संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताएका छन्।
पर्यटन मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका मन्त्री पाण्डेले शनिबार एक कार्यक्रमकाबीच लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताए। त्यसका लागि लुम्बिनी विकास कोषसँगै स्थानीय समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरुकाबीच एकता आवश्यक रहेको उनले बताए।
मन्त्री पाण्डेले सांस्कृतिक दृष्टिले उत्कृष्ट स्थल लुम्बिनी र प्राकृतिक दृष्टिकोणबाट उत्कृष्ट रहेको सर्वोच्च शिखर सगरमाथालाई जोडेर पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिने पनि बताए। ‘लुम्बिनी संस्कृतिको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो, मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ’ मन्त्री पाण्डेयले भने।
मन्त्री पाण्डेले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको अवलोकन पश्चात सो कुरा बताए। भ्रमणका क्रममा मन्त्री पाण्डेले पुरातात्विक महत्व, धार्मिक पक्ष तथा सम्पदा संरक्षका विषयमा पनि चासो राखेका थिए।
उक्त अवसरमा उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका काम लगायतका विषयमा जानकारी गराए। कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बुद्ध जन्मस्थलका पुरातात्विक महत्व, लुम्बिनी गुरुयोजना लगायतका विषयमा जानकारी दिए।
लुम्बिनी विकास कोषको परिषद बैठकमा नीति कार्यक्रम र बजेट पेश
लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेश भएको छ।
शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं पर्यटन मन्त्री पाण्डेको अध्यक्षतामा बसेको परिषद बैठकमा कार्यक्रम र बजेट पेश गरिएको हो।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरीक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेश गरेका हुन्।
बैठकमा सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गरे।
परिषदमा पेश भएका नीति कार्यक्रम र बजेटमाथि छलफल गरी लुम्बिनीको विकासलाइ स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ।
कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना अर्को परिषद बैठक मार्फत पारित गर्ने बताए।
बैठकमा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको भएपनि आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरु गर्न नसकिएको बताए।
प्रकाशित: १६ भाद्र २०८१ ०७:११ आइतबार