२३ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

गायब हुँदै साना भेन्चर क्यापिटल

नयाँ किसिमको व्यापार गर्नु खतरा हुन्छ तर केही लगानीकर्ताहरू यस्तै खतरा मोल्दै लगानी गरेर मनग्य आम्दानी गरिरहेका हुन्छन्। यस्ता लगानीकर्ता संस्थालाई भेन्चर क्यापिटल भनिन्छ।

नेपालमा भेन्चर क्यापिटलको संस्कृति भर्खरै सुरु हुन लाग्दै गर्दा अमेरिकामा भने यो उच्च विन्दुमा पुगेर झर्ने क्रममा रहेको छ। अमेरिकामा सन् २०२१ मा यस्ता भेन्चर क्यापिटल (भिसी) उच्च बिन्दुमा थिए। यस्ता भिसीका कारण टेक कम्पनीहरूलाई लगानीको कुनै कमी हुँदैनथ्यो। तिनै भिसीका कारण अहिलेका चर्चित टेक कम्पनीहरू अस्तित्वमा छन्।

पछिल्लो एक अध्ययनअनुसार सन् २०२३ मा भने भिसी कम्पनीहरू आश्चर्यजनक तरिकाले घट्न थालेका छन्। पिचबुक नामक संस्थाले गरेको अध्ययनअनुसार अमेरिकामा रहेका भिसी कम्पनीको संख्या ६ हजार एक सय ७५ मा सीमित भएका छन्। सन् २०२१ मा भने यी संस्थाको संख्या आठ हजार तीन सय १५ वटा थिए।

अकस्मात यसरी दुई हजारको हाराहारीमा भिसीहरू हराउनु चिन्ताको विषय भएको पिचबुकको भनाइ छ। स्पेसएक्स, ओपनएआई, डेटाब्रिक्स र स्ट्राइपजस्ता कम्पनीले भिसीको ठूलो रकम खाइदिएपछि साना भिसीहरू रकम अभावमा बन्द भएको विश्लेषकहरूको तर्क छ। सन् २०२४ मा मात्र अमेरिकी भिसीहरूले ७१ अर्ब डलर बजारबाट उठाएका थिए। ती रकममध्ये आधा त नौ वटा कम्पनीको मात्र थियो।

सन् २०२४ मा बजारबाट धेरै रकम उठाउने कम्पनीहरूमा जेनेरल क्याटलिस्ट, एन्ड्रिसेन होरोजित्ज, आइकनिक ग्रोथ र थ्राइभ क्यापिटल थिए र तिनले २५ अर्बभन्दा बढी रकम  उठाएका थिए। लगानी गर्ने कम्पनीको अभावका कारण कतिपय भिसीहरूले त बजारबाट उठाएको रकम फिर्तासमेत गरेका थिए। तीमध्ये काउन्टडाउन क्यापिटल प्रमुख थियो।

सन् २०२२ मा ५० करोड डलरभन्दा बढी उठाएर विभिन्न कम्पनीमा लगानी गरेको फाउन्ड्राई ग्रुपले आफ्नो १८ वर्षे लगानी अवधिमा बजारमा साढे तीन अर्बको सम्पत्ति व्यवस्थापन गरेको थियो। पछिल्लो ५० करोडपछि भने उसले अब बजारबाट पैसा नउठाउने घोषणा गरिसकेको छ ।

केही ठूला लगानीकर्ताहरूबाहेक अरूका लागि लगानीयोग्य ठाउँको अभावमा बजारबाट पैसा उठाउन आवश्यक नपर्ने वा लगानी गर्नेहरू पनि डुब्ने अवस्था रहेका कारण रकम व्यवस्थापन गर्न छाडेका छन्। थोरै ब्याजमा ठूलो रकम झिकेर त्यसलाई विभिन्न नाफामूलक व्यवसायबाट नाफा कमाइरहेकाहरूलाई अबको समय संघर्षपूर्ण हुने जेसीटु भेन्चर्सका संस्थापक जोन चेम्बर्सको धारणा छ।

सन् २०२१ ताका कम ब्याजदरमा बैंकबाट ऋण काढेर लगानी गर्ने कयौं कम्पनीहरूले स्टार्टअपहरूमा लगानी गर्दा कयौं गुणा बढी नाफा निकालेका थिए। अहिले यो नाफा सुक्दै जान थालेको चेम्बर्स बताउँछन्। पछिल्लो समय विभिन्न ठूला संस्थाहरू, फाउन्डेसनहरू र पेन्सन फन्डले आफ्नो लगानी घटाउँदै लैजान थालेका कारण पनि धेरैजसो भिसी कम्पनीहरू बन्द हुन थालेको हो।

पछिल्ला २५ वर्षमा अमेरिकी भेन्चर क्यापिटल कम्पनीहरूको व्यापार गर्ने सूत्रमा धेरै परिवर्तन आएका कारण नाफा घट्दै जान थालेको केहीको बुझाइ छ। सन् १९९० को दशकमा कुनै भेन्चर क्यापिटलले कुनै कम्पनीमा लगानी गर्दा उसको पूर्ण लगानी सात वर्षमै फिर्ता भइसक्थ्यो। अहिले १० वर्षभन्दा बढी समय लाग्न थालेपछि त्यस्तो व्यापारमा लगानी गर्न अनिच्छुक हुन थालेको केहीको बुझाइ छ। खासमा धेरै लगानीकर्ताले लामो समयको धैर्य गुमाएका कारण पनि अवस्था यस्तो आएको हो।

सन् २०२४ मा अमेरिकी संस्थाहरूले बजारबाट ७१ अर्ब डलर उठाएका थिए। यो सन् २०२१ को तुलनामा निकै कम हो। लिमिटेड पार्टनर अर्थात् एलबी भन्नाले यसमा लगानी गरेको पुँजीको मूल्यवृद्धि, लाभांश वा अन्य आम्दानीजस्ता तत्त्वहरू हुन्, जुन लगानीकर्ताले आफ्नो लगानीबाट प्राप्त गर्छन्।

यो लगानी फिर्ताको अवधि जति बढ्छ, वा कुनै कम्पनीले लगानी फिर्ताको अवधि जति बढाउँदै जान्छ, उसमाथि लगानी गर्नेहरूको संख्या उति नै घट्दै जान्छ। जसले थोरै अवधिमा धेरै नाफा वा लगानी फिर्ताको सुनिश्चितता दिन्छ, उसलाई लगानी गर्नेहरूको संख्या निरन्तर बढ्छ।

स्टानफोर्ड विश्वविद्यालयको एक अध्ययनअनुसार, मध्यम आकारका भेन्चर क्यापिटल कम्पनीहरूको असफलता दर २०२५ मा अझ चुलिनेछ। जबसम्म मध्यम भिसीले नाफा निकाल्ने अर्को अचुक अस्त्र फेला पार्दैनन्, यस्तो असफलताको दर अझ बढ्ने र मध्यम आकारका भीसीहरू बन्द हुने क्रम अझ बढ्ने स्टानफोर्ड अध्ययनको दाबी छ।

प्रकाशित: २२ पुस २०८१ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App