क्रिप्टो मुद्रा विनिमय गर्ने कम्पनी बाइबिटबाट १.५ अर्ब डलरको डिजिटल चोरी भएको खुलासा भएपछि सो कम्पनीले संसारभरकै ‘तेज दिमाग’ भएका साइबर सुरक्षाकर्मीहरूलाई त्यसको खोजी गर्न आह्वान गरेको छ।
गएको फेब्रुअरी २१, २०२५ मा बाइबिटको एउटा इथरियम कोल्ड वालेट’मा ह्याकिङ भएको थियो। सो वालेटबाट चार लाख इथररियम चोरी भएको थियो। चार लाख इथरियमको मूल्य डेढ अर्ब डलर रहेको कम्पनीले हालै जनाएको छ।
केही प्रारम्भिक अनुसन्धानले उक्त चोरी उत्तर कोरियाली समूह ‘लाजरस”ले गरेको देखाएको छ। कम्पनीले उक्त क्रिप्टो मुद्रा फिर्ता ल्याउन संसारभरका सर्वोत्कृष्ट ह्याकरहरूलाई आग्रह गरेको हो। बाइबिट दुबई मुख्य कार्यालय रहेको क्रिप्टो कम्पनी हो। यो कम्पनीले विभिन्न किसिमको क्रिप्टो मुद्रालाई खुद्रा गरी डलर वा अन्य मुद्रा साटफेर गरिदिन्छ।
ह्याकरहरूले सो मुद्रा चोरी गरेपछि अज्ञात ठाउँमा लगेको बिबिसीले बताएको छ। बाइबिटले भने आफ्ना ग्राहकलाई उनीहरूको क्रिप्टो मुद्रा सम्पत्ति सुरक्षित रहेको बताएको छ। कम्पनीका प्रमुख कार्यकारीले सामाजिक सञ्जालमा ह्याक गरिएका मुद्रा फिर्ता नभए पनि आफ्नो रकम फिर्ता लिन चाहने सबैलाई फिर्ता दिने बताएका छन्।
बाइबिटका सहसंस्थापक तथा कम्पनीका कार्यकारी प्रमुख बेन झाउले एक्समा लेखेका छन्, ‘बाइबिट आर्थिक रूपमा सक्षम भएकाले ह्याक भएको रकम फिर्ता नपाइने अवस्थामा पनि ग्राहकले आफ्नो सम्पत्ति पूर्ण रूपमा फिर्ता पाउने छन्।’
झाउले भनेका छन्, ‘कम्पनीमा ग्राहकको सम्पत्ति २० अर्ब डलर छ। यति रकम ग्राहकले आफ्नो रकम फिर्ता पाउन पर्याप्त हुन्छ। नभएको अवस्थामा पनि कम्पनीले अन्य कम्पनीमार्फत ऋण लिएर भए पनि तिर्ने छ र त्यसका लागि कम्पनी सक्षम छ।’
विश्वभरिमा बाइबिटका ६ करोडभन्दा बढी प्रयोगकर्ता छन्। व्यापारिक घनत्वका दृष्टिले यो संसारको दोस्रो ठूलो क्रिप्टो मुद्रा विनिमय कम्पनी हो। जब ह्याकरहरूले ठूलो रकम चोरी गरेको खबर सार्वजनिक भयो, ठूलो मात्रामा त्यहाँबाट आफ्नो रकम निकाल्नेहरूको अनुरोध बढेर गएको कम्पनीले जनाएको छ।
झाउले एक्समा लेखेका छन्, ‘हाम्रो कम्पनीका धेरै ग्राहकमध्ये तीन लाख ५० हजारभन्दा बढीले रकम निकाल्न अनुरोध गर्नुभएको छ। एकै पटकमा यति धेरै संख्यामा अनुरोध आएकाले रकम दिन केही ढिलाइ हुनसक्छ।’
गएको शुक्रबार यो ह्याक भएको थियो। ह्याक भएको खबरले यसको सेयरबजार चार प्रतिशतले घटेको थियो। कम्पनीले रकम फिर्ता गर्ने सुनिश्चित गरेपछि भने यसको शेयर पुरानै अवस्थामा फर्किसकेको छ।
यो रकम फिर्ता गर्न साइबर सुरक्षा तथा क्रिप्टो विश्लेषणका सबैभन्दा तेज दिमाग भएकाहरूलाई सहयोगका लागि आह्वान गरेको छ। यसमा जसले सहयोग गर्न सक्छ, फिर्ता पाइएको रकममध्ये १० प्रतिशत पुरस्कारसमेत दिने कम्पनीले घोषणा गरेको छ। ह्याकरबाट सम्पूर्ण रकम फिर्ता आएको खण्डमा पुरस्कारको रकम १४ करोड डलरसम्म पुग्न सक्ने द गार्डियन अखबारले जनाएको छ।
यस घटनाले आफ्नो कम्पनीको सुरक्षा पूर्वाधारलाई मौलिक रूपमा परिवर्तन गर्न, तरलता सुधार गर्न र क्रिप्टो समुदायबीच एउटा अडिग साझेदार बन्न प्रतिबद्ध रहेको झाउले बताएका छन्।
यो ह्याकिङले क्रिप्टो उद्योगलाई निकै ठूलो झट्का दिएको छ। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किने बेलामा व्यवसायलाई कम नियमन गर्ने घोषणाका बीच अमेरिकालाई ‘पृथ्वीको क्रिप्टो राजधानी’ बनाउने बताएका थिए। उनको सो घोषणाले सारा क्रिप्टो व्यवसायीहरू उत्साहित मात्र भएनन्, यसको सेयर बजार ह्वात्तै बढेको थियो।
यसअघि पनि सन् २०२२ मा रोनिन नेटवर्कमा आक्रमण हुँदा त्यहाँको ६२ करोड डलर बराबरको इथेरियम चोरिएको थियो। उक्त चोरी पनि लाजरस समूहले गरेको आशंका गरिएको थियो। सो रकममध्ये निकै थोरै रकम अर्थात् लगभग ६ करोड डलर मात्र फिर्ता ल्याउन साइबर सुरक्षाकर्मीहरू सफल भएका थिए।
प्रकाशित: १६ फाल्गुन २०८१ १०:१८ शुक्रबार





