१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml ७:५७ पूर्वाह्न
अर्थ

विद्युत् उपलब्ध गराउन भारतलाई आग्रह

औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन सरकारले भारतबाट थप विद्युत् ल्याउन पहल थालेको छ। साँझको समयमा दुई सय ३० मेगावाट बिजुली उपलब्ध गराउन सरकारले भारतलाई औपचारिक आग्रह गरेको हो। विद्युत् उपलब्ध गराउन भारतीय दूतावासमार्फत कूटनीतिक पहल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

सुक्खा याममा नेपालमा जलविद्युत् उत्पादन घट्ने भएकाले साँझको समयमा पनि बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ दीपक खड्काले बताए। ‘साँझको समयमा पनि दुई सय ३० मेगावाट विद्युत् आपूर्ति गर्न परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरेका छौं,’ मन्त्री खड्काले भने, ‘सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि विद्युत् दिन आग्रह गरिएको हो।’

पिकआवर लगायत अन्य समयमा समेत बिजुली आपूर्ति गर्न आग्रह गरिएको उनले बताए।

भारतले गत आइतबारदेखि रातको समयमा विद्युत् आपूर्ति रोकेपछि नेपालका औद्योगिक करिडोरमा १२ घण्टा लोडसेडिङ सुरु भएको छ। नेपालका अधिकांश जलविद्युत् परियोजना ‘रन अफ द रिभर’ भएकाले सुक्खा याममा उत्पादन घटेर एक हजार मेगावाटमा सीमित हुन्छ। भारतबाट बिहान र दिउँसोमा करिब सात सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहेको छ।

दिउँसोको समयमा विद्युत् आयात भए पनि रातको समयमा भारतबाट विद्युत् आउन रोकिएपछि समस्या भएको हो। भारतबाट दैनिक २० घण्टा बिजुली आयात गरेर आपूर्ति गरिँदै आएकोमा आइतबारदेखि भारतबाट बिहान ६ देखि साँझ ६ बजेसम्म १२ घण्टा मात्र विद्युत् आपूर्ति हुँदै आएको छ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रक्रिया पनि अघि बढाइरहेको छ। बिहानदेखि बेलुकालाई ‘सोलार आवर’ मानिन्छ। नेपाल र भारतबिच फेब्रुअरीमा प्रोजेक्ट स्टेयरिङ कमिटी (पिइसी) को बैठकमा मार्च १५ तारिखदेखि जुन ३० तारिखसम्म सोलार आवरमा मात्रै बिजुली दिने सहमति भएको थियो।

विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेपछि निजी क्षेत्रले लोङसेडिङ हटाउन आग्रह गरेको छ। निजी क्षेत्रका दुई संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुगेको भन्दै लोडसेडिङ हटाउन माग गरेका हुन्। औद्योगिक करिडोरमा साँझ ६ देखि बिहान ६ बजेसम्म लोडसेडिङ भएपछि उद्योगले उत्पादन कटौती गरेका छन्।

दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गर्न महासंघले आग्रह गरेको छ।

उद्योग वाणिज्य महासंघ मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। ‘पछिल्लो समयमा देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पु¥याइरहेको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लोडसेडिङका कारण उद्योगहरू ठुलो समस्यामा परेको महासंघले जनाएको छ। ‘नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्‍याइरहेको छ,’ महासंघले भनेको छ, ‘विद्युत् नहुँदा उत्पादनमा भारी गिरावट आएको छ।’

बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्‍याई मर्मत, सम्भार र प्रतिस्थापनमा उद्योगहरूले ठुलो आर्थिक भार बेहोरिरहेको महासंघले जनाएको छ। लोडसेडिङले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने जनाएको छ। महासंघ सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।

अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति नेपाल उद्योग परिसंघले पनि चिन्ता व्यक्त गर्दै लोडसेडिङ हटाउन आग्रह गरेको छ। उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिसंघले जनाएको छ। उद्योगहरूमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरूलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको परिसंघको आरोप छ।  

प्रकाशित: ८ चैत्र २०८१ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App