जुम्लाको चन्दननाथ नगरपालिका-९ का खड्क बुढा धान उत्पादन गर्ने किसान हुन्। उनले तीन वर्षअघिसम्म ३० बोरा बढी धान उत्पादन गर्थे। अहिले घटेर १५ बोरा मात्र धान हुने गरेको बताउँछन्।
झण्डै चार वर्ष यता धानमा विभिन्न रोगहरू देखिएर उत्पादन घट्दै गएपछि किसानहरूले धान खेती घटाउँदै गएका छन्। यस्तै बुढाकै गाउँका रतन रावतले पनि चार वर्षअघिसम्म १० कठ्ठा खेतमा धान लगाउथे। अहिले घटाएर ६ कठ्ठामा खुम्चिनु परेको उनी बताउँछन्।
पछिल्लो समय कर्णालीमा धान उत्पादनमा कमी आएको देखिन्छ। गत वर्षकाे तुलनामा यो वर्ष कर्णालीमा कम धान उत्पादन भएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षभन्दा यो वर्ष १ हजार १ सय ७४ मेट्रिक टन कम धान उत्पादन भएको छ।
गत वर्ष १ लाख २४ हजार ९ सय ६९ मेट्रिक टन धान उत्पादन भएको थियो। यो आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार ७ सय ६३ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको थियो, जसमा १ लाख २३ हजार ७ सय ९५ मेट्रिक धान उत्पादन भएको छ।
कर्णालीका सुर्खेत, सल्यान, दैलेख, रुकुमपश्चिममा बढी धान उत्पादन हुने गर्दछ। त्यसपछि धान उत्पादन हुने जुम्ला, जाजरकोट र कालिकोट जिल्ला मानिन्छन्। यस्तै हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु धेरै कम मात्र धान उत्पादन हुन्छ। यो वर्ष सुर्खेत जिल्लामा सबैभन्दा बढी धान उत्पादन भएको देखिन्छ। सुर्खेतमा ५२ हजार ९ सय ४ मेट्रिक टन धान उत्पादन भयो। यस्तै दैलेखमा २५ हजार १ सय २०, सल्यानमा २३ हजार ६ सय ३० मेट्रिक टन धान उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकमे तथ्यांकले पुष्टि गरेको छ।
यो वर्ष सबैभन्दा कम धान उत्पादन हुने जिल्ला डोल्पा मानिन्छ। डोल्पामा ३ सय ५० मेट्रिक टन मात्र धान उत्पादन भएको छ भने मुगुमा ९ सय ७५ मेट्रिक टन धान उत्पादन भयो। विगत ५ वर्षको तथ्याङ्क हेर्न हो भने कर्णालीमा लगातार धानको उत्पादन घट्दै गएको छ।
कृषि मन्त्रालयकाे तथ्यांक हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ५१ हजार ८ सय ५ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ३७ हजार १ सय ६५ मेट्रिक टन उत्पादन भएको छ। यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १ लाख २५ हजार १ सय ४३ मेट्रिक टन उत्पादन भयो। भने आर्थिक वर्ष २०७९/०८० मा भने ३ हजार मेट्रिक टन धान उत्पादन बढेको थियो। २०८०/०८१ मा फेरि घटेर १ लाख २४ हजार ९ सय ६९ मेट्रिक टन मात्र उत्पादन भयो।
कर्णालीमा २ लाख ९९ हजार ३ सय ३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ। २ लाख १६ हजार ८ सय ८० हेक्टर क्षेत्रफलको जमिनमा मात्र खेती गर्ने गरिएको छ। ४५ हजार ४ सय ६८ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान खेती गरिएको छ। सुर्खेतमा सबैभन्दा बढी १२ हजार ६ सय ७९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। यस्तै दैलेखमा ८ हजार ३ सय १३, सल्यानमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
यस्तै रुकुमपश्चिममा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा, कालिकोटमा ३ हजार ८१ हेक्टर क्षेत्रफलमा र जाजरकोटमा ३ हजार ६३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। केही वर्ष यता धानको उत्पादन निकै घटिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत पुर्णबहादुर थापा बताउँछन्। उनका अनुसार उत्पादन देखिने गरी घटेको छ। क्षेत्रफल पनि घट्दै गएको पाइएको उनले बताए।
उनका अनुसार सुर्खेत, दैलेख, जाजरकोट, सल्यान जिल्लामा क्षेत्रफल पनि घटेको छ। धान खेती हुने भनेको पहाडीभन्दा फाटहरूमा हो। उनले भने, ‘अहिले फाटहरूका बस्ती विस्तार हुने क्रम बढेको छ। सडक निर्माण पनि भए। त्यसैले धानको उत्पादन सँगै क्षेत्रफल पनि घटेको छ।'
सिँचाइ अभावले गर्दा पनि धानको उत्पादन घटेको उनले बताए। पहाडी जिल्लामा वर्षातले सिँचाइको लागि बनाइएका कुलोहरू भत्किन्छन्। उनले भने, ‘सिजनमा पानी नपर्नु पनि समस्या हो। समयमा पानी परेन भने धानको बिउ राख्ने समय नै तल माथि हुन्छ। यसले रोप्ने समय तल माथि हुन्छ। ढिलो रोपाइँ भयो भने पनि उत्पादनमा असर पर्छ। यो सँगै धान खेतीको लागि दक्ष जनशक्ति चाहिन्छ। यो जनशक्तिको अभाव हामीले झेलिरहेका छौं।'
कर्णालीमा कुल खेतीयोग्य जमिनको ३५ दशमलव २१ प्रतिशत भूभागमा मात्र सिँचाइ सुविधा छ। कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३ सय ३८ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा पुग्छ भने ३० हजार ३ सय २ हेक्टर क्षेत्रफलमा आशिंक सिँचाइ हुने गरेको छ। बिउ पनि पर्याप्त मात्रामा नपाइने समस्या रहेको उनी बताउँछन्।
हाइब्रिड भनेर ल्याउने धानले गर्दा नयाँनयाँ रोगहरू भित्रिनु पनि धान उत्पादन घट्नुको एक कारण भएको थापाको भनाइ छ। उनी भन्छन्, ‘हामी कहाँ भइरहेको उन्नत धान, अनुसन्धान केन्द्रबाट उत्पादन गरेकोमा कस्तो रोग लाग्छ भन्ने पहिल्यै जानकारी हुन्छ। बाहिरबाट आएको केही मेसै पाइँदैन। उत्पादन धेरै दिएपछि सँगै रोगहरू आउने गरेका छन्। अब यसलाई रोकथाम र अनुसन्धान गर्न जरुरी छ।'
प्रकाशित: १३ पुस २०८१ १३:५८ शनिबार