपयोग गर्ने, र डिजिटलीकरणलाई प्रवद्र्धन गर्नेजस्ता सुधारमार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा। शिवराज अधिकारीले नेपाल सरकारको १६ औं योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोण प्रस्तुत गरेको छ र यसले उत्पादकत्व र प्रतिष्पर्धी क्षमता विकास, मर्यादित तथा फलदायी रोजगारी, सामाजिक सुरक्षा, तथा अल्पविकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने प्राथमिकता राखेको बताए। उनका अनुसार नेपाल नेपाल सरकार दिगो आर्थिक वृद्धिका लागि अनुकुल नीतिगत वातावरण सुनिश्चित गर्न प्रतिवद्ध समेत छ ।
प्रकाशित: ११ चैत्र २०८१ १८:०१ सोमबार





