प्रधानमन्त्री सुशिला कार्कीले मुलुकमा व्याप्त भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताकै कारण जेन-जी विद्रोह भएको बताएकी छन्।
सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवाहरूको आन्दोलन राज्यका कमी-कमजोरी देखाउने ऐना भएको टिप्पणी गरिन्।
उनले भनिन्, ‘यो विद्रोह यस्तो ऐना हो, जसमा हामीले हाम्रा आफ्नै शासकीय त्रुटिहरू र आचरणगत कमजोरीहरू देखिरहेका छौं।’
संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यतामा राज्य संयन्त्र खरो उत्रन नसक्दा र नागरिकका आकाङ्क्षालाई बेवास्ता गर्दा भदौ २३ र २४ गतेको आन्दोलन जन्मिएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले भ्रष्टाचार न्यूनीकरणलाई मुख्य प्राथमिकतामा राखेको दाबी गरिन्। उनले प्रविधिमा आधारित ‘सुशासनको मार्गचित्र’ तयारीको काम अन्तिम चरणमा पुगेको संसदलाई जानकारी गराइन्।
‘सदाचार नीतिसम्बन्धी दस्तावेज भविष्यमा भ्रष्टाचारशून्य नेपाल बनाउने महत्त्वपूर्ण आधार बन्नेछ,’ प्रधानमन्त्रीले भनिन्, ‘हामीले अनावश्यक सुविधा लिएका छैनौं, मितव्ययितालाई कडाइका साथ पालना गरेका छौं।’ उनले सार्वजनिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिइएको र कुनै पनि अवाञ्छित दबाब सिर्जना नगरिएको स्पष्ट पारिन्।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारीबारे पनि जानकारी दिइन्।
आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएकाले निर्धक्क भएर निर्वाचनमा होमिन उनले सबैलाई आग्रह गरिन्।
‘एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा आइसकेको छ,’ उनले थपिन्, ‘यो निर्वाचन केवल प्रक्रिया मात्र होइन, नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ।’
प्रधानमन्त्री कार्कीले आफ्नो छोटो कार्यकालमा भत्किएका संस्थाहरूलाई जोड्ने र नयाँ आशाको बिउ रोप्ने काम गरेको जिकिर समेत गरिन्।
प्रकाशित: १९ माघ २०८२ १५:३७ सोमबार





