२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

फेरी बन्द हुने अवस्थामा टीकापुर विमानस्थल

निकै तामझामका साथ पुर्न सञ्चालनमा आएको टीकापुर विमानस्थल पुनः बन्द हुने अवस्थामा पुगेको छ । सातामा तीन वटा उडान भर्दै आएको तारा एअरले अब एक दिन मात्रै उडान भर्ने जनाएको छ ।

तारा एअरले टीकापुर नगरपालिकालाई २०८१ फागुन १९ गते एक पत्र पठाई यही फागुन २६ गतेदेखि साताको सोमवार मात्रै उडान भर्न सकिने जानकारी दिएको छ । पत्रमा दुई पक्षबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको सर्त नं. १ अनुसार मार्च महिनादेखि जहाज नेपालगन्ज बेस नहुने भएकाले उडान संख्या घटाउनु परेको उल्लेख छ ।

तारा एअरले नेपालगन्ज–टीकापुर–नेपालगन्ज मात्रै उडान सञ्चालन गरिने ब्यहोरा सबैमा जानकारीका नगरपालिकालाई अनुरोध गरेको छ ।

२०८१ कात्तिक १२ गते नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भरेपछि तारा एअरले २०८१ मंसिर ३० गतेबाट नियमित व्यवशायिक उडान थालेको हो । परीक्षण उडानकै दिन समेत तारा एअरको जहाजले उडान भरेको थियो ।

टीकापुर नगरपालिकाले १५ सिट बराबरको ग्यारेन्टी गरेपछि तारा एअरले व्यवशायिक उडान सुरु गरेको थियो । नगरपालिकाले खाली रहेका प्रति सिट साढे आठ हजार रुपैयाँका दरले तारा एअरलाई रकम बुझाउने सम्झौता गरेको बताइएको छ ।

तारा एअरले टीकापुरबाट यात्रु बोकेर नेपालगन्ज झार्थ्यो । नगरपालिका र तारा एअरबीच भएको सम्झौता अनुसार टीकापुरबाट तारा एअरले बोकेर लगेका यात्रुलाई यति एअरले काठमाण्डौं लैजाने गर्थ्यो ।

तारा एअरले यही विमानस्थलमा २०७१ सालमा परीक्षण उडान भरेको थियो । उसले व्यवशायिक उडान भर्ने उद्देश्यले त्यति बेला परीक्षण उडान भरेको भएपनि निरन्तरता दिन सकेको थिएन ।

२०४२ सालमा स्थापना भएको विमानस्थल २०५४ देखी बन्द अवस्थामा रहेको छ । विमानस्थलको धावनमार्ग ५७३ मिटर मात्रै छ । 

नगर प्रमुख रामलाल डगौरा थारुले विमानस्थल पुर्नसञ्चालनलाई एकल एजेण्डा बनाएका थिए । उनले विमानस्थल पुर्नसञ्चालनका नाममा नगरपालिकाको लाखौँ रुपैयाँ खर्च समेत गरेका छन् ।

परीक्षण उडानको दिनमा विमानस्थल भित्रै बाजागाजा सहित ठूलो कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा विभिन्न गाउँबाट आएका सांस्कृतिक टोलीले झाँकी प्रस्तुत गर्नुका साथै राजनीतिक दलका नेताहरुले भाषण गरेका थिए । 

प्रकाशित: २१ फाल्गुन २०८१ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App