२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

अलैँची प्रतिमन लाख रुपैयाँ नजिक !

<br>

‘खोल्सीको सुन’ उपनामले परिचित नगदे बाली अलैँचीको मुख्य सिजनमा भाउ राम्रो आएपछि किसान उत्साहित छन्।उत्पादन राम्रो, सिजनमै भाउ पनि उच्च हुँदा किसान अलैँचीबाट राम्रो आम्दानी लिने तयारीमा छन्। 

अहिले इलामका बजारमा अलैँचीको भाउ प्रतिमन (४० किलो) ९२ हजारदेखि ९८ हजार रुपैयाँसम्म छ । इलाम उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले पुच्छर काटेको ठुलो दानालाई गुणस्तरीय मान्ने गरिएको बताए। ‘अचेल अलैँचीको गुणस्तर हेरेर मूल्य दिन थालिएको छ,’ उनले भने, ‘राम्रो अलैँचीको राम्रो भाउ छ।’ 

उनले २०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको अहिले भाउ ०८० सालमा ६० हजार थियो। ‘हुन त १० वर्षअघि नै अलैँचीको मूल्य प्रतिमन लाख रुपैयाँ नाघेकामा केही वर्ष निकै घटेको थियो,’ उनले भने, ‘अहिले फेरि भाउ आएपछि किसान उत्साही छन्।’ अलैँची व्यवसायी संघ समेतमा आबद्ध व्यापारी पौडेलले अलैँची खेतीको क्षेत्र बढेको तर उत्पादकत्व घट पनि किसानले पाउने मूल्य राम्रो रहेको जनाए।

अहिले अलैँची निकासी गर्न पनि कुनै समस्या नभएको उनको भनाइ छ। ‘अहिले भारत र तेस्रो मुलुकसम्म यहाँको अलैँची गइरहेको छ,’ उनले भने, ‘विगतमा देखिने गरेका अनेक झन्झट पनि अहिले चाहिँ छैनन् ।’

बिब्ल्याँटे बजार जिल्लाको अलैँची व्यापार हुने मुख्य बजार हो । मंगलबारे, फिक्कल, मानेभञ्ज्याङ लगायत बजारबाट पनि अलैँची निकासी हुन्छ। इलाममा मात्रै बर्सेनि तीन अर्बभन्दा बढीको अलैँची कारोबार हुने व्यापारीको अनुमान छ । तर, यकिन तथ्याङ्क भेटिँदैन।

दशकअघि फलको भाउ उच्च हुँदा किसानले अरू सबैजसो बाली मासेर अलैँची लगाएका थिए। पुरानो अलैँची मासिए पनि नयाँ जातका अलैँची लगाएर किसानले बारी ढकाए। तर, भाउ घट्यो भने अलैँचीसमेत मासिँदैगय । तर, फेरि भाउ उच्च भएपछि किसान अलैँची खेतीमा जाँगर चलाउँदछन्।

माइमझुवाका किसान गिरिराज खनालले अहिले ४५ रोपनीमा अलैँची खेती गरेका छन्। उनले आफ्नो बगानमा गत वर्षभन्दा दोब्बर अलैँची अहिले फलेको बताए।अलैँचीको भाउले आफूजस्ता युवालाई गाउँमै केही गर्न सकिन्छ भन्ने आशा जगाएको उनी बताउँछन् । ‘अलैँचीको भाउ अहिले निकै राम्रो छ,’ उनले भने, ‘यस्तै भाउ कायम रह्यो भने धेरै युवाले गाउँघरै बसेर उद्यम गर्छन्, हामी उत्साही छौँ।’ 

करिब १० वर्ष वैदेशिक रोजगारीमा बसेर फर्केपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा खनाल सन्दकपुर गाउँपालिका २ को वडाध्यक्षसमेत भएका थिए। उनी केही साता अघिसम्म एक राजनीतिक दलको पालिका अध्यक्षसमेत भए। तर, खेती–किसानीमा अरू युवालाई पनि प्रोत्साहन गर्न आफू लागिपरेको खनाल बताउँछन्। 

‘अहिलेको अलैँची पहिलाको जस्तो एक चोटि रोपेपछि दशकौँ आम्दानी दिइरहने खालको छैन,’ उनले भने, ‘केही वर्षमा बोट परिवर्तन गर्दै नयाँ बिरुवा लगाइरहनुपर्छ।’ खनालले अलैँची बिरुवा इलाम मात्र नभई पूर्वी पहाडका विभिन्न जिल्लामा समेत विक्री गरेका छन्। उनले अलैँची सुकाउने आधुनिक भट्टीसमेत सञ्चालन गरे। नियमित रूपमा दुई जना र सिजनमा केही साता करिब पाँच सय जनालाई आफूले रोजगारीसमेत दिइरहेको खनालले सुनाए । 

एक पटक रोपेपछि दशकौँसम्म फलिरहने स्थानीय जातको अलैँचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको थियो। तर, रोग–कीरा सङ्क्रमणले ९० प्रतिशतभन्दा बढी अलैँची सखाप भएपछि किसानको बगान करिब आधा दशक उजाड नै रहे। किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैँची लगाए।

जिल्लाको जिर्मले गाउँमा पहिलो पटक रोपिएको नयाँ अलैँचीले इलाम मात्र होइन, अन्य जिल्लासमेत पिट्यो। किसानले मकै बारी, तरकारी बारी सबै मासेर अलैँची लगाए। जिर्मलेमा यसको बिरुवा बढी पाइने भएकाले यसको नाम नै ‘जिर्मले’ राखियो। तर, जिर्मलेमा अलि बढी समय टिकिरहेको यही अलैँची अन्य स्थानमा चाहिँ भरपर्दो हुन सकेको छै। 

सुरुमा अलैँची फस्टाएपछि किसानले अलैँची सहकारी नै गठन गरेका थिए। सहकारी गठन गरेपछि उनीहरूले विभिन्न निकायबाट प्राविधिक सहयोगसमेत लिएका थिए। माइमझुवा गाउँमा २०६८असोजमा नेपालमै पहिलो पटक अलैँची सहकारी गठन भएको थियो। सहकारीले किसानका लागि नयाँ जातका अलैँची बिरुवा वितरण पनि ग¥यो।अलैँची खेतीको प्राविधिक पक्ष हेरिरहेको फिक्कलस्थित अलैँची विकास केन्द्रका अनुसार हावापानी र उचाइ नमिलेकाले नयाँ जातको अलैँची मासिएको जनाएको छ। 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुन्छ। चालु वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो। आव २०८०/०८१ यो अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची यहाँबाट निर्यात भएको भन्सारको तथ्याङ्क छ। 

अलैँची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ। नेपाल सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश हो। कुल उत्पादनको ९४ प्रतिशत पूर्वी पहाडका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर)मा हुन्छ।

प्रकाशित: २२ कार्तिक २०८१ २०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App