१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

ट्राभल भ्लगमार्फत पर्यटन प्रवर्द्धन

नेपालको पर्यटनलाई ट्राभल भ्लगरले विश्वमाझ प्रबद्र्धन गरिरहेका छन्। पछिल्लो समय विदेशी तथा स्वदेशी ट्राभल भ्लगरहरूले नेपालका विभिन्न पर्यटकीय स्थानका बारेमा भिडियो बनाइ अनलाइन साझेदारी गरिरहँदा मुलुकको पर्यटन विश्वव्यापी रूपमा परिचित भइरहेको छ।

ट्राभल भ्लगिङ घुम्न गएका कुनै पनि स्थानको भिडियोहरू खिचेर त्यसलाई सूक्ष्म सम्पादन गरेर अनलाइन साझेदारी गर्नु हो। दर्शकले खोजिरहेको मनमोहक दृश्यको अनुभूति दिलाउन परम्परागत ब्लगिङ, भिडियोग्राफी र कथा कथनका तत्त्वहरूलाई भ्लगरहरूले संयोजन गर्छन्।

समय–समयमा नेपालका विभिन्न ठाउँहरू घुम्न मन पराउने अधिवक्ता अजय तामाङले यात्री ट्राभल भ्लग हेरेर सिन्धुपाल्चोकको भैरवकुण्ड ट्रक गएको बताए। ‘यात्रीको सिन्धुपाल्चोकको भैरवकुण्डको ट्राभल भ्लग हेरेको, त्यो ठाउँ जान मन लाग्यो र गएँ पनि,’ अधिवक्ता तामाङले भने, ‘त्यो त्यति एक्सप्लोर भएको ठाउँ होइन तर मेरो मन प्रफुल्ल बनाउन सफल भयो। यस्तो राम्रो ठाउँलाई एक्सप्लोर गर्न सके निकै सम्भावना बोकेको पर्यटकीय गन्तव्य बन्न सक्छ।’

 ट्राभल भ्लगमा चर्चित पर्यटकीय गन्तव्यभन्दा पनि नयाँ वा एक्सप्लोर नभएका ठाउँको भिडियोहरूप्रति रूचि रहेको उनी बताउँछन्।

‘म घुम्न जाने ठाउँहरू प्रायः ट्राभल भ्लगहरूबाटै निर्धारण गर्छु’, उनले भने, ‘सबै आइटिनरीसहित पर्याप्त जानकारी हुने भएकाले घुम्नका लागि निस्कनु अघि जतिसक्दो धेरै ठाउँका बारेमा तयार गरिएका ट्राभल भ्लगहरू हेर्छु।’ उनले थपे, ‘ट्राभल भ्लगमा त्यस ठाउँबारे विविध जानकारी समेटिने भएको हुँदा हामी जस्तो घुम्न मन पराउने मान्छेलाई सजिलो बनाइदिन्छ।’ उनले प्रायः घुमन्ते र यात्री ट्राभल भ्लग हेर्ने गरेको बताए।

नेपालमा पर्यटकीय गन्तव्य भनेको काठमाडाै‌ँ, पोखरा, चितवन र पर्वतीय ट्रेकिङको दृष्टिले मनाङ, मुस्ताङ अनि सगरमाथा, अन्नपूर्ण र मर्दी हिमालका आधार शिविरहरू जस्ता क्षेत्र मात्र परिचित भइरहेकोमा पछिल्लो समय यी ठाउँबाहेक अन्य धेरै सुन्दर र रमणीय ठाउँहरू पनि नेपालमा छन् भन्ने सन्देश दिन ट्राभल भ्लगरहरू सफल देखिन्छन्।

सांस्कृतिक, प्राकृतिक र भौगोलिक दृष्टिले नेपालको जुनसुकै क्षेत्र पर्यटकीय स्थान हुन् भन्ने यथार्थ विश्वमाझ प्रवाह गर्न ट्राभल भ्लगरहरूले निकै ठूलो योगदान गरेका छन्। केही वर्ष अघिसम्म निश्चित क्षेत्र र भूगोलमा मात्र सीमित नेपालको पर्यटनको आयतन अहिले पूर्वी नेपालको इलाम, पाँचथरदेखि सुदूर पश्चिमको दार्चुला, बझाङ, बाजुरासम्म फैलिइसकेको छ।

दुई लाख ७१ हजार सब्स्क्राइबर भएको ‘घुमन्ते’, एक लाख ७५ हजार सब्स्क्राइबर भएको ‘नेपाल’ एट्थ वोन्डर्स अफ द वल्र्ड, एक लाख १९ हजार सब्स्क्राइबर भएको ‘सिर्जना सिज्जु’, यात्री, परिक्रमा, मुना चिया जस्ता नेपालका केही चर्चित ट्राभल भ्लगहरूले वास्तवमै विश्वभरिका मानिसलाई नेपालका नयाँ–नयाँ र विभिन्न ठाउँहरू घुम्न आकर्षित गरेका छन्। यी ट्राभल भ्लगहरूमा नेपालको पूर्व, पश्चिम, उत्तर दक्षिण क्षेत्रका सयौं पर्यटकीय गन्तव्यबारे पर्याप्त जानकारीसहित मौलिकतायुक्त सुन्दर भिडियोहरू अनलाइन मार्फत विश्वव्यापी रूपमा साझा गरिएका छन्।

लाखौं दर्शक भएको उनीहरूको भिडियोहरू लाखौं–लाख मानिसले हेर्छन् । विश्वको कुनै पनि कुनामा रहेका मानिसले आफूले चाहेको बेला हेर्न सक्छन्। ट्राभल भ्लगिङका लागि कुनै ठूलो लगानी तथा जनशक्ति आवश्यक पर्दैन्। निश्चित मानिसहरू र सामान्य आर्थिक खर्चबाहेक यसमा अन्य खर्च पनि लाग्दैन। राज्यको लगानी र जनशक्ति बिनै ट्राभल भ्लगरहरूले नेपालको पर्यटकीय गन्तव्यलाई विश्वबजारमा प्रचारप्रसार गरिरहेका छन्।

अहिले एक करोड ३६ लाख सब्स्क्राइबर भएको नास डेली, एक करोड ८० लाख सब्स्क्राइबर भएका बेष्ट एभर फुड रिभ्यु सो, एक करोड ७० हजार सब्स्क्राइबर भएका मार्क विन्स, ९० लाख ८० हजार सब्स्क्राइबर भएका एस थ्योरी, ३४ लाख २० हजार सब्स्क्राइबर भएका डेल फिलिप लगायत थुप्रै विश्व चर्चित अन्तर्राष्ट्रिय ट्राभल भ्लगरहरूले नेपाल आएर नेपालका विभिन्न पक्षबारे भिडियो बनाएका छन्।

लाखौं–करोडौं सब्सक्राइबर भएका उनीहरूको भ्लगमा नेपालको पर्वतीय पर्यटन, खानपान, भिरमौरी मह खोजी गरेका जस्ता थुप्रै भिडियोहरू संसारका लाखौं मानिसहरूले हेरेका छन्। उनीहरूको भिडियोले गर्दा नेपालको पर्यटनबारे विश्वव्यापी रूपमा प्रचारप्रसार भई पर्यटकको चासोको विषय बनेको छ।

ट्राभल भ्लगले जानकारी प्रदायकका रूपमा मात्र होइन आफ्ना दर्शकलाई प्रभाव पार्ने भूमिका पनि निर्वाह गरिरहेका हुन्छन्। जुन पर्यटन उद्योगको लागि फाइदाजनक हुने नै भयो।

ठमेलको एक कार्यालयमा काम गर्ने परिना भुजेल भन्छिन्, ट्राभल भ्लग कुनै पनि प्रकृतिप्रेमीका लागि उपयुक्त सामग्री हो। ‘मलाई त ट्राभल भ्लग हेर्‍यो कि घुम्न जाउँ जाउँ भइहाल्छ’, उनले भनिन्, ‘हामी साथीभाइहरूले घुम्ने डेस्टिनेसन छान्नु पर्‍यो भने ट्राभल भ्लग हेर्छौं।’ उनले प्रायः घुमन्ते र सिसन बानियाँको ट्राभल भ्लग हेर्ने बताइन्।

ट्राभल भ्लगरले नयाँ गन्तव्य प्रवद्र्धन गर्छन् र ती नयाँ गन्तव्यहरूमा सम्भावित पर्यटकलाई भ्रमण गर्न प्रेरित गर्छ। मानिसलाई सामान्य भन्दा थप बाहिर वा नयाँ पर्यटकीय गन्तव्यहरू घुम्न प्रोत्साहित गर्छन्। ती ठाउँको वातावरण, रहनसहन, परम्परा,चालचलन र अनुभवबारे आफ्ना दर्शकलाई पर्याप्त जानकारी दिन्छन्। आफ्ना दर्शकलाई उक्त स्थानमा जान हौस्याउँछन्। अर्को अर्थमा भन्ने हो भने ट्राभल भ्लगरले पर्यटनको मार्केटिङ गर्छन्।

घुम्न रूचाउने पर्यटकलाई ट्राभल भ्लगहरूले कुनै घुम्ने ठाउँहरूबारे दिने जानकारीले गन्तव्यको विश्वसनीयता बढाउँछ। प्रभावकारी प्रचारप्रसार गर्छ भने सो गन्तव्यको छविलाई उजिल्याउँछ।

प्रकाशित: १८ श्रावण २०८१ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App