वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी सम्मेलन–२०२५’ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा आयोजना गरेको सम्मेलनले ‘काठमाडौं घोषणापत्र’ जारी गरेको छ।
घोषणा पत्रमा नवीकरणीय ऊर्जालाई ऊर्जा रूपान्तरणमा तीव्रता दिने, ऊर्जा दक्षताको दरलाई दोब्बर वृद्धि गर्ने, जलवायु अनुकूलन र उत्थानशीलतालाई थप बलियो बनाउनेमा जोड दिएको छ।
त्यसैगरी, सम्मेलनमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय सहायता वृद्धि गर्ने, अनुसन्धान विकास तथा नवीनतम प्रविधिको माध्यमबाट सर्वसाधारणमा जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आन्तरिक ऊर्जा खपत बढाउँदै, निर्यात प्रवद्र्धन र जोखिम न्यूनीकरणका उपाय अपनाएर दिगो विकासको दिशामा सरकार अग्रसर रहेको बताए।
‘विकास निर्माणका क्रममा देखिने जोखिमलाई कम गर्न अध्ययन र प्रभावकारी कार्यान्वयन जरुरी छ’, मन्त्री खड्काले भने। उनले ऊर्जा विकासका लागि दातृ निकाय र विकास साझेदारको भूमिकालाई उपयोग गर्नुपर्नेमा पनि जोड दिए।
सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने सरकारको योजनालाई कार्यान्वयनका लागि आवश्यक कानुनी र संरचनात्मक परिमार्जन गरिसकिएको जानकारी उनले दिए।
ऊर्जा क्षेत्रलाई सबल बनाउन निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र सञ्चालनमा सहभागी गराएको र स्थानीय बासिन्दालाई सेयर वितरणको नीति लागु गरिएको मन्त्री खड्काले बताए। ‘ऊर्जा परियोजनामा स्थानीयको सहभागिता र अपनत्व बढाउन न्यूनतम दुई लाखदेखि पाँच लाख रूपैयाँसम्मको सेयर वितरण गर्न जरुरी छ’, उनले भने। सम्मेलनले ऊर्जा रूपान्तरणको दिशा तय गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै प्राप्त सुझाव सरकारले ग्रहण गर्ने बताए।
जलस्रोत सचिव सरिता दवाडीले शतप्रतिशत विद्युतीकरणका लागि नवीकरणीय ऊर्जामा लगानी वृद्धि गर्नुपर्ने बताइन। उनले नीति, योजना र कानूनमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइएको र प्रसारण लाइन नपुगेका स्थानमा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिइने बताइन्।
बेलायती राजदूतावासका विकास निर्देशक पिपा बर्डले हरित वित्त र ग्रिन बन्ड प्रवद्र्धनमार्फत नवीकरणीय ऊर्जा आयोजनामा नेपालले लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा प्रणालीलाई दिगो र भरपर्दाे बनाउन विभिन्न विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य भइरहेको बताए। उनले विद्युतीय साधन, सौर्य ऊर्जा र वायु ऊर्जा प्रवद्र्धन गर्न अझ धेरै प्रयास गर्नुपर्ने औंल्याए।
इसीमोडका महानिर्देशक पेमा ग्याम्सोले स्वच्छ ऊर्जा उपयोगमार्फत सार्वजनिक यातायात, कृषि र पर्यटन क्षेत्रमा सुधार गर्न नेपालसँग पर्याप्त सम्भावना रहेको बताए।
प्रकाशित: १७ माघ २०८१ १०:२५ बिहीबार