८ पुस २०८१ सोमबार
image/svg+xml
अर्थ

भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिँदा पोखरालाई घाटा

<br>

गत कात्तिक तेश्रो सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सुरु भए। विभिन्न पाँचवटा अन्तर्राष्ट्रिय हवाई कम्पनिले भैरहवामा उडान पनि थालेसँगै भैरहवा अन्तर्राष्ट्रिय सहरसँग हवाई माध्यमामार्फत जोडियो। सुरुवाती उडानले त्यस क्षेत्रमा रौनकता त निकै नै थप्यो। उडान सुरु भएसँगै पर्यटन क्षेत्र सबैभन्दा बढी खुसी भयो।

संचालनमा आएको करिब अढाई वर्षपछि भैरहवामा अन्तर्राष्ट्रिय उडान थपिएसँगै पोखरालाई भैरहवासँग जोड्नेगरि आन्तरिक हवाई कम्पनिले पनि पोखरा–भैरहवा रुटमा उडान बढाए। बुद्धले पोखरा–भैरहवा रुटमा उडान थपेर दुइ पुर्यायो भने यती एयरलाइन्सले पनि यो रुटमा उडान थाल्यो। भैरहवामा अन्तर्राष्ट्रिय जहाजको अवतरण थपिन थालेसँगै निजी हवाई कम्पनिले पोखरा–भैरहवा रुटमा आन्तरिक उडान थपेर भैरहवा ओर्लेका पाहुनालाई सिधै पोखरा भित्र्याउने चाँजोपाँजो मिलाएका थिए।  

तर, भैरहवामा भईरहेका अन्तर्राष्ट्रिय उडान एकमहिनामै रोकिएपछि त्यसको असर आन्तरिक उडानमा पनि परिसकेको छ। अहिले पोखरा–भैरहवा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले उडान संख्या कटौती गरिसकेका छन्। बुद्ध एयरले उडान कटौती गरेर एउटामा झारेको छ भने यतीले उडान नै रोकेको छ। त्यत्ति मात्र नभई भैरहवा हुँदै विदेशी पर्यटक पोखरा भित्रिने अपेक्षा गरेका पोखराका पर्यटन व्यावसायी भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान कटौती भएपछि निराश बनेका छन्।  

अहिले नेपाल एयरलाइन्स बाहेक अरु सबै कम्पनिले भैरहवाका लागि गरिरहेका अन्तर्राष्ट्रिय उडान रोकिसकेका छन्। एक महिनाजति उडान गरेका कतार एयरवेज, फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयर एसियाले अहिले गौतमबुद्धमा उडान रोकिसकेका छन्।  

पर्यटन व्यावसायी भन्छन, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएपनि भैरहवामा अन्तर्राष्ट्रिय उडान हुँदै गर्दा व्यावसायी खुसी थिए। तर, अहिले भैरहवाका उडान पनि संचालन हुन सकेनन्। त्यसले पोखरालाई पनि निराश बनाएको छ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत कात्तिक २३ देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। योसँगै आगामि चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान प्रभावित हुनेछन्। काठमाडौंमा उडान प्रभावित भएसँगै भैरहवामा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका थिए। तर, यात्रु अभाव भएपनि मौसमी समस्या देखाउँदै अन्तर्राष्ट्रिय उडान गरिरहेका हवाई कम्पनि भैरहवाका उडान रोकिसकेका छन्।  

‘भैरहवामा अन्तर्राष्ट्रिय उडान हुँदै गर्दा त्यसको केही सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा देखिएको थियो। भैरहवाका कारण पोखरा र चितवनले थोरै भएपनि लाभ लिन पाएको थियो। तर, अन्तर्राििष्ट्रय उडान रोकिएसँगै पर्यटन क्षेत्र निराश बनेको छ,’ पर्यटन व्यावसायी ओमप्रकाश पाण्डे भन्छन, ‘एकैपटक खचाखच पाहुना भित्रिन्छन भन्ने त होईन, तर, सकारात्मक संकेत देखिएका थिए।’

काठमाडौं, पोखरा, भैरहवा र सौराहामा समेत ल्याण्डमार्क होटल संचालन गरिरहेका पाण्डेका अनुसार भैरहवामा अन्तर्राष्ट्रिय उडान हुँदा त्यहाँको होटलको अकुपेन्सी २० प्रतिशत बढेको थियो। केही पाहुना सौराहा र पोखरा पनि आएका थिए। ‘भैरहवाको होटलमा करिब २० प्रतिशत अकुपेन्सी फरक परेको थियो। त्यसको अर्थ पाहुना थपिएका थिए,’ उनले भने, ‘ल्याण्डमार्क होटलले केही भएपनि ब्यापार पाएको थियो। तर, अहिले ती सबै पाहुना रोकिए।’

उनका अनुसार हवाई उडानका क्याविन क्रु, हवाई कम्पनिका उच्चपदस्थ पदाधिकारी र केही पर्यटक भैरहवास्थित होटलका नियमित पाहुना थिए। राम्रो मुल्य तिर्ने ती पाहुनाका कारण पर्यटन क्षेत्रले केही लाभ पाएको थियो। ‘कम संख्यामा भएपनि विदेशी पाहुना होटलमा आएका थिए। भैरहवा हुँदै नेपाल भित्रिएका पाहुना पोखरा र चितवनका होटलमा समेत आइपुग्थे। तर, अहिले उडान बन्द भएपछि सबै रोकिए। भैरहवाका उडान बन्द हुँदाको मार पोखरा र चितवनलाई पनि परेको छ,’ उनले भने।  

पोखरा–भैरहवा रुटमा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले पनि भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिएसँगै पोखरासँगको आन्तरिक उडान पनि रोक्नुपरेको बताएका छन्। ‘अन्तर्राष्ट्रिय उडानमार्फत भैरहवामा केही संख्यामा विदेशी पाहुना भित्रिने अपेक्षा थियो। तर, अन्तर्राष्ट्रिय उडानमा यात्रु अभाव भएको भन्दै हवाई कम्पनिले भैरहवासम्मका उडान रोकेपछि आन्तरिक उडान पनि कटौती भएका हुन,’ आन्तरिक हवाई कम्पनिका एकजना उच्च पदाधिकारीले भने, ‘भैरहवा ओर्लिने यात्रु नै नभएपछि पोखरा आउने पनि कोही भएनन।’

भैरहवासम्म पर्याप्त यात्रु आउने र ती मध्ये केहीलाई पोखरा भित्र्याउने अपेक्षा सहित पोखरा–भैरहवा रुटमा उडान थालिएको भएपनि अहिले रोकिएको उनले बताए। पोखरा–भैरहवा रुटमा केहीदिन अघिसम्म बुद्ध र यतीका गरेर दिनमा तीनवटा उडान भईरहेकोमा अहिले बुद्धले यो रुटमा एउटा मात्र उडान गरिरहेको छ। ‘आन्तरिक उडानका लागि पनि यात्रु भएनन। विदेशी पाहुना पर्याप्त भएनन। आन्तरिक यात्रु पनि उत्तिसारै पाइएन,’ उनले भने।  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि भैरहवालाई अन्तर्राष्ट्रिय उडानमार्फत जोड्दा पर्यटनमा सकारात्मक प्रभाव परेको बताउँछन्। उनका अनुसार भैरहवा हुँदै नेपाल भित्रिएका भियतनामका पर्यटकको एक समूह शर्माले पोखरामा संचालन गरेको पोखरा भिलेज रिसोर्टमा आएको थियो।

‘भियतनामका कमै संख्यामा पर्यटक नेपाल आउँछन्। तर, यो पटक भैरहवा हुँदै भित्रिएको त्यो समूहलाई पोखरामा म आफैले आतिथ्यता दिन पाए,’ उनले भने, ‘भैरहवासम्मको अन्तर्राष्ट्रिय उडानका कारण त्यो सम्भव भएको थियो। भियतनामी ती पाहुना पोखरा घुम्न पाउँदा निकै नै खुसी पनि थिए।’

भैरहवामा अन्तर्राष्ट्रिय उडान रोकिएसँगै पोखरासम्मका आन्तरिक उडान पनि प्रभावित भएको उनले पनि बताए । ‘पोखरा–भैरहवा जोड्ने आन्तरिक उडान पनि प्रभावित भए। थोरै संख्यामा भएपनि पर्यटक भित्रिन थालेका थिए । जुन सुुखद् थियो। तर, अहिले तिनै पर्यटक पनि आउन पाउने अवस्था रहेन,’ उनले भने, ‘भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान रोकिँदाको मार पोखराले पनि खेपेको छ।’ पोखरामा अन्तर्राष्ट्रिय उडान नहुँदाको अवस्थामा भैरहवाबाट आशावादी बनेका पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय उडान रोकिँएसँगै निराश बनेको अध्यक्ष शर्माले बताए।  

प्रकाशित: ८ पुस २०८१ १८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App