४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालको विकासमा ठूला वित्तीय चुनौती: अध्यक्ष ज्ञवाली

वित्तीय विकासका चुनौतीहरू समाधानका लागि एकतामा जोड

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले वर्तमान आर्थिक चुनौतीहरूको विषयमा आफ्नो धारणा राख्दै नेपालले विकासको लक्ष्य पूरा गर्न ठूला वित्तीय चुनौतीहरू पार गर्न आवश्यक रहेको बताएकी छन्।

काठमाडौंमा मंगलबार आयोजित 'वित्तीय विकास संवाद्‍' कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालले केही प्रगति गरे पनि दिगो विकास लक्ष्य पूरा गर्न अझै पर्याप्त वित्तीय चुनौतीहरू सामना गर्नुपर्ने बताएकी हुन्।

सन् २०१५ मा संयुक्त राष्ट्रसंघले २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न तयार पारेको खाका उल्लेख गर्दै उनले नेपालको प्रगति अपेक्षाभन्दा सुस्त भएको र वित्तीय अन्तराल झन् बढ्दो क्रममा रहेको जिकिर गरिन्।

उनले भनिन्, 'आज हामी यहाँ भेला भएका छौं, तर हामीले सोचेअनुसारको प्रगति गर्न सकेका छैनौं। सन् २०१५ मा वार्षिक २.५ ट्रिलियन डलरको अनुमान गरिएको वित्तीय अन्तर अहिले ४ ट्रिलियन डलर नाघेको छ, जसले विशेष गरी नेपालजस्ता विकासशील राष्ट्रहरूलाई गहिरो प्रभाव पारेको छ।'

उनले राष्ट्रिय आयप्रति व्यक्ति अझै न्यून विकसित देशहरूको सूचीबाट माथि उठ्न नसकेको र सन् २०२३ देखि २०३० सम्म दिगो विकास लक्ष्यहरू पूरा गर्न वार्षिक २३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गरिन्। 

साथै, उनले वैदेशिक लगानीमा आएको तीव्र गिरावटले नेपालको आर्थिक संरचनामा नकारात्मक प्रभाव पार्दै व्यापार घाटा र राजस्व लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताइन्।

नेपालले सन् २०२६ मा एलसिडी अर्थात् (न्यून विकसित देशहरू) को श्रेणीबाट स्नातक हुने तयारी गरे तापनि, उनले वित्तीय दबाबले महिलाहरू र सीमान्तकृत समुदायहरूलाई ठूलो असर गर्ने चेतावनी दिइन्।

उनले भनिन्, 'आजको संवाद मात्र समयसापेक्ष छैन, अत्यन्तै आवश्यक पनि छ। यसले नेपालका दिगो विकास लक्ष्यहरू पूरा गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन अनुकूल वातावरण सिर्जना गर्नेछ। हाम्रो सामूहिक आवाजले आवश्यक सुधारका लागि मार्गदर्शन गर्नेछ।'

ज्ञवालीले नेपालले आफ्ना विकासका लक्ष्यहरू पूरा गर्न दृढता, एकता, र प्रतिबद्धताको आवश्यकता औँल्याउँदै भनिन्, 'चुनौतीहरू उल्लेखनीय छन्, तर हामीसँगै यी चुनौतीहरू पार गर्न सक्छौं। आजको संवादलाई भविष्यको निर्माणमा एउटा महत्त्वपूर्ण कदमको रूपमा प्रयोग गरौं।'

प्रकाशित: ४ भाद्र २०८१ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App