चालु आर्थिक वर्ष सुरु भएको पाँच महिनामा उदयपुरका आठ स्थानीय तहमध्ये उदयपुरगढी गाउँपालिकाको पुँजीगत बजेट खर्च तुलनात्मक रूपमा धेरै भएको छ। गत साउनदेखि मंसिर मसान्तसम्मको पुँजीगत खर्च २३ प्रतिशत हाराहारी हुनु अन्यको दाँजोमा धेरै हो।
यो अवधिमा अन्य स्थानीयतहले १५ प्रतिशतभन्दा पनि कम पुँजीगत बजेट मात्र खर्च गर्न सकेका छन्। चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा बाँकी सात स्थानीय तहको तुलनामा उदयपुरगढीको पुँजीगत बजेट खर्च उत्साहजनक मान्नुपर्छ।
गाउँपालिकाको गत साउनमा सम्पन्न गाउँसभाले चालु आर्थिकवर्षका लागि पुँजीगततर्फ ३० करोड २८ लाख ९८ हजार सात सय ६५ रूपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये मंसिरसम्म ६ करोड ६२ लाख ९१ हजार पाँच सय ९८ रूपैयाँ खर्च भएको लेखापाल शेखर बुढाथोकीले बताए । उनका अनुसार यो खर्च हिस्सा विनियोजित बजेट अंकको २१.८८ प्रतिशत हो।
त्यसैगरी चालुतर्फ हालसम्म २३.४८ प्रतिशत बजेट खर्च भइसकेको छ। यो आर्थिक वर्षका लागि चालुतर्फ गाउँसभाले ४० करोड ७९ लाख ९० हजार दुई सय १२ रूपैयाँ विनियोजन गरेको थियो। जसमध्ये हालसम्म नौ करोड ५८ लाख एक हजार तीन सय ५३ रूपैयाँ खर्च भइसकेको लेखापाल बुढाथोकीले बताएका छन्। पुँजीगत र चालु गरी समग्र बजेट खर्च उदयपुरगढीले २३.४१ प्रतिशत गरेको बुढाथोकीको भनाइ छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंले विकास निर्माणका लागि विनियोजित बजेट समयमै खर्च गर्ने गरी योजना समझौताको काम भदौदेखि नै सुरु गरेर कार्यान्वयनमा गएको बताए। ‘गाउँसभाले शीर्षक तोकेर पारित गरेको बजेट खर्च गर्न के ढिलो गरिरहनु ?’ उनले भने ‘भदौदेखि नै भकाभक टेण्डर आह्वान, उपभोक्ता समिति गठन र सम्झौता प्रक्रिया थाल्यौं, अहिले त आधाभन्दा बढी योजनाहरूको काम सुरु भइसकेको छ र कतिपय रनिङमा छन्, कति सुरु हुने क्रममा छन्।’
जहिल्यै जेठ–असारमा सम्झौता गर्ने र काम नगरी बजेट फ्रिज गराउने परम्परा तोड्न छिटो काम थालेको गुरागाईंले बताए।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले चालुवर्ष पनि गाउँ गौरवका योजना निर्माण भइरहेको बताए। पुरानो उदयपुरगढी पुनः संरचनादेखि १५ शैड्ढयाको गाउँ अस्पताल, प्रशासनिक भवन, नेपालटार–उदयपुरगढी खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे र विभिन्न वडाबाट गाउँपालिका केन्द्र गढी जोड्ने सडकजस्ता गाउँ गौरवका योजना निर्माण हुँदै छन्।
स्वास्थ्य चौकी, विद्यालय भवन, खानेपानी, विद्युत्, कृषिलगायत पूर्वाधार तथा शिक्षा, स्वास्थ्य र सिँचाइसँग सम्बन्धित योजना निर्माणमा गाउँपालिका केन्द्रित भइरहेको अध्यक्ष मगर बताउँछन्। अस्पताल, गढी पुनर्संरचना र प्रशासनिक भवनलगायत दर्जन हाराहारी योजना वहुवर्षीय रूपमा निर्माणाधीन छन्। नेपालटार–गढी खण्डको कालोपत्रे सडक चालुवर्षभित्रै सक्ने गरी ठेक्का प्रक्रियामा गइसकेको अध्यक्ष मगरले बताएका छन्। त्यसबाहेक अन्य टुक्रे र सानोतिनो बजेटमा निर्माण हुने योजनाहरू थुप्रै सञ्चालन भइरहेको छ।
प्रकाशित: २२ पुस २०८१ ११:२५ सोमबार