सूचना प्रविधिको विकासले ल्याएको अवसर उपयोग गरेर सूचना प्रविधि (आइटी) निर्यात गर्न निजी क्षेत्र उत्साहित देखिएको छ। सरकारले सूचना प्रविधिलाई प्रोत्साहन गर्ने गरी कानुनी आधार तयार गरेपछि निजी क्षेत्रले आइटीबाट खर्बौं आम्दानी गर्न सकिने बताएको छ।
इन्टरनेटको पहुँच, प्रविधिको विकाससँगै नेपालमा आइटी क्षेत्रमा अवसर बढ्दै गएको छ। हरेक क्षेत्रमा डिजिटलाइजेसन हुँदै गएपछि स्वदेशमा मात्र प्रयोग गर्ने नभएर अर्बौं रुपैयाँको आइटी सेवा विदेश निर्यात हुन थालेको अवस्थामा सरकारले आवश्यक वातावरण बनाउँदै लगेको छ।
अध्यादेशमार्फत सरकारले आइटी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिले उत्साहित बनाएको नेपाल उद्योग परिसंघ आइटी काउन्सिलका अध्यक्ष अजितविक्रम शाहले बताए। नेपालबाट वार्षिक करिब एक अर्ब डलरको आइटी सेवा निर्यात भइरहेको अवस्थामा अब सरकारी लक्ष्य पूरा गर्न थप टेवा पुग्ने शाहले बताए।
‘आइटी सेवा प्रवाहका लागि विदेशमा पनि शाखा कार्यालय खोल्न सकिने कानुनी व्यवस्था भएको छ,’ शाहले भने, ‘नेपालबाट सूचना प्रविधिको विदेशमा मार्केटिङ र निर्यातमा ठुलो टेवा पुग्छ।’
सरकारी लक्ष्य पूरा गर्न सघाउ पुग्ने शाहले बताए। नेपाली कम्पनीले विदेशमा आइटीको मार्केटिङ गरेर काम गर्न सहज हुने उनले बताए।
आइटी अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको छ। पर्यटन क्षेत्रलाई पनि आइटीले उछिनिसकेको छ। नेपालको आइटी क्षेत्रमा धेरै अवसर बढेको इनोभेटिभ नेपाल (आइएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले बताए।
‘नेपालले आइटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ,’ नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा बुढाथोकीले भनेका थिए। ‘आइटीका उद्यमीहरूले अब विद्यार्थीलाई आइटी पढाउन उत्प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘अब हरेक आइटी कलेजहरूमा कोटा नछुट्याई सहजै आइटी पढ्न सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ।’
सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडिएस) ले गरेको एक अध्ययनमा करिब ६८ अर्ब रूपैयाँको औपचारिक रूपमा निर्यात भएको देखिए पनि अनौपचारिकसहित अहिले दोब्बर बढेको यो क्षेत्रका सरोकारवाला बताउँछन्।
आइटी सेवाअन्तर्गत कम्युटर, इन्टरनेट प्रयोग गरेर हुने सूचना प्रविधिसँग सम्बन्धित सेवा बुझिन्छ। कम्युटर तथा इन्टरनेटसँग सम्बन्धित भएर हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइनिङ, एनिमेसन, टेलिमेडिसिन सेवा, अनलाइन मार्केटिङलगायत काम आइटी सेवामा पर्छन्।
विभिन्न कम्पनीले संस्थागत तथा व्यक्तिगत रूपमा पनि यो सेवा निर्यात गर्दै आएका छन्। विश्वबजारमा अहिलेको सबैभन्दा धेरै माग भएको क्षेत्र सूचना प्रविधि हो। सबै काम इन्टरनेटको सहायतामा अनलाइनमार्फत हुन थालेपछि यसको माग ह्वात्तै बढेको हो। कोभिडपछि धेरैले अनलाइनबाट काम गर्न थालेपछि आइटीको अवसर बढेको हो। कतिपयले नेपालमै बसेर अमेरिका, भारत, चीन, अस्ट्रेलिया, क्यानडा, युरोपमा आइटीको सेवा दिँदै आएका छन्।
आइटीमा सिप भएका युवाले नेपालमा बसेर लाखौं रूपैयाँ आम्दानी गर्न सक्ने यस क्षेत्रका जानकार बताउँछन्। सूचना प्रविधिमा अवसर देखेर सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणा गरेको छ। सरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा १० वर्षमा ३० खर्ब रूपैयाँको निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य राखेको छ।
यसरी हेर्दा वार्षिक तीन खर्ब रूपैयाँको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य देखिन्छ। ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाडौं उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालन गर्ने घोषणा पनि सरकारले गरेको छ।
नेपालमा आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्न सकिने आधार सिर्जना गर्न सरकार सक्रिय रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने दाबी गरे। ‘आइटी क्षेत्र बलियो बनाउन पूर्वाधार निर्माण र नीतिगत काम मन्त्रालयले गरिरहेको छ,’ चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा मन्त्री गुरुङले भने, ‘डिजिटल नेपाल अभियानलाई जोड दिइ अर्थतन्त्रमा ५ प्रतिशत योगदान पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य छ।’
यसै वर्षभित्र नेसनल पार्क, आइटी पार्कलगायत आइटी क्षेत्रको पूर्वाधार निर्माण गरिनेछ। सरकारले ल्याएको अध्ययादेशले व्यवसायीमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने मन्त्री गुरुङको दाबी छ।
कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० वटा सूचना प्रविधि पार्क बनाउने सरकारी योजना छ। डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र इनोभेसनको प्रवद्र्धन, रोजगारीको सिर्जना, डिजिटल सुशासनका लागि सरकारले काम गर्न सुरुआत गरेको छ।
सन् २०२२ मा सन् २०२१ को भन्दा सूचना प्रविधि सेवा निर्यात ६४.२ प्रतिशतले वृद्धि भएको थियो। विश्व बजारमा हेरक वर्ष आइटीको माग बढ्दै गएको छ। एक अध्ययनअनुसार नेपालबाट एक सय ६ कम्पनीले औपचारिक रूपमा आइटी सेवा निर्यात गरिरहेको देखाएको थियो। नेपालमा करिब ८० हजार जनाले आइटी क्षेत्रमा काम गर्दै आएका छन्।
प्रकाशित: २० माघ २०८१ ०६:३५ आइतबार