खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। सोमबार विभागको कार्यालयमा महानगरपालिका र विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
महानगरपालिकाको तर्फबाट महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधी न्यौपाने र विभागका तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे। कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभइसकेको भन्दै खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै भएको जिकिर गरे। उनले काठमाडौँ महानगरपाकिलासँग आज सुरुवात मात्रै गरिएको र आगामी दिनमा ७५३ वटै पालिकामा पुर्याउने लक्ष्य रहेको बताए।
उनले ७ सय ५३ वटै पालिकासँग यो सहकार्य र सहमति गरेर अघि बढ्ने गरी अघि बढ्ने विश्वास व्यक्त गरे।
खाद्य वस्तुहरूको गुणस्तरहरुको बारेमा विभागको अनुभव लामा भएपनि पर्याप्त श्रोत साधनका कमीका कारणले आवश्यक काम गर्न नसकेको उल्लेख गरे। उनले खाद्य प्रविधि लगायतका दक्ष प्राविधिकहरू राखेर अनुगमन र नियमन कार्यमा सहयोग गरेको खण्डमा सबै नेपालीहरुको स्वास्थ्यको सुरक्षा हुने दाबी गरे।
महानगरपालिकामा खाद्य स्वच्छता र गुणस्तरको रूपमा छुट्टै निकाय राखेर अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए। खाद्य वस्तुहरूको परीक्षण, नियमन, प्रयोगशालाको व्यवस्थापन गर्नसके झनै राम्रो हुने जिकिर गरे।
प्रकाशित: ४ चैत्र २०८१ १३:५९ सोमबार





