२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूधमा छलः कपिलबस्तुबाट ल्याएर ‘लोकल’ भन्दै बेच्दै

पोखराका केहि डेरी पसलले पोखरा बाहिरको दूध ल्याएर लोकल भन्दै बेच्ने गरेको पाइएको छ। पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलले बाहिरबाट ल्याएको दूधलाई लोकल भनेर बेच्ने गरेको पोखरा महानगरपालिकाले शुक्रबार गरेको अनुगमनको क्रममा भेटिएको हो।

दुग्ध किसान तथा उपभोक्ताहरुले पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलहरुले लोकल भनेर पोखरा बाहिरको दूध बेच्ने गरेको भन्दै गुनासो गर्दै आएका थिए। जसले गर्दा स्थानिय व्यवसायी मारमा पर्नुका साथै पोखरेली उपभोक्ता ठगिदै आएका थिए।  

उपभोक्ता र स्थानिय व्यवसायीको गुनासो आएपछि पोखरा महानगरले शुक्रबार महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका डेरी पसल तथा उद्योगमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कसैले अनुमति नलिई सञ्चालन गरेको, कसैले बाहिरको दूधलाई लोकल भन्दै बेचेको त कसैले उत्पादन मिति र म्याद गुज्रिने मिति नराखी दुग्धजन्य पदार्थ बेच्ने गरेको पाइएको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिईन्।  

‘पोखरामा सेतो दूधमा कालो धन्दा हुने गरेको गुुनासो आएपछि अनुगमन गरिएको हो,’ उनले भनिन्, ‘नभन्दै केहि डेरी पसलहरुले बदमासी गरेको पाइयो।’ उनका अनुसार पोखरा–१० स्थित ग्लोबल डेरी प्रालिले कपिलबस्तुको दूध पोखरामा ल्याएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। व्यावसायीले सस्तोमा दूध ल्याएर लोकल भन्दै महङ्गोमा बेच्ने गरेको पाइएको उनको भनाई छ।ग्लोबलले डेरी पसलमा प्रति लिटर १०७ रुपैयाँमा दिने गरेको र ती डेरी पसलले १४० रुपैयाँमा बेच्ने गरेको पाइएको छ।  

आफूहरुले दैनिक ४ हजार लिटर दूध पोखरा ल्याएर बेच्ने गरेको कम्पनी व्यवस्थापक निर्मल भण्डारीले जानकारी दिए। ‘अहिले अफसिजन भएकाले कम ल्याएका हौं। सिजनमा अहिलेको दोब्बर बिक्री हुन्छ,’ उनले भने। दूध बाहिरको भएपनि तापक्रम व्यवस्थापन गरेर ल्याउने भएकाले दूधमा समस्या नरहेको उनको दाबी छ। उनले भने, ‘हामीले कपिलवस्तुबाट ल्याउने हो। डेरी पसलले लोकल दूध भनेर बेचेको बारे हामीलाई थाहा भएन।’

त्यस्तै, पोखरा–५ प्रस्याङस्थित हेमजा गाई फारम प्रालिले इजाजत नलिइकन दुग्धजन्य पदार्थ उत्पादन गरेको पाइएको छ। सो कम्पनीले पोखरा–२५ हेमजामा पालिएका गाईभैंसीको दूध ल्याएर पोखराका विभिन्न डेरीमा पुर्याउने गरेको पाइएको उपप्रमुख गुरुङले बताए।

अनुगमनका क्रममा पोखरा–१० रामघाटस्थित ढोंडबेंसी डेरी तथा बेकरीले हेमजाको लोकल दूध भन्दै कपिलवस्तुको दूध बेचेको पाइएको थियो। डेरी सञ्चालक विष्णुप्रसाद अधिकारीले आफूले लोकल दूध नै बेच्ने गरेको दाबी गरिरहँदा शंका लागेर चेकजाँच गर्दा कैफियत भेटिएको थियो। त्यसपछि अनुगमन टोलीले लेभल र मूल्य नटाँसी बिक्रीका लागि राखिएको घिउ, पनीर, दूध र दहीको नमूना परीक्षणका लागि संकलन गरेको छ।

अनुगमन टोलीले विहीबार सुजल डेरी प्रालिको उत्पादन सफल दूधको उद्योगमापनि अनुगमन गर्यो। यस उद्योगमा प्रत्यक्ष रुपमा कैफियत नदेखिएपनि नमूना संकलन गरेर गुणस्तर जाँचका लागि पठाइएको जनाइएको छ। कम्पनीका कच्चा दूध खरिद प्रबन्धक गुरु पौडेलले कम्पनीले उपभोक्ताको स्वास्थ्यको लागि गुणस्तरमा ध्यान दिएको दाबी गरे।  

अनुगमन टोलीले पसलमा मूल्यसूची राखे नराखेको, साइनबोर्ड भएनभएको, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलको प्रमाण, सामानमा लेभल, म्याद नाघेको सामान, पान वा भ्याट दर्ता, बिक्री बिल दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र र पसल संचालनका लागि आवश्यक मापदण्डको पालना गरे नगरेको तथा सरसफाईको अवस्थालाई आधार मानेर अनुगमन गरेको अनुगमन समिति सदस्य सचिव अनिल कार्कीले जानकारी दिए। उनका अनुसार अनुगमन गरिएका पसलका खाद्यवस्तुहरुको नमूना संकलन गरेर गुणस्तर जाँचका लागि गुणस्तर तथा नापतौल विभागमा पठाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक सविना सुनारले संकलित नमूनाको परीक्षणपछि मात्रै कैफियत भएनभएको खुल्ने बताईन्।  कैफियत देखिएका तथा अन्य शंकास्पद डेरी पसल तथा उद्योगहरुलाई महानगरमा इजाजतप्राप्त कागजातसहित हाजिर हुन निर्देशन दिइएको उनले जानकारी दिईन्। अनुगमनमा दिइएको विभिन्न निर्देशन पालना नभए कानुनबमोजिम कारबाही गर्ने महानगरले चेतावनी दिएको छ।

प्रकाशित: ७ भाद्र २०८१ १८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App