१४ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

घट्यो खोला नदीको बहाव, साँझ औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने

साँझको समय (पिक आवर) औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने अवस्था आइलागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  हिउँदको समयमा खोला तथा नदीको बहाव घट्दै जाँदा जलविद्युत् आयोजनाको उत्पादन घट्दै गएकाले पिक आवरमा औद्योगिक क्षेत्रमा केही समय  विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । 

‘नोभेम्बर १९ बाटै यस्तो जोखिमको छाँटकाँट देखिइसकेको थियो । त्यसैले हामीले माथिल्लो तामाकोसी सुचारुमा ध्यान दिन पटक–पटक भन्दै पनि आयौँ,’ प्रवक्ता घोषले भने,‘नभन्दै अहिले विद्युत् कटौती गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’ उनका अनुसार एक हप्ता÷१० दिनभित्रै कटौती सुरु गर्नुपर्ने अवस्था देखिएको छ । 

‘यो ठ्याक्कै यति बेला भन्ने हुन्न । जति बेला कम हुन्छ हामीले कटौती गर्नुपर्ने हुन्छ । हप्ता÷१० दिनभित्रै त्यो अवस्थामा पुग्छौँ,’ उनले भने । 

असोजमा आएको वर्षापछिको बाढी पहिरोले धेरैजसो खोलानालामा निर्मित जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । त्यसैमध्ये

४५६ मेगावाटको माथिल्लो तामाकोसीका संरचनामा समेत क्षति पुगेको थियो । 

तामाकोसीको पुनर्निर्माण समयमै नसकिँदा पिक आवरमा विद्युत् कटौतीको अवस्थामा आइपुगेको प्राधिकरणले जनाएको छ । तामाकोसी पुस १० गतेबाट सुचारु हुनसक्ने बताइएको छ । 

तर, त्यो सुचारु हुँदा पनि औद्योगिक क्षेत्रको विद्युत् कटौती टार्न सकिनेमा प्राधिकरण ढुक्क छैन । 

‘हिउँदको समयमा जलविद्युत आयोजनाहरूको उत्पादन क्षमता एक तिहाइ घट्छ ।  पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नि नपाउने अवस्था छ,’ प्रवक्ता घोषले भने,‘न बाहिरबाट आयात गर्न पर्याप्त संसाधन छन् । यसैले ढुक्कै हुने अवस्था छैन ।’

प्रकाशित: २ पुस २०८१ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App