१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउँछ: उद्योग मन्त्री भण्डारी

फाइल तस्बिर

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले मुलुकभित्रै इथानोल उत्पादनको वातावरण बनाउने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमवार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत् बहस’ कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो कुरा बताएका हुन  । 

उनले इथानोल उत्पादनको लागि विदेशी लगानीमा समेत इथानोल उत्पादन गर्ने धेरै प्रस्तावहरू आएको भन्दै कसरी उत्पादन गर्ने विषयमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा निचोड निकाल्ने उल्लेख गए । उनले चिनी उत्पादक संघबाट मात्रै सम्भव छ वा अन्यबाट पनि गर्न सकिन्छ त्यसको अध्ययन गर्ने जानकारी दिए । 

मन्त्री भण्डारीले इथानोल मिश्रण सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै प्रतिकुल वातावरणमा पनि अगाडि बढाउन तयार रहेको बताए। उनले नेपाललाई वार्षिक ३ लाख मेट्रिक टन  चिनी आवश्यक रहेको भन्दै त्यसमा १ लाख ८० हजार मेट्रिक टन आयात भइरहेको बताए । उनले १ लाख ८० हजार मेट्रिक टन आयात हुँदा पनि बजारमा अभाव रहेको भन्दै इथानोलमा पनि यही नियति नेपाल आयल निगमले भोग्नुपर्ने अवस्था देखिएको बताए। मन्त्री भण्डारीले आयात गरेर इथानोल बनाउँदा उपभोक्तामा जाँदा सहज मूल्य हुनुपर्ने बताए । 

उनले १० हजार मेट्रिक टन इथानोल नबनाउँदा समस्या आइरहेको भन्दै करिब १ अर्बको आसपासमा आयात भइरहेको बताए । उनले आयातलाई २० प्रतिशत कम गरी आयात प्रतिस्थापन हुने बताए । उनले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको बताए ।

उनले आगामी एक महिनाभित्र मूल्य निर्धारण लगायतका काम टुङ्ग्याउने प्रतिवद्धता जनाए । उनले इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेको भन्दै सरकारले आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत  बताए । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गरे ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले  इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना हुने बताए । उनले इथानोल उत्पादनले मुलुकको कृषि क्षेत्रमा फाइदा हुने बताए। उनले मुलुकमा जलविद्युत उत्पादनको ठुलो सम्भावना भए पनि तत्काल आवश्यकता अनुसार उत्पादन गर्न नसक्ने भन्दै वातावरणमा पनि राम्रो हुने बताए। उनले १० प्रतिशतसम्म इथानोल प्रयोग गर्दा सवारी साधनको इन्जिन पनि परिवर्तन गर्न नपर्ने अवस्था रहेको बताए ।

नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत डा चण्डिकाप्रसाद भट्टले इथानोल उत्पादन र प्रयोग हुँदा इन्धनको खपत घट्ने बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए । उनले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताउँदै पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बने पनि विविध कारणले विलम्ब हुन गएको बताए। उनले यसलाई कार्यान्वयनमा लैजाने पहल भइरहेको र केही महिनामै उत्पादन सुरु हुने पनि बताए।

उनले इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि पनि बनाउनुपर्ने भएकाले उद्योग विभागले कार्यविधिका लागि स्वीकृति दिइसकेको बताए । उनले इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्ने बताए । इथानोल उत्पादनमा धेरै उद्योगहरू तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने बताउँदै उनले वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उल्लेख गए  । 

प्रकाशित: २४ भाद्र २०८१ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App