१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
अर्थ

नयाँ सरकारसँगै सेयर बजारमा ‘बुलिस ट्रेन्ड’

लामो समयपछि सेयर बजारमा बुलको संकेत देखिएको छ। प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ता उत्साहित भएका हुन्। बुधबार एकै दिन करिब साढे १२ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ।

बुधबार नेप्से ५४.०४ प्रतिशत बढेर २३६४.६३ अंकमा पुगी १२ अर्ब ४३ लाख रूपैयाँबराबरको सेयर कारोबार भएको हो। नेप्से सूचक २०७९ वैशाख २८ यताकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार ९ अर्ब ७ करोड रूपैयाँको सेयर किनबेच भएको थियो।

सामान्य भाषामा सेयर बजारमा बुल भन्नाले बढ्दो बजारलाई बुझिन्छ। बढ्दो बजारलाई साँढे अर्थात् ‘बुल मार्केट’ भनिन्छ। आर्थिक वर्ष २०८१/८२ सुरु भएको पहिलो दिन मंगलबार ७०.१८ अंकले बढेको नेप्से बुधबार पनि बढेर दोस्रो बजार बुल ट्रेन्डमा प्रवेश गरेको छ। तल्लो बिन्दुबाट सेयर बजार २० प्रतिशत वृद्धि भएपछि बुलिस ट्रेन्ड सुरु हुने मान्यता छ।

सेयर बजारमा बुल साइकल देखिएको नेपाल इन्भेस्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। ‘पुँजी बजारले फेरि नयाँ उचाइ चुम्ने संकेत गरेको छ,’ रौनियारले भने, ‘बजार निरन्तर बढ्ने आधार छन् ।’ ३२ सय अंकमा पुगेको नेप्से १८ सयमा झरेपछि करिब दुई वर्ष २ हजार/२१ सयको बिन्दुमा लामो समय अडिएको थियो। अहिले पुनः उचाइ चुम्न थालेको छ।

लगानीकर्तामा आत्मविश्वास देखिएको उनले बताए। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा हरियाली छाएपछि लगानीकर्ता उत्साहित छन्। विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लासँगै बढ्न सुरु भएको सेयर बजारमा पौडेलले पद बहाली गरेको भोलिपल्टै नेप्सेमा ७०.१८ अंकको वृद्धि भएको थियो।

अर्थतन्त्रका आन्तरिक सूचक राम्रो नभए पनि सेयर बजारले आशा जगाएको छ। पहिले लगानीकर्ताको निकै कमजोर रहेको मनोबल अहिले बढेको रौनियार बताउँछन्। बजारमा सबै प्रकारका कम्पनी रहेकाले लगानीकर्ताले राम्रो कम्पनी छानेर लगानी गर्नुपर्ने उनले बताए। ‘बजार बढ्यो भनेर जुन पायो त्यही कम्पनीमा लगानी गर्ने होइन,’ उनले भने, ‘राम्रो कम्पनी छानेर सजग भएर लगानी गर्नुपर्छ।’ बजार करेक्सन भएर गयो भने दिगो हुने उनले बताए। ‘बजार करेक्सन भएर तलमाथि हुँदै गयो भने दिगो हुन्छ,’ उनले भने।

बुधबार २०४ कम्पनीको सेयर मूल्य बढ्दा सेन्ट्रल फाइनान्समा सकारात्मक सर्किट लागेको थियो। म्युचुअल फन्ड, सामूहिक लगानी कोष र कतिपय जलविद्युत् कम्पनीको सेयर मूल्यमा भने गिरावट आयो।

सेयर बजार गत असार १७ देखि बढ्न थालेको थियो । बढ्न सुरु भएको १३औं कारोबार दिन बुधबारसम्म आइपुग्दा ३२७.५४ अंकले बढेको हो। पछिल्लो दुई सातामा दुई दिन सामान्य गिरावट देखिए पनि नेप्से ११ दिन अधिकांश समय दोहोरो अंकले बढेको छ। यो साताको आइतबार, मंगलबार र बुधबार नेप्से निरन्तर बढेको छ।

बैंकको ब्याज एकल बिन्दुमा छ। बैंकमा पर्याप्त लगानीयोग्य रकम छ। विदेशी मुद्रा सञ्चिती पर्याप्त छ। रेमिट्यान्स आप्रवाह बढेको छ । यसले पनि सेयर बजार बढ्न सकारात्मक भूमिका खेलेको छ। सेयर बजारमा विस्तारै बुलिस ट्रेन्ड सुरु भएको लगानीकर्ताले बताएका छन् । अर्थतन्त्रमा उल्लेख्य सुधार नभए पनि सेयर बजारमा उछाल आएर बुल आउने खालको ‘ट्रेन्ड’ देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अर्थमन्त्री पौडेलले पद बहाली गर्दाको दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग आफ्नो ट्युनिङ मिल्ने बताएका थिए। एमाले नेतृत्वकै सरकारले अधिकारीलाई नियुक्त गरेकाले पनि अर्थमन्त्री पौडेलले संकेत गरेअनुसार लचिलो मौद्रिक नीति आउने अनुमान लगानीकर्ताको छ। करिब तीन वर्षपछि सेयर बजारमा निकै उत्साह देखिएको छ। नेप्सेमा उच्च कारोबारसहित उछाल आएपछि लगानीकर्ता हौसिएका छन्।

नेपालको भन्दा खराब अर्थतन्त्र भएका मुलुकमा पनि सेयर बजार उच्च बिन्दुमा भएकाले मुलुकमा अहिलेको अर्थतन्त्रका आधारमा बजार अझ बढ्न सक्ने बताउँछन्। अर्थतन्त्रका आन्तरिक सूचकमा उल्लेख्य सुधार नभए पनि विदेशी विनिमय सञ्चिति, सोधनान्तर, रेमिटेन्स आगमनलगायतका सूचक भने सकारात्मक छन्।

केही लगानीकर्ता भने बजार लामो समय नटिक्न पनि सक्ने बताउँछन्। सेयर बजारमा उछाल आउन कम्पनीको ब्यालेन्स सिट राम्रो हुनुपर्छ,’ ती लगानीकर्ताले भने, ‘अहिलेको बजारमा बढ्नुमा मनोविज्ञानले मात्र काम गरेको छ।’

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका पदाधिकारीसँगको भेटघाटमा अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारप्रति आफू सकारात्मक रहेको बताएका थिए। पुँजी बजारको विकास तथा स्थायित्वका लागि सक्रिय पहल गर्ने आश्वासन दिएका थिए।

प्रकाशित: ३ श्रावण २०८१ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App