९ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

पाँच देशको भ्रमण सकेर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पाँच देशको भ्रमण सकेर स्वदेश फर्किएकी छन्।

गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग, जर्मनी र भारत भ्रमणपछि सोमबार स्वदेश फर्किएकी हुन्।

शुक्रबार नयाँ दिल्लीमा आयोजित नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा परराष्ट्रमन्त्री डा. राणाले सम्बोधन गरेकी थिइन्। त्यसपछि मन्त्री डा. राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराइन्।

भारत भ्रमणका क्रममा उनले नेपाली कूटनीतिक मामिलामा विशेष ध्यान केन्द्रित गर्दै केही महत्त्वपूर्ण वार्ता र छलफलहरू गरेकी थिइन्।

त्यसअघि जर्मनीमा आयोजित यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागी भएकी थिइन्। त्यहाँ उनले विश्वभर लैङ्गिक अल्पसङ्ख्यकहरूले भोग्नुपर्ने हिंसा, उत्पीडन र असमानताको चुनौतीबारे महत्त्वपूर्ण चर्चा गरिन्।

नेदरल्यान्डको हेग स्थित इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा उनले नेपालको तर्फबाट भनाइ राखिन्।

बेल्जियममा रहँदा उनले त्यहाँका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी थिइन्। उनीहरुबीच नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेषगरी प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि छलफल भएको थियो।

प्रकाशित: ८ पुस २०८१ २०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App