२८ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

हावाहुरीबाट करोडौंको केराखेती नष्ट, किसान निराश

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन्। करिब ५० लाख रुपैयाँको लागतमा मजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गरेका हुन्। नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त थिए। 

मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गरेका छन्। नौ लाख रुपैयाँ लागतमा उनले केराखेती गरेका थिए। उनी पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै आएका थिए। 

तर केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पुर्‍याँदा उनीहरू निराश भएका छन्। केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको उनीहरुको दुखेसो छ। 

दुई दिन लगातार असिनापानीसँगै आएको हुरीबतासका कारणले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ।

गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको छ। स्थानीय किसानले ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन्।

सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन्। इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले सुनाए। 

दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहता बताउँछन्। इनरूवामा मात्रै सय बिघा क्षेत्रफलमा केराखेती भइरहेकामा अधिकांश केरालाई हुरीबतासले नोक्सान गरेको उनको भनाइ छ। करिब एक करोड रुपैयाँ बराबरको केराखेती ढलेर नोक्सान भएको मेहताले जानकारी दिए। 

एकातिर फल्न लागेको केरामा क्षति अर्कातिर ढलेका बोट हटाएर नयाँ केरा लगाउन जमिन तयार गर्न नै अब प्रतिबिघा लाखौँ खर्च गर्नुपर्ने किसानको भनाइ छ। हुरीबतासले केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको किसान श्यामकुमार यादवले दाबी गरे। सुनसरीमा वार्षिक रूपमा पाँच सय २० हेक्टर अर्थात् एक हजार बिघामा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए। रासस

प्रकाशित: १६ फाल्गुन २०८१ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App