३१ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रः मुख्य सिजनको बुकिङ कमजोर

सेप्टेम्बर मध्यदेखि पर्यटकीय सिजन सुरु हुन्छ। यो सिजन नोभेम्बरसम्म चल्छ। व्यावसायीले यसलाई पर्यटकीय हिसाबले दोश्रो महत्वपूर्ण सिजनको रुपमा मान्छन्। पदयात्रा र हिमाल आरोहणका लागि उपयुक्त हुने भएकोले यो बेला विदेशी पाहुना नेपाल आउन चाहन्छन्। घुमघामका लागि मौसम अनुकुल हुने भएकोले पनि विदेशीको नेपाल आउने चाहना हुन्छ।  

नोभेम्बरसम्म पाहुना आगमन बढ्ने भएपनि डिसेम्बर र जनवरीमा पर्यटन क्षेत्र फेरि केही सुस्ताउँछ। अनि फेब्रुअरीपछि पुन उकालो लाग्न थाल्छ। फेब्रुअरीमा उकालो लागेको पर्यटन क्षेत्र अप्रिलसम्म कायम रहन्छ। तर, यो पटक पर्यटन क्षेत्रमा सिजनका लागि आउने पाहुनाको उत्तिसारो बुकिङ छैन।  

पर्यटन व्यावसायी भन्छन्, ‘मुख्य सिजन हौसाउने खालको बुकिङ यो वर्ष आउनै सकेको छैन। बुकिङ आउन ढिला भईसक्यो। यसले व्यावसायीलाई निराश बनाएको छ।’ व्यावसायीका अनुसार यतिबेला त पोखराको पर्यटन क्षेत्र निकै नै कम आकारको पाहुनामा अडिएको छ।  

‘अब त पाहुना आगमन उकालो लाग्ने बेला भएको हो। तर, आगमन बढ्न सकेको छैन, बढ्ने संकेत पनि देखिन्न। सिजनको बुकिङ उत्साहजनक हुनै सकेको छैन,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘सिजनको बुकिङ अहिले आएको भन्दा निकै नै माथि हुनुपर्ने हो। त्यो हुन सकेको छैन।’  

उनका अनुसार कोरोना अघिको अवस्थामा यतिबेला सेप्टेबरको ४० र अक्टोबर–नोभेम्बरको अग्रिम बुकिङ ६० प्रतिशत हाराहारीमा पुुगिसकेको हुन्थ्यो। त्यो बेलासम्म बुकिङ बढ्दै जाने र ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ सहित गर्दा ९० प्रतिशतको अकुपेन्सीमा पर्यटन क्षेत्र चल्दथ्यो। तर, योपटक अक्टोबर–नोभेम्बरको अग्रिम बुकिङ २५ प्रतिशत हाराहारीमा रहेको उनको अनुमान छ।  

‘अहिले वर्षकै कमजोर अवस्थामा पर्यटन क्षेत्र चलिरहेको छ । आगामि सिजन पनि उत्साहप्रद देखिन्न,’ उनले भने। पराजुलीका अनुसार मध्यम र साना आकारका होटलको सिजनको बुकिङ झनै कमजोर छ। ‘यो बेलासम्म सिजनको बुकिङ ६० प्रतिशत हाराहारीमा रहेको भए आशावादी हुन्थ्यौ। तर, त्यो अवस्था रहेन,’ उनले भने, ‘त्यही बेला आन्तरिक पाहुना आएछन् भने त पर्यटन क्षेत्रले केही राहत पाउला, नत्र भने सिजन धान्न सहज छैन।’

पर्यटक भित्रिने मुख्य सिजनको सुरुवाती अवस्था कमजोर रहेकोले पर्यटन क्षेत्रले खर्च धान्न सक्ने अवस्था पनि नरहेको उनले बताए। ‘समग्र खर्च धान्ने अवस्था छैन। यस्तो डरलाग्दो परिस्थिति अहिले निम्तिएको छ,’ उनले भने। उनका अनुमानमा यो वर्ष सिजनको बुकिङ कमजोर हुनुमा केही मुख्य कारण छन। ती हुन–अघिल्ला महिना भएका हवाई र स्थलमार्गका ठुला दुर्घटना। जहाँ ठूलो मानवीय क्षति भयो। हवाई र स्थलमार्गमा भएका घटनाका कारण पर्यटकहरु नेपाल आउन डराएको पराजुलीको अनुमान छ। ‘नेपालको यात्राप्रति अन्तर्राष्ट्रिस्तरमा गलत सन्देश प्रवाह भएको छ,’ उनले भने, ‘यसले पाहुना आगमनमा प्रभाव पारेको छ।’

त्यस्तै सिजनमा आगमन प्रभावित हुनेगरि आगामि पर्यटकीय सिजनकै बीचमा पर्ने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घन्टा बन्द हुँदैछ। विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सम्म करिब पाँचमहिना दिनमा १० घण्टा बन्द हुँदैछ। राती १० देखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान र अवतरण बन्द गरेर त्यो समयमा पूर्वाधार थप गरिँदैछ। विमानस्थल बन्द हुँदा त्यसले हवाई उडानमा असर पार्ने र पर्यटक आउन नसक्ने उनले बताए।  

‘यात्रामा त्रास रहिरहँदा विमानस्थल बन्द हुँदाको समस्याले गर्दा पनि अहिले केही विदेशी पाहुनाले सिजनको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन,’ उनले भने, ‘सिजनको बेलाको विमानस्थल सुधारको कामले पर्यटन क्षेत्र प्रभावित हुने पक्का छ। पर्यटक भित्रिने त्यो समयलाई पूर्नविचार गर्न सकेमा पर्यटक क्षेत्रलाई केही राहत हुन्थ्यो।’ पर्यटक भित्रिने समयमै यात्रामै असर हुनेगरि विमानस्थल बन्द हुँदा त्यसले आन्तरिक र बाह्य सबैखाले पर्यटनलाई प्रभावित पार्ने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोम थापा सिजनको आगमनलाई प्रभावित पार्ने गरि नेपालमा घटनाक्रम हुँदा पाहुना आगमन कमजोर हुने अनुमान गर्छन। त्यसबाहेक नेपालसम्मको आउजाउ नै महंगो भएकोले पनि पाहुना आगमन बढ्न सकेको छैन। 

‘हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्दा हवाई टिकट महंगो परेको छ। नेपाल वायुसेवा निगमले पर्यटक भित्रिने मूख्य श्रोत मूलूकमा उडान गर्न सकेन। त्यसले गर्दा अरु हवाई कम्पनिले आफु अनुकुल भाडा तोकेका छन,’ उनले भने, ‘नेपाल आफैमा महंगो गन्तव्य बन्न गएकोले पनि पाहुना आगमन प्रभावित भएको हो।’

पछिल्लो समय हवाई उडान सुरक्षित नभएको गुनासो सर्बत्र फैलिँदा पनि त्यसले अप्ठेरो पारेको उनले बताए। ‘हवाई दुर्घटना पनि भए त्यसबाहेक सडकमा पनि घटना घटे। आगामि सिजनलाई अहिलेको घटनाक्रमले निम्त्याएको नकारात्मक सन्देशले प्रभावित पारेको छ,’ उनले भने, ‘त्यसैले आगामि सिजनसँग उत्तिसारो आशावादी हुने ठाउँ छैन।’  

थापाका अनुसार केही वर्ष अघिसम्म कतिपय विदेशी विश्वविद्यालयले अध्ययनका लागि त्यहाँका विद्यार्थीलाई नेपाल पठाउँथे। तर, अहिले ती विदेशी विद्यार्थी आउन छाडेका छन्। यसको कारण नै हवाई र सडक सुरक्षाले निम्त्याएको अवस्था हो। ‘मुख्य सिजन सुरु हुँदै गर्दा अहिले नै सबै राम्रो छ भन्न सकिन्न। किनकी अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छैन। यसले गर्दा पनि पाहुना आगमन प्रभावित हुने देखिन्छ,’ उनले भने, ‘सिजन भनेर ढुक्क हुने अवस्था छैन।’

प्रकाशित: २२ भाद्र २०८१ १६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App