१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लय गुमाउँदै विदेशी पर्यटक आगमन

जुलाई पछि आगमनमा ब्रेक लागेको छः बोर्ड

गत जनवरीमा नेपालमा सबैगरि ७९ हजार १ सय जना विदेशी पर्यटक भित्रिए। त्यो संख्या सन् २०२३ जनवरी भन्दा ४४ प्रतिशत बढी थियो। त्यस्तै वृद्धि फेब्रअरीमा पनि थियो। गत फेब्रुअरीमा नेपालमा ९७ हजार ४ सय २६ जना विदेशी भित्रिदाँ २०२३ को त्यही महिनाको तुलनामा ३३ प्रतिशत बढि थियो।  

त्यस्तै मार्च महिनामा पनि २०२३ को तुलनामा ३० प्रतिशत बढेर १ लाख २८ हजार १ सय ६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। अप्रिलको आगमन पनि २०२३ को तुलनामा २०२४ मा झन्डै १३ प्रतिशत बढेर १ लाख ११ हजार ३ सय ७६ जना भित्रिएका थिए। त्यो आगमन मे महिनासम्म १६ प्रतिशतको वृद्धिदर थियो। २०२४ को मे महिनामा ९० हजार २ सय ११ जना विदेशी भित्रिँदा २०२३ को त्यही महिनाको तुलनामा १६ प्रतिशत बढी थियो।  

गत जुन महिनामा भने त्यो अन्तर केही कम भएको थियो। २०२४ को जुन महिनामा नेपालमा ७६ हजार ७ सय ३६ जना विदेशी भित्रिँदा २०२३ को जुन महिनाको तुलनामा ६ प्रतिशत मात्र बढी थियो। जुलाईको आगमनको अन्तर पनि जम्मा १२ प्रतिशत बढेर २०२३ को तुलनामा २०२४ मा नेपालमा ६४ हजार ५ सय ९९ जना विदेशी पर्यटक भित्रिएका थिए। अगष्ट महिनामा त्यो अन्तर जम्मा ८ प्रतिशतमा झरेको छ। अगष्ट महिनामा नेपालमा ७२ हजार ७ सय १९ जना विदेशी भित्रिँदा २०२३ को भन्दा जम्मा ८ प्रतिशत बढी थियो।  

योवर्षको सुरुवाती समयमा विदेशी पर्यटक आगमनमा उत्साहजनक वृद्धि थियो। २०२३ को तुलनामा २०२४ को जनवरीमा ४४ प्रतिशत बढेको विदेशी पर्यटकको आगमन पछिल्लो महिना अगष्टसम्म आउँदा त्यो अन्तर घटेर ८ प्रतिशतमा झरेको छ। यो गिरावट एकै महिनाको नभई आठमहिनासम्मको अन्तर हो। तर, यसले विदेशी पर्यटक आगमनमा सुरुवाती वृद्धिको लय पछ्याउन नसकेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्।  

‘हामीले अपेक्षा गरे अनुसार अघिल्लो वर्ष भन्दा यो वर्षको वृद्धिदर सुरुवाती चरणमा धेरै नै थियो। २०२३ को तुलनामा २०२४ को पहिलो महिनाको वृद्धि दर ४४ प्रतिशत बढी थियो। तर, त्यो अन्तर अहिले घटेर ८ प्रतिशतमा झरेको छ,’ लामिछाने भन्छन, ‘गत मे महिनासम्म पर्यटक आगमनको वृद्धिदर केही थामिएको थियो। सुरुवाती चरणको जस्तो नभएपनि गति सुस्त थियो । तर, अहिले ओरालो लाग्ने क्रम एकाएक बढेको छ।’

जुलाई पछिको विदेशी पर्यटक आगमनमा केही सुस्त खालको ब्रेक लागेको अनुमान निर्देशक लामिछानेको छ। ‘यसो हुनुमा नेपालमा भएका केही घटनाक्रमले हो भन्ने बोर्डको अनुमान छ,’ उनले भने, ‘पछिल्लो दुइ महिनामा नेपालमा हवाई र स्थलमार्गमा ठुला दुर्घटना हुँदा त्यसको सिधा मार पर्यटनले खेपेको हो।’ आगमनमा सिजन अनुसार केही कम हुनु स्वभाविक भएपनि यो आकारको गिरावट हुनुमा सिजनको प्रभाव मात्र नभई नेपालमा भएका घटनाक्रमले पनि प्रभावित पारेको उनले बताए।  

‘हवाईजहाज र हेलिकप्टर दुर्घटनासँगै स्थलमार्गमा पनि ठूला घटना भए। मुख्य राजमार्गमा यात्रुबाहक बस पहिरोमा परेर बेपत्ता भए भने हालैको भारतीय बस दुर्घटनाले पनि पर्यटक आगमनमा असर पारेको छ,’ उनले भने, ‘घटना हुनुअघिको जस्तो पर्यटनको लय अहिले एकाएक भत्किएको छ। हवाई र स्थलमार्ग पर्यटनमा महत्वपूर्ण हुन्छ । तर ठूलो क्षति हुने गरि भएका दुर्घटनाबाट पर्यटक तर्सिएका छन।’  

लामिछानेका अनुसार सन् २०२४ को सुरुवाती केही महिनामा त सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको वर्ष (२०१९) को सुरुवाती चरणमा भन्दा पनि बढी विदेशी भित्रिएका थिए। २०१९ को जनवरी र फेब्रुअरीको तुलनामा २०२४ का ती महिनामा आगमनमा थोरै मात्र कम भएपनि मार्च, अप्रिल, मे र जुन महिनाको आगमन २०१९ को भन्दा बढी थियो। तर, जुलाई र अगष्टको आगमनमा भारी गिरावट रहेको उनले बताए।  

‘जुलाई लागेपछि नेपालको पर्यटनमा समस्या थपिएको हो। यो क्रम अहिले पनि जारी छ। आगामि महिनामा पनि पर्यटक आगमान उत्तिसारो उत्साह आउने अवस्था देखिन्न,’ उनले भने, ‘नेपालमा हवाई र स्थलमार्ग कुनैपनि सुरक्षित छैन भन्ने सन्देश प्रवाह भएको छ। यसले पर्यटक आउन तर्सेका छन्।’

लामिछानेका अनुसार पर्यटक आगमन घट्नुको अर्काे प्रमाण भनेको भारतीय पाहुनाको आगमनमा समेत गिरावट आउन थालेको छ। सन् २०२३ को तुलनामा २०२४ को पछिल्लो महिनामा भारतीय पर्यटक आगमन समेत घटेको तथ्यांकले देखाएको छ। भारतीय पर्यटक आगमनमा सन् २०२३ को जनवरीको तुलनामा २०२४को जनवरीमा झन्डै ४७ प्रतिशत बढि थियो। तर, त्यो आगमन अहिले निकै नै घटेको उनले सुनाए।  

‘२०२३ को अगष्टको तुलनामा २०२४ को त्यही महिनामा भारतीय पाहुना आगमन ३ प्रतिशतले गिरावट आएको छ,’ उनले भने, ‘तर, सुरुवाती महिनामा यो आगमनको वृद्धिदर झन्डै ४७ प्रतिशत बढी थियो।’ उनले जुन महिनादेखि नै भारतीय पाहुना आगमन हरेक महिनाजसो खस्केको बताए। ‘स्थलमार्गमा भएका घटनाले सबैभन्दा बढी प्रभावित भारतीय पर्यटक क्षेत्र बनेको छ,’ उनले भने।  

लामिछानेका अनुसार भारतीय मात्र नभई अमेरिकी र बेलायती पाहुनाको आगमन पनि पछिल्लो समय खस्केको छ। २०२४ को आठमहिनामा अवधिमा नेपाल आउने विदेशी मध्ये पहिलो नम्बरमा भारतीय पर्यटक छन। तर, चिनियाँ र अमेरिकी पर्यटकको संख्यामा भने उतारचढाव छ। गत अप्रिलदेखि जुलाईसम्मको अवधिमा अमेरिकी पर्यटकको आगमन संख्यात्मक हिसाबले दोश्रो नम्बरमा थियो। तर, अगष्टमा आएर त्यो आगमन पनि खस्केर अमेरिकीको संख्या तेश्रोमा पुगेको छ। त्यसैगरि बेलायती पाहुनाको आगमन पनि संख्यात्मक रुपमा अझै पछाडि धकेलिएको छ। ‘तेश्रो मुलुकका विदेशी पर्यटकले हवाई र स्थलमार्गको सुरक्षाप्रति बढी नै संवेदनशील हुन्छन,’ उनले भने।  

आठ महिनामा ७ लाख २० हजार विदेशी पर्यटक  

सन् २०२४ को आठमहिना (जनवरी–अगष्ट)को अवधिमा नेपालमा ७ लाख २० हजार ३ सय ३४ जना विदेशी पर्यटक भित्रिएका छन। नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो। जुलाईको आगमन ६४ हजार ५ सय ९९ हुँदा अगष्टको आगमन भने ७२ हजार ७ सय १९ रहेको थियो। सरकारले यो आर्थिक वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

प्रकाशित: १८ भाद्र २०८१ १७:३३ मंगलबार

विदेशी पर्यटक आगमन