कृत्रिम बुद्धिमता (एआई)ले विज्ञापन उद्योगलाई सोचमग्न बनाइदिएको छ। डिजिटल विज्ञापनमा एआईले देखाएको नयाँ सम्भावनाका कारण यो परिवर्तन देखापरेको हो। कुन ठाउँ, वर्ग र लिङ्गका मानिसमा कुन विज्ञापन देखाउँदा ठीक हुन्छ भन्ने यकिन गर्न अब कुनै सर्भे आवश्यक पर्दैन। एआईले सारा काम गरिदिने र स्वचालित रूपमा आफैं विज्ञापन गरिदिन्छ। तपाईंले पैसा तिरे मात्र पुग्छ।
हुन त यो टुल अहिले अमेरिकामा परीक्षण भइरहेको छ तर अबका केही वर्षमा यो परीक्षण नेपालमा पनि प्रयोगमा आउनेछ।
अबको परिदृश्य यस्तो हुनेछः तपाईंलाई आफ्नो उत्पादनको विज्ञापन गर्नुपर्ने छ। त्यसका लागि तपाईंले आफ्नो बजेट यति छ भनेर छुट्याउनु हुन्छ। छुट्याएको खातामा तपाईंले रकम राखिदिनु हुनेछ। रकमसँगै तपाईंले अल्गोरिदमलाई विज्ञापन कहाँ देखाउने, कसलाई लक्षित गर्ने र विज्ञापनको स्वरूप कस्तो हुने भनी बताइदिनु हुन्छ। त्यसअनुसार एआईले आफ्नो काम गर्ने छ। जुन काम गर्न यसअघि कुनै एक जना व्यक्तिलाई महिनौं लाग्थ्यो भने अब केही मिनेटमै फत्ते हुनेछ।
जसका लागि विज्ञापन गरिएको हो र जसले विज्ञापन गरिरहेको हो, उनीहरू दुवै पक्षले एआईले कसरी निर्णय गरिरहेको छ भन्ने स्पष्ट जानकारी भने पाउने छैनन्। उनीहरूले एउटा बटन थिचेर विज्ञापन अभियानलाई पूर्ण रूपमा स्वचालित बनाउन सक्छन्।
अहिले यस कार्यमा गुगल, फेसबुक, ह्वाट्स एप, इन्स्टाग्रामजस्ता प्लेटफर्मले स्वचालित विज्ञापनमाथि काम गरिरहेका छन्। यस्तो अभियानलाई साकार पार्न टिकटक, अमेजन डटकम र पिन्टरेस्टले पनि काम गरिरहेका छन्।
विज्ञापन प्रविधि परामर्शदाता कास्र्टेन वाइडेले वाल स्ट्रिट जर्नललाई बताए अनुसार यी उपकरणले विशेष गरी साना र मझौला व्यवसायलाई प्रभावकारी रूपमा विज्ञापन सञ्चालन गर्न मदत गर्नेछन्। साना र मझौला व्यवसायीले क्लिष्ट किसिमको विज्ञापन गर्न महँगो शुल्क दिएर अनुसन्धान गराउन सक्तैनन्। तिनका लागि एआईको टुलले सञ्चालन गर्ने स्वचालित विज्ञापन विधिले ठूलो फाइदा पुर्याउने वाइडेको भनाइ छ।
एआई विशेषज्ञहरूले भने विज्ञापनदाताको नियन्त्रणमा नरहने यस्तो विधि चिन्ताजनक रहेको प्रतिक्रिया दिएका छन्। जसले विज्ञापन गरेको हो, उसको नियन्त्रणमा नै नरहने एआई प्रवद्र्धित विज्ञापन अँधेरोमा गुलेली हानेजस्तो हुने हो कि भन्ने चिन्ता पनि विशेषज्ञहरू जाहेर गरिरहेका छन्।
बालबालिकाका लागि पहिरन तथा अन्य सामग्री उत्पादक संस्था लालोकी वरिष्ठ उपाध्यक्ष निकोल फिस भन्छिन्, ‘यो लगभग आवश्यक दुष्टजस्तो हो। नहुँदा पनि दुःख पाइने र हुँदा पनि गाह्रो हुने ! सबैभन्दा उदेक चाहिँ यस्ता एआई प्रवद्र्धित विज्ञापनले बिक्री पनि बढाएको देखिन्छ तर हामीले भविष्यमा कुन मूल्य चुकाउनुपर्ने हो भन्ने चाहिँ अहिले प्रस्ट छैन।’
गुगलले पछिल्लो समय आफूले चलाएको स्वचालित विज्ञापनको अवस्थाहरूबारेमा अनुसन्धान गरिरहेको छ। यस अनुसन्धानले एआईले गरेको विज्ञापनको प्रभाव अन्य विधिको विज्ञापनभन्दा निकै प्रभावकारी र उच्च प्रतिफलदायक देखिएको बताएको छ तर लालो कम्पनीले भने यो प्रतिफल वास्तविक रूपमै हो कि होइन भन्ने जान्न सकिरहेको छैन।
लालोले स्वचालित रूपमा एआई प्रवद्र्धित विज्ञापनमा भर परेदेखि उसले आफ्नो विज्ञापन कुन वेबसाइट वा एपमा देखाउने भनेर नियन्त्रण गर्न सकिरहेको छैन । यसलाई केहीले एआई ब्ल्याक बक्स भनिरहेका छन्। विमान दुर्घटना हुँदा त्यसको कारण थाहा पाउन ब्ल्याक बक्सको अनुसन्धान गर्नुपर्ने हुन्छ।
त्यसअघि भने सन् २०३० सम्म डिजिटल र एआई विज्ञापनको बजार बढेर ८० प्रतिशत भाग कब्जा गर्नेछन्। विज्ञापन कम्पनी ओएमडीका प्रमुख मिडिया अधिकृत बेन होभानेस भन्छन्, ‘धेरै वर्षदेखि विज्ञापनदाताले बजेट नियन्त्रण र पारदर्शिता खोजिरहेका थिए। एआई विज्ञापनको स्वचालित पद्धति सुरु भयो भने त्यो पारदर्शिता अझ बढी हराउने देखिँदैछ।’
गुगलले विज्ञापनको बजार वृद्धि गर्ने अभियान पर्फमेन्स म्याक्सले आफ्ना सबै प्लेटफर्महरू गुगल सर्च, युट्युब, जिमेल मात्र नभएर अन्य वेबसाइटमा पनि विज्ञापन देखाउँछ तर मेटाको ‘एड्भान्टेज प्लस’ले भने फेसबुक र इन्स्टाग्राममा मात्र आफूलाई सीमित गरिरहेको छ।
त्यसैले धेरै विज्ञापनदाताले अहिले गुगल र मेटाका एआई उपकरणलाई ब्ल्याक बक्स नामकरण गरेका छन्। यसको मूल कारण चाहिँ विज्ञापन दातालाई विज्ञापन कुन उपभोक्तालाई देखाइँदैछ भन्ने थाहा हुँदैन। कुन वेबसाइट वा एपमा देखाउनुपर्छ भनेर नियन्त्रण गर्न दिइँदैन। कतिपय अवस्थामा अन्तिम विज्ञापनको स्वरूप आफूले बनाए वा भने वा चाहेजस्तो पनि हुँदैन।
सबै कुरा एआईमा भर पर्दा सबै कुरा एआईको अल्गोरिदममा विश्वास गर्नुपर्छ र सबै कुराको नियन्त्रण गुमाइन्छ भन्ने डर रहेको आर्म क्यान्डी नामक विमान सञ्चालक कम्पनीका विज्ञापन निर्देशक ज्याक थम्सन बताउँछन्।
आर्म क्यान्डीले सुरुमा आफ्ना केही ग्राहकको इकमर्स विज्ञापन बजेटको ४५ प्रतिशत भाग एआई उपकरणका लागि खर्च गरेको थियो। पछि यी उपकरणको क्लिक दर लागत घटाए पनि वास्तविक बिक्री भने बढाउन सकेन। त्यसपछि अहिले कम्पनीले आफ्नो एआई उपकरणलाई सीमित अवस्थामा मात्र प्रयोग गर्न सिफारिस गरिरहेको थम्सन बताउँछन्।
पछिल्ला केही प्रयोग हेर्दा एआई आफैंले जान्ने भएर कतिपय अनावश्यक ठाउँमा विज्ञापन देखाउने गरेको इभेन्ट्स टिकट सेन्टरका प्रमुख मार्केटिङ अधिकृत बेन क्रुगरको अनुभव छ। यस्तो अवस्थामा कतिपय कम्पनीहरूले यस्तो एआई विज्ञापन प्रणालीलाई अस्वीकार गर्न थालेका छन्।
एआई स्वचालित विज्ञापन प्रणालीप्रति आश्वस्त नहुनुको एउटा कारण भने मदिराजस्ता संवेदनशील उत्पादनहरूको विज्ञापन गर्दा ती कहाँ कहाँ देखाइँदैछन् भन्ने पत्ता लागेन र कहिलेकाहीँ गलत प्लेटफर्ममा पनि देखिन सक्छ भन्ने शंका प्रयोगकर्ता बेन होभानेसको छ।
यस्ता अनेक आशंका र आलोचनाका बाबजुद पनि धेरै विज्ञापनदाताले एआई उपकरणहरू अपनाउन थालेका छन्। एआई टुलले परम्परागत विज्ञापन प्रणालीभन्दा बढी ट्राफिक दिने हुनाले भविष्यमा यसलाई अँगोल्नेको संख्या बढ्ने विज्ञहरूको भनाइ छ।
इभेन्टको टिकट बेच्दा बेच्नेहरूका लागि कहाँ–कहाँ र को–कसलाई विज्ञापन देखाइँदैछ भनेर जान्नु र पारदर्शिता खोज्नुभन्दा पनि बढी बिक्री भयो कि भएन भन्ने कुराले बढी भूमिका खेल्ने हुनाले जहाँसुकै देखाइए पनि उनीहरूलाई मतलब हुँदैन। बेन क्रुगर भन्छन्, ‘जबसम्म हामीलाई यसले नाफामूलक बिक्री दिन्छ, विज्ञापन कहाँ देखाइँदैछ भन्नेमा वास्ता गर्दिनँ।’
अहिले इभेन्ट्स टिकट कम्पनीले विज्ञापन बजेटको १० प्रतिशत पर्फर्मेन्स म्याक्समा खर्च गरिरहेको छ र यो क्रमशः बढ्दो क्रममा छ। इभेट्स टिकट्स मात्र होइन कि अन्य साना कम्पनी पनि क्रमशः यसतर्फ आकर्षित हुने दिन आउँदैछ।
यस्ता एआई प्रवर्धित विज्ञापनले ब्रान्ड विस्तार गर्न निकै ठूलो समय बचत गर्ने भएकाले साना तथा मध्यम उद्यमीहरू यसतर्फ आकर्षित हुने डिजिटल मार्केटिङ निर्देशक केभिन माइकल बताउँछन्। उनी भन्छन्, ‘पहिले हामी अभियान कहाँ, के कसरीजस्ता कुरामा ‘लिड’ पहिचान गर्न र अभियान सेट गर्न धेरै समय खर्चन्थ्यौं तर अहिले त्यो समय सिर्जनात्मक रणनीति र अन्य मार्केटिङ च्यानल परीक्षण गर्न खर्च गर्न सक्ने भएका छौं।’
स्याक्सजस्तो सानो कम्पनीले आफ्नो विज्ञापन बजेटको २० देखि ३० प्रतिशत एड्भान्टेज प्लस (मेटाको कम्पनी) मा खर्च गर्ने गर्छ। कहिलेकाहीँ त आवश्यकता हेरी बजेट ५० देखि ६० प्रतिशतसम्म पुग्ने गरेको स्याक्सले जनाएको छ। यसको लोकप्रियता महसुस गर्दै गुगल र मेटाले आफ्ना एआई उपकरणहरूमा व्यापक सुधार गरिरहेका छन्। मार्च २०२४ देखि पर्फमेन्स म्याक्समा विज्ञापनदाताहरूले २० हजार वटा वेबसाइट र एपहरूमा आफ्ना विज्ञापन देखिनबाट रोक्न सक्ने गरी एआईलाई उन्नत बनाइसकेका छन्।
विज्ञापनदाताहरू कहाँकहाँ विज्ञापन देखाउने भन्ने नियन्त्रण गर्न चाहन्छन्। कहाँ देखाउनु हुँदैन भनेर जान्न मात्र चाहँदैनन्। किनभने २० हजार साइटहरूमाथि प्रतिबन्ध लगाए पनि डिजिटल विज्ञापन देखिन सक्ने अर्बौं ठाउँहरूमध्ये यो निकै सानो अंश मात्र हो।
मेटाका प्रमुख वित्तीय अधिकृत सुसान ली भन्छन्, ‘एड्भान्टेज प्लस’को प्रयोग अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढेको छ र यसले वार्षिक २० अर्ब डलर कमाउने सम्भावना देखाएको छ।
गुगलले पनि एआईको स्वचालित विज्ञापन विकासलाई अझ उन्नत बनाउँदैछ। यसका व्यवसाय प्रमुख फिलिप सिन्डलर भन्छन्, ‘विज्ञापनदाताहरू सफल भए मात्र हामी पनि सफल हुन्छौं। त्यसैले हामी सबैको स्वार्थ एउटै छ।’
एआई उपकरणहरूले डिजिटल विज्ञापनको भविष्यलाई पुनः परिभाषित गर्दैछन्। विज्ञापनदाताहरूलाई प्रविधि कम्पनीहरूमाथि अझ बढी पारदर्शिता र नियन्त्रणका लागि दबाब दिन सकिएको खण्डमा र उनीहरूले यसतर्फ परिणाम देखाएको खण्डमा साना तथा मझौला कम्पनीहरूका लागि यो ठूलो बरदान हुने विश्लेषकहरू बताउँछन्। (एजेन्सी)
प्रकाशित: २९ फाल्गुन २०८१ १०:१७ बिहीबार