२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोर्चुगलको अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा नेपालीलाई समस्या

पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ। महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणमा सास्ती खेप्नुपरेको पोर्चुगलवासी नेपालीले गुनासो गरेका छन्।

उनीहरूले पोर्चुगलमा दूतावास स्थापना नभएसम्मका लागि लिस्बनबाटै कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा सञ्चालन गर्न माग गरेका छन्। कागजात प्रमाणीकरणको समस्याले पोर्चुगल बसाइको वैधानिकताको प्रक्रियामा रहेका हजारौं नेपाली प्रभावित भएका छन्।

लिस्बनबाटै प्रवाह हुँदै आएको सेवा बन्द भएपछि विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि आप्रवासी मामिला हेर्ने निकाय (आइमा) मा बायोमेट्रिकको तयारीमा रहेका नेपाली बढी मारमा परेका छन्।

यहाँको कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्ता लगायतका कागजात प्रमाणीकरणको सेवा लिस्बनबाट नपाउँदा यहाँ रहेका नेपालीले सास्ती भोग्नुपरेको हो।

महावाणिज्य दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणका लागि समस्या झेल्नुपरेको इलामका हरिबहादुर मुखियाले बताए। आवास अनुमतिपत्रका लागि पेस गर्नुपर्ने प्रहरी रिपोर्टको प्रमाणीकरणको झन्झटले तनाव सिर्जना गरेको गुनासो मुखियाले गरे।

‘यही सेप्टेम्बरको पहिलो साता मेरो बायोमेट्रिक छ। मेरा धेरै साथीहरूको पनि यही सेप्टेम्बरमै बायोमेट्रिक छ। दुई वर्षदेखि कार्डको पर्खाइमा थिएँ। अब त कार्ड बन्ने भयो भनेर खुसी भएको कागजात प्रमाणीकरणको झमेलाले हैरानी खेप्नुपरेको छ’, मुखियाले दुःख व्यक्त गरे।

बुटवलका हरिप्रसाद पाण्डेको समस्या पनि उस्तै छ। फ्रान्स हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डेको पनि यही सेप्टेम्बरमा बायोमेट्रिकको मिति तय भएको छ। पेस गर्नुपर्ने सबै कागजपत्र तयार भए पनि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण रोकिँदा दुई साता रनभुल्ल भएर बितेको पाण्डेले सुनाए।

‘प्रमाणीकरणको काम रोकिएपछि नेपालबाट मगाएको प्रहरी रिपोर्ट दुई सय युरो खर्चेर केही दिनअघि दलालमार्फत भारत पठाउन बाध्य भए। दुई हजारमा हुने कामलाई ३५ हजार रूपैयाँ खर्च गर्नुपर्‍यो। यो त साह्रै झन्झटिलो र खर्चिलो भयो। त्यसमाथि प्रमाणीकरणको तनावले हैरानी खेप्नुपर्‍यो। वाणिज्य दूतावास बन्द हुँदा हामीले पो सास्ती भोग्नुपर्‍यो’, आफ्ना पीडा सुनाउँदै पाण्डेले भने।

मुखिया र पाण्डेको जस्तै कागजात प्रमाणीकरणको समस्याले सर्लाहीका विक्रम आले पनि तनावमा परेका थिए। दूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या भएको आलेले गुनासो गरे। आवास अनुमतिपत्रका लागि बायोमेट्रिकको तयारीमा रहेका आलेले पनि एक साता अघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न दलालमार्फत भारत पठाएको बताए। सबै कागजात तयार नै थियो।

यसैबीच, फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले शुक्रबार एक सूचना जारी गर्दै पोर्चुगलका नेपालीलाई कागजात प्रमाणीकरणको सेवा दिने जानकारी दियो। जसमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेबापतको दस्तुर एक सय युरो अर्थात् झन्डै १४ हजार सात सय रूपैयाँ लाग्ने दूतावासले उल्लेख गरेको छ।

दूतावासले भने सोही प्रकृतिको प्रहरी रिपोर्टको भाषा अनुवादसहित प्रमाणीकरण गरेबापत दस्तुर १२ युरो अर्थात् झन्डै एक हजार आठ सय लिने गरेको थियोे। दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरणबापतको दस्तुर चर्को तोकेको भन्दै पोर्चुगलका नेपालीले असन्तुष्टि जनाएका छन् भने लिस्बनबाटै कन्सुलर सेवा पाउनुपर्ने माग गरेका छन्।

गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले महावाणिज्यदूतावास बन्द हुँदा कागजात प्रमाणीकरणमा समस्या देखिएको बताए।

 लिस्बनबाटै पाइँदै आएको सेवा बन्द हुँदा कागजात प्रमाणीकरणका लागि नेपाली दूतावास फ्रान्स र भारतको नयाँ दिल्लीस्थित पोर्चुगिज दूतावास र नेपाली दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना भएको सापकोटाले बताए। ‘यसले धेरै नेपालीलाई गाह्रो भएको छ’, उनले भने।

कागजात प्रमाणीकरणको समस्याले पोर्चुगलमा नेपालीको अवस्था विकराल बनेको उनले बताए। दूतावास छैन। भएको महावाणिज्य दूतावास पनि बन्द गरिएको छ। त्यसमाथि पेरिस दूतावासले चर्को शुल्क तोकेको छ। १२ युरोमा हुने कामको लागि दुई–तीन सय युरो खर्च हुने देखियो।

यता पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने, ‘पोर्चुगलमा देखापरेको समस्याका विषयमा आफू जानकार रहेको र सो समस्या समाधानका लागि प्रयास भइरहेको बताए।

‘त्यहाँको समस्या समाधानका लागि टोली खटाएरै भए पनि कन्सुलर सेवा दिने योजना बनाएका छौं। जतिसक्दो छिटो लिस्बनबाटै कन्सुलर सेवा दिने तयारी गरिरहेका छौं’, राजदूत भट्टराईले भने।

दूतावासले बायोमेट्रिकको तयारीमा रहेका नेपालीलाई लक्षित गरी प्रहरी रिपोर्टको प्रमाणीकरणका लागि आएका कागजात सकेसम्म छिटो उपलब्ध गराउने गरी काम गरिरहेको उनले बताए। प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणबापत दस्तुर अत्यधिक बढी भयो भन्ने गुनासोका सन्दर्भमा राजदूत भट्टराईले दस्तुर दूतावासले तोकेको नभई राज्यले तोके बमोजिम नै उल्लेख गरिएको स्पष्ट पारे।

गत साउन १५ गते महावाणिज्य दूतावास बन्द भएपछि दुई साताभन्दा बढी कागजात प्रमाणीकरण लगायत कन्सुलर सेवा ठप्प भएको थियो। कागजात प्रमाणीकरण के–कसरी र कहाँबाट गर्ने भन्ने अन्योल सिर्जना भएको थियो।

पोर्चुगलको आवास अनुमतिपत्र, पारिवारिक पुनःमिलन वा अन्य कागजी प्रक्रियाको प्रयोजनका लागि नेपालबाट ल्याइने जन्मदर्ता, प्रहरी चारित्रिक प्रमाणपत्र, विवाह दर्ता, नाता प्रमाणित लगायतका कागजातलाई नेपाल सरकारको आधिकारिक निकायले प्रमाणीकरण गर्नुपर्ने हुन्छ।

पोर्चुगलका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति भने तय भइसकेको छैन। सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ। यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए।

हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा अवैतनिक महावाणिज्य दूतावासले विगत १० वर्षदेखि कागजात प्रमाणीकरण लगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो। पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि अनुमानित ५० देखि ६० हजारको हाराहारीमा रहेको अनुमान छ।

यसैबीच केहीदिन अघि मात्रै राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा घुम्ती शिविर सञ्चालन गरेर तीन हजार आठ सय बढी नेपालीलाई राहदानी सेवा दिएको थियो।

- भरत प्रधान (रासस)

प्रकाशित: ७ भाद्र २०८१ ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App