२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

मनसुनी विपद्का सबै दाबी तिहारअघि भुक्तानी गरिसक्छौं: दीपप्रकाश पाण्डे

दीपप्रकाश पाण्डे, कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स। तस्बिर: नागरिक

दुई साताअघिको मनसुनी विपदले देशैभर ठुलो धनजनको क्षति पुर्‍यायो। अहिले सरकार पीडितहरूको पुनर्स्थापना र राहत वितरणका लागि काम गरिरहेको छ। यसै क्रममा शिखर इन्स्युरेन्स कम्पनीले पनि पीडितहरूले पाउने बिमा रकमबारे काम गरिरहेको छ। के कसरी काम भइरहेको छ त? शिखर इन्स्युरेन्सका कार्यकारी अधिकृत सिइओ दीपप्रकाश पाण्डेसँग नागरिककर्मी तेजेन्द्र काफ्लेले गरेको कुराकानीको सम्पादित अंश:

बाढी र पहिरोको क्षतिका सन्दर्भमा शिखर इन्स्युरेन्सले कसरी काम गरिरहेको छ?

बाढी आइसकेपछि क्षति हुनु नौलो कुरा हैन। तर काठमाडौं क्षेत्रमा आएको बाढी असोचनीय थियो, दुई दिनको पानीले भएको क्षतिले पहिलो दिनको बाढीको क्षति सामान्यजस्तो भए पनि दोस्रो, तेस्रो र चौथो दिनपछिको क्षति निकै बढी भयो।

मानिसहरूले बाढीबाट त्यती क्षति हुन्छ भनेर सोचेकै थिएनन्। चाडबाडको मुखैमा आएको भएर पनि बाढीले क्षति धेरै गर्‍यो। यस्तो अवस्थामा खाद्यान्न, लत्ता कपडाहरूमा सोचेभन्दा धेरै क्षतिको विवरण आएको छ।

यस्तै यसपालि नयाँ देखिएको भनेका गाडी भएको क्षति हो। काठमाडौं वरिपरि गाईवस्तु मरेका छन्, घरहरू भत्केका छन्, यस्तै हाउजिङ डुबेका छन्। यी क्षतिको प्रकृति हेर्दा मान्छेको बिमाप्रतिको सचेतता कम भएको देखिन्छ। सरकारले आफ्नो सम्पत्तिको पनि बिमा नगरेको अवस्था छ। त्यसैले जनाताले गरेन भन्ने ठाउँ पनि रहेन।

बिमालाई बलियो बनाउने भन्ने कुरामा सरकारको भूमिका बलियो हुनुपर्छ। कुनै पनि सरकारी सम्पत्ति सुरक्षित छैन। आजको दिनमा सरकारलाई ५० अर्बजतिको क्षति भएको अवस्था छ।

हाम्रो क्षेत्रमा बिमाप्रतिको बेवास्ताले गर्दा धेरै क्षति भइरहेको छ। अहिले पनि समग्रमा क्षतिको विवरण हेर्ने हो भने यति धेरै आउँछ भन्ने कसैले कल्पना गरेको थिएन। पहिलो चार दिनसम्म मेरो क्षति २८ करोडको थियो। छैटौं र सातौं दिनपछि आएर मेरो क्षति झण्डै ९० करोडाको आइसकेको छ। यो भनेको मेरो मार्केट सेयर १० प्रतिशत हो। भूकम्पपछिको दोस्रो ठुलो क्षति हो यो।

तर पनि यसलाई एउटा अवसरका रूपमा लिनुपर्छ। यस अर्थमा कि मानिसलाई बिमाको महत्वबारे बुझाउन मौका छ। मान्छेले राहत पाउने मौका छ। र यसले कुनै सम्भावित क्षति कम गर्न बिमाले राहत दिन्छ भन्ने सचेतता बढ्छ।

इन्स्युरेन्सलाई खर्च हो भन्ने मानसिकता छ। सायद त्यसमा हाम्रो पनि कमजोरी छ। हामीले मानिसलाई बुझाउन सकेका छैनौं। भूकम्पमा हामीले मौका पाएका थियौं र गर्‍यौं पनि।

बढीका सन्दर्भमा पहिलो र दोस्रो दिन सामान्य हो भनेर त्यति सक्रिय नै भएनौं। सामान्य सर्वेमा पठायौं। तेस्रो दिनदेखि भने यो निकै गम्भीर रहेछ भनेर महसुस गर्‍यौं। बिमा प्राधिकरणले पनि हामीलाई बोलाएर छलफल गर्‍यो। त्यसपछि हामी शिखर इन्स्युरेन्सले दाबी तिर्नुपर्छ भन्यौं, जुन बिमामा मार्गदशर्न नै हो।

हामीसँग अहिले ३८१ वटा बिमाको ९० करोडको दाबी आएको छ। त्यसमा आजसम्म हामीले ७० वटा बिमा दाबी तिरिसकेका छौं। दसैं अघिसम्म १२५ जति बिमा दाबी तिरिसक्छौं। तिहारअघिसम्म हाम्रो सबै बिमा दाबी सकाउँछौं।

एउटा केसको बिमा दाबी तपाईंको कम्पनीबाट व्यवस्थापन गर्न कति समय लाग्छ?

हामीले ससाना केस त दुईचार घन्टामै पनि गरेका छौं। कुनै समय पनि लाग्न सक्छ। जस्तै-सेयरको कुरामा कसैको पाँच कसैको १० करोडको कुरामा अलि समय लाग्न सक्छ। यस्तो सवालमा ग्राहकलाई तत्कालै राहत होस् भनेर ३०/४० प्रतिशत गर्दिने र विस्तारै कागजात मिलेपछि बाँकी भुक्तान गर्दिन्छौं। केस हेरीहेरी तिरेका छौं ताकि उनीहरूको व्यापार पनि बन्द नहोस् र मर्का पनि नपरोस्। हामीले सकेसम्म ग्राहकलाई मर्का नहोस् भन्ने हेतुले काम गर्छौं।

पीडितहरूले बिमा दाबी गर्न कम्पनीको अफिससम्मै आउनुपर्छ कि कम्पनीको कुनै समूह परिचालन गर्नुभएको छ?

कोही आत्तिएर अफिसमा पनि आउनुभएको छ। नत्र हामी त घरघरमै गइरहेका छौं। हामीले यस विपत्तिलाई बिमाप्रति सकारात्मक बनाउने मौका पनि हो। मौकासँगै प्रचारप्रसार पनि।

मनसुनी विपत्तमा इन्स्युरेन्स कम्पनीको भूमिका कस्तो हुनुपर्छ?

कुनै नयाँ टाउन प्लानिङमा बनाउँदै गर्दा नगरपालिकासँग समन्वय गरेर ढल र पानीको निकासा राम्ररी गर्नुपर्छ। बागमतीमा बालुवा बढेको छ। त्यस्तो काममा सरकारको चासो हुनुपर्ने हो। खोलाको स्तर हेर्दा बाढी आएको दुई दिनपछि पनि बालुवा देखिन्छ। त्यो भनेको खोलालाई राम्ररी व्यवस्थापन नगरेको हो।

इन्स्युरेन्स कम्पनीले प्रि–मनसुनको तयारी गर्नुपर्छ। सचेतना हुनुपर्छ। एयरलाइन्सले आफ्ना पाइलटलाई प्रि-मनसुन ब्रिफिङ गर्छ भने हाम्रो कम्पनीले पनि अरू निकायसँग समन्वय गरेर मनसुन सिजनमा बाढीको क्षतिबारे जानकारी गराउनुपर्छ।

शिखर इन्स्युरेन्सबाट ग्राहकले सन्तुष्ट हुनुपर्ने आधार केके छन्?

सबै क्षति परिपूर्ति त कसैले गर्न सकिँदैन। बिमा औपचारिकता हैन, आवश्यकता हो। पूर्ण बिमा गरेको खण्डमा कम्पनीले त्यसको भुक्तानी गर्न सधैं तत्पर छ। 

प्रकाशित: २४ आश्विन २०८१ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App