भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको चाप बढ्दै गएको छ। विमानस्थलका प्रवक्ता दिपककुमार बज्राचार्यले विमानस्थलबाट सिधै विदेशमा उडान हुने एयरलाइन्समा क्रमिक रूपमा यात्रुहरू बढिरहेको बताए।
प्रवक्ता बज्राचार्यका अनुसार हाल बाहिर हल्ला भएजस्तो अकुपेन्सी नभएर उडानमा चुनौती नै आएको अवस्था होइन। ‘बाहिर के हल्ला हुन्छ त्यो मलाई थाहा भएन तर विमानस्थलबाट सिधै विदेश उडान हुने तालिकाको अकुपेन्सी विस्तारै बढेको अवस्था छ’, उनी भन्छन्, ‘उडान हुनासाथ तत्कालै यात्रुहरूको चाप बढ्छ भन्ने होइन, काठमाडौं बेस भएर गरिने उडानमा यात्रुको चाप त्यति नभए पनि सिधै विदेश उडान गर्ने एयरलाइन्समा यात्रुहरू बढिरहेकै छन्।’
हाल विमानस्थलबाट चार वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान भरिरहेकोमा अहिले जजिरा एयरलाइन्स र थाइ एयर एसियाले सिधै विदेश उडान गरिरहेको छ। जजिराले हप्ताको तीन दिन र थाई एयरले एक उडान गरिरहेको छ।
थाई एयरले हप्तामा दुई उडान गर्ने तालिका भए पनि हाल मर्जर गरेर एक उडान गरिरहेको छ। ‘थाईको सेड्युल दुई वटा छ। त्यसलाई मर्ज गरेर एक उडान गरिरहेको छ।’ प्रवक्ता बज्राचार्यले भने, ‘प्यासेन्जरलाई कुनै पनि समस्या नपर्ने र एयरलाइन्सलाई पनि सहज हुने गरी मर्ज गरेर उडान गरिरहेको छ।’
यसैक्रममा विमानस्थलमा हुने उडानमा पछिल्लो एक महिनाको यात्रु चाप राम्रै रहेको प्रवक्ता बज्राचार्यले बताए। उनका अनुसार ३० नोभेम्बरसम्म १० वटा उडान भर्दा एक हजार एक सय ५४ यात्रु भित्रिएका छन् भने एक हजार ६ सय ३७ जना यात्रु बाहिरिएका छन्। यस एयरलाइन्सबाट सबैभन्दा बढी यात्रुले सेवा लिएका छन्। यस्तै फ्लाई एसियाको पाँच उडानबाट ७२ यात्रु विमास्थल झरेका छन् भने तीन सय ७५ जना यात्रु बाहिरिएका छन्।
विमानस्थलबाट अहिलेसम्म ७८ वटा अन्तर्राष्ट्रिय उडान भएको छ। जसमा दुई हजार पाँच सय ३३ जना यात्रु विमानस्थलबाट भित्रिएका छन् भने दुई हजार दुई सय ३८ जना यात्रु विमास्थलबाट आएका छन्।
यस्तै नेपाल एयरलाइन्सले ३० नोभेम्बरसम्म १० उडान भरेको छ। जसमा १८ यात्रुले सेवा लिएको छ। फ्लाई दुबईले २२ उडान भर्दा आठ सय ९५ जना भित्रिएका छन् भने एक सय १५ जना बाहिरिएका छन्।
पछिल्लो समय विमानस्थलमा सेवा दिने वायुसेवाका न्यून अकुपेन्सी र उच्च भाडादरका समस्याहरू नभएका होइनन् तर यो गौतमबुद्ध विमानस्थलको मात्र समस्या नभएको बज्राचार्यको बुझाइ छ।
‘गौतमबुद्ध विमानस्थलमा भइरहेको यात्रुको उडान संख्या विश्लेषण गर्दा काठमाडौं अवतरण भएर जाने एयरलाइन्सको तुलनामा सिधै विदेश जाने उडानमा यात्रुको चाप राम्रो छ। जसलाई सन्तोषजनक नै मान्नु पर्छ’, उनले भने।
पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम अघि बढाएको छ। प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’ विस्तारको कामसँगै दैनिक १० घण्टा बन्द हुने भएपछि केही एयरलाइन्स कम्पनीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट उडान गरिरहेका छन्।
गत कात्तिक १८ गतेबाट भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु भएको र पाँच वटा एयरलाइन्स कम्पनीले त्यहाँबाट उडान भर्न थाले पनि हाल चार वटा कम्पनीले मात्र उडान गरिरहेका छन्। कतार, जजिरा, फ्लाई दुवई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले उडान भरिरहेकोमा हाल कतार एयरलाइन्सले उडान रोकेको छ।
कतार एयरलाइन्सले भैरहबाट ३८ वटा टच डाउन उडान गरेको छ। विमानस्थलका अनुसार कतार एयरलाइन्सले महिना दिनमा जम्मा १९ वटा उडान भरेको छ। उक्त संख्याको उडानबाट जम्मा ९३ यात्रुलाई मात्रै सेवा दिएको छ। यस्तै भैरहवालाई ट्रान्जिट बनाएर भने एक हजार दुई सय तीन जनाले सेवा लिएको जानकारी भैरहवा विमानस्थलले दिएको छ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम अघि बढाएकाबेला गैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विकल्प बनेको छ। सरोकारवालाले विमानस्थल उडानको विकल्प भएसँगै यसका पूर्वाधारमा थप विकास, भिसा सेन्टर, मेडिकल टेस्ट, म्यानपावरको व्यवस्था, श्रम स्वीकृतिसहितको काम सहज गर्दै लैजानुपर्ने धारणा राखेका छन्।
यससँगै भैरहवा विमानस्थलबाट हुने उडानमा सहजीकरण गर्ने सरकारको निर्णयको स्पष्ट कार्यान्वयन हुन सकेको खण्डमा विमानस्थल थप चलायमान हुने विश्वास विमानस्थलले राखेको छ।
यसैक्रममा गौतमबुद्ध विमानस्थल श्रम गन्तव्यका लागि मात्र नभएर पर्यटकीय गन्तव्यको उडान भर्न पनि उत्तिकै सम्भावना बोकेको विमानस्थल हो। त्यसैले श्रम गन्तव्यका लागि मात्र भन्दा पनि पर्यटकीय गन्तव्य मार्गको रूपमा समेत विमानस्थललाई प्रयोग गर्नुपर्ने सारोकारवालाको धारणा छ।
भैरहवाबाट उडान सुरु भएको एक महिनासम्म पनि अझै श्रम स्वीकृतिलाई सहजीकरण गर्ने, श्रमिकको लागि मेडिकल गर्ने र म्यानपावर कम्पनीलाई सहजीकरण गर्ने विषयमा सरकार अल्झिरहेको छ।
यात्रु सेवा र सुविधामा सहजीकरण नभएको र वायुसेवाको उडान आकर्षित गर्न नसकेका कारण अझै यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको प्राथमिकतामा नपरेको देखिएको छ।
हाल भैरहवास्थित विमानस्थलमा हुने अन्तर्राष्ट्रिय वायुसेवाको उडान अवतरणमा क्यानले एरोनटिकल र नन् एरोनटिकल उडानमा पूर्ण छुट दिएको छ।
प्रकाशित: २४ मंसिर २०८१ ०९:०६ सोमबार