बिहानकाे मिरमिरे उज्यालो नहुँदै निन्द्रा खुल्छ। अनि सूर्य नउदाउँदै भैँसीको दूध बेच्न बिहान ५ बजे जुम्लाको सदरमुकाम खलंगा पुग्छन्, गाेपाल महत। उनी जुम्लामा गुठिचौर गाउँपालिका-५ देपालगाउँका हुन्।
उनका अनुसार दूध बेच्नका लागि गाउँदेखि बजारसम्म पुग्न माेटरसाइकलमा झन्डै १५ मिनेट लाग्छ। हिँड्ने हो भने ५० मिनेट जति लाग्छ। यस्तो पुस महिनाकाे चिसो सिरेटाेमा एकाबिहानै 'दूध आयो-आयो' भन्दै जुम्ला बजार आवतजावतकाे दैनिकी बनेको छ उनकाे। गाेपाल कुनै दिन पनि नबिराएर दूध बेच्न बिहानै घरबाट निस्कन्छन्।
बिहानै भैँसी दुहुने र बजारमा लगेर बेच्ने गर्छन् उनी । यसरी गाेपालकाे दिनचर्या बितेको २२ वर्ष भयो। गाेपाल अहिले ३८ वर्ष पुगे। उनको घरमा श्रीमती र छोराछोरीसहित चार जनाको परिवार छ। 'म यसैमा खुसी र सन्तुष्ट पनि छु,’ उनले भने, ‘भैँसी पालनसँगै घरको खेतीपाती पनि आफैँ गर्नुपर्छ, दूध बेचेर छोराछोरीको पढाइ खर्च चलाउँछु, केही रकम बचत पनि गर्ने गरेकाे छु।’
गाेपाल सानाे छँदा बुबाले घरमा दूध खाने हेतुले एउटा भैँसी पाल्थे तर अहिले आफूले व्यावसायिक रूपले नै भैँसी पालन गरेको उनकाे भनाइ छ। उनका दुवै दम्पती निरक्षर छन्। गाेपालले अहिले प्रत्येक दिन तीस लिटर (६० माना) दूध बेच्छन्।
बजारमा प्रतिलिटर दूधको मूल्य एक सय रुपैयाँमा बिक्रीवितरण भइरहेको छ। दूध बेचेरै घरायसी खर्च चलाएर केही रकम बचत गर्ने गरेको उनले बताए। उनकी जेठी छाेरी निजी विद्यालयमा कक्षा ७ र छाेरा ५ मा पढ्छन्। उनकाे मासिक ९० हजार रुपैयाँ दूधकाे कमाइ हुन्छ। तीस हजार अन्य खर्च भए पनि ६० हजार अनिवार्य बचत गर्ने गरेकाे उनले सुनाए। 'वार्षिक सात लाख २० हजार रुपैयाँ बचत हुन्छ,' उनले भने, 'गाउँमा २५ लाखकाे जग्गा जमिन जाेडेर नगद १० लाख बैंक खातामा माैज्दात गरेको छु।'
भैँसी पालनका लागि मष्टाे भैँसी पालन उद्योग दर्ता गरेका छन् उनले। अहिले उनको फर्ममा १३ वटा भैँसी छन्। जसमध्ये दुहुनो र ब्याउने गरी चार/चार वटा छन्। साथै एउटा साँढे र चार पाडीहरू छन्। गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको उनले बताए। 'गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको छु,' उनले भने , 'घाँस पराल काट्ने च्यापकटर र जाैँ, मकैसहितका खाद्यान्न पिसेर दाना बनाउने मेसिन पनि घरमै राखेको छु।'
दूधमा आत्मनिर्भर बन्ने उद्देश्य छ गाेपालकाे। फार्ममा उत्पादन भएको दूधसँगै गोबर मल आफ्नो खेतीयोग्य जमिनमा प्रयोग भइरहेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका-१ स्थानीय दानसाँगु बजारदेखि खलंगासम्मको बाटोमा दूध बेच्नेको ताती हुन्छ। ‘गाउँमै आएर दूध खरिद गरिदिने राम्रो डेरी छैन, दूध बेच्नकै लागि बजार पुग्नुपर्छ,’ भैँसीपालक किसानहरूले भने, ‘बजार पुग्नुपर्ने बाध्यताले समय खेर गरेको छ, तर दुःखअनुसार आम्दानी राम्रै छ।’
कृषक देविसरा महतका अनुसार ८ वर्षअघि जुम्लाको पशु सेवा कार्यालयले २५ लाखकाे गाेठ व्यवस्थापन अनुदान दिएको थियो। अहिले केही छैन। यता कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई प्रोत्साहन बापत झण्डै एक करोड बढी रकम उपलब्ध गराएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादक किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो। तत्कालीन कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० रुपैयाँ र अन्य जिल्लामा पाँच रुपैयाँका दरले ३७ लाख ९१ हजार चार सय २९ लिटर दूधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदान बापत उपलब्ध गराइएको प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। जसबाट तीन हजार सात सय ७६ कृषक लाभान्वित भएका छन्।
प्रकाशित: २ पुस २०८१ १३:४१ मंगलबार