१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

सगरमाथामा कीर्तिमानको अस्वस्थ होडबाजी

विश्वको सर्वाेच्च शिखर सगरमाथा अब आरोहण मात्र नभई विश्व कीर्तिमान राख्ने हिमाल पनि बनेको छ। यो हिमाल आरोहण गरेर विश्व कीर्तिमान राख्ने लहड चलिरहँदा यसले निम्त्याउन सक्ने चुनौतीतर्फ भने सरोकारवालाको ध्यान जान सकेको छैन।

विश्व रेकर्ड र यससँगै पाइने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाका कारण होस् वा मान, सम्मान र दामका कारणले पछिल्लो समय सगरमाथामा रेकर्ड राख्ने होडबाजी छ। आरोहणसँग सम्बन्धित नभई उट्पट्याङ गतिविधि गरेर सगरमाथामा रेकर्ड राख्ने गर्दा सगरमाथाको गरिमामै आँच आउन थालेको बुझाइ सरोकारवालाको छ।

आरोहणसँग सम्बन्धित कीर्तिमानले त्यस्तो नकारात्मक प्रभाव नपर्ला तर अन्य गतिविधि गरेर रेकर्ड राख्ने प्रतिस्पर्धाले पछिल्लो समय सगरमाथाको महिमामा आँच आउन थालेको छ। केही वर्ष यता सगरमाथा आरोहण गर्दा हुने घुइँचो, फोहरमैलाको कमजोर व्यवस्थापन र आरोहणका क्रममा भेटिने सयौं शवसम्बन्धी विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा निकै प्राथमिकता पाउन थालेका छन्।

नेपाल माउन्टेन एकेडेमीका पूर्व कार्यकारी निर्देशक तथा पर्वत र हिमाली संस्कृति प्रवद्र्धनमा समर्पित लाक्पा फुटी शेर्पाले सगरमाथा नाम र दामको क्षेत्र मात्र नभएर मुलुकको प्रतिष्ठासँग जोडिएको विषयसमेत भएको बताइन्। ‘सगरमाथामा हुने सानो क्रियाकलापको चासो सारा विश्वले राखिरहेको हुन्छ’, शेर्पा भन्छिन्, ‘कस्ता–कस्ता महत्वपूर्ण घटना र गतिविधि समाचार बन्न नसकिरहेका बेला सगरमाथामा आँखा तरेर हेरेको विषय पनि समाचार बनिरहेका छन्।’ सगरमाथा निकै संवेदनशील क्षेत्र भएकाले त्यहाँ हुने हरेक ससाना क्रियाकलपहरूबारे विश्वकै चासो रहने हुँदा यसबारे समयम घर्किनु अघि नै राज्यको ध्यान जानुपर्ने उनले बताइन्।

विश्वमा नेपाललाई सगरमाथाको देश भनेर बढी चिनिन्छ। सगरमाथाबारेमा जति अन्तर्राष्ट्रिय चासो राखिन्छ त्यो भन्दा बढी समग्र मुलुकले राख्न नसकेको होला। त्यसैले नेपालको लागि सगरमाथा कुनै एउटा प्राकृतिक स्रोत मात्र नभएर देशको प्रतिष्ठा पनि हो।

सगरमाथामा हुने गतिविधिहरू नेपालको छवि र प्रकृतिलाई सम्मान गर्ने खालको हुनुपर्ने शेर्पाले बताइन्। वैधानिक तवरले हिमाल आरोहण गर्न पाउनु सबैको अधिकार भएको हुनाले कसैले यसलाई हस्तक्षेप गर्न नमिल्ने तर आरोहण गर्दा नाम र दामको लागि सरमाथालाई मनलाग्दो प्रयोग गर्न नहुने तर्क गरिन्। ‘रेकर्ड राख्ने सवालमा नेचर र नेपालको छविलाई धमिल्याउनु भएन्’, उनले भनिन्, ‘रेकर्डको अस्वस्थ होडबाजीले कुनै दुर्घटना भए सम्पूर्ण हिमाल आरोहण असुरक्षित देखिन्छ, प्रत्येक आरोहीले सगरमाथासँग नाम, दाम र रेकर्डका लागि मात्र नभएर जिम्मेवारीको समेत बोध गर्न सक्नुपर्छ।’ उनले पछिल्लो समयमा सगरमाथामा भइरहेको रेकर्डको होडबाजी विश्वले नियालिरहेको छ र यसबारे नेपाल सरकारले समयानुकूल कानुन बनाएरै अगाडि बढ्नु आवश्यक रहेको उनले बताइन्।

यस्तै नेपाली पर्यावरण संरक्षणविद् तथा होटल उद्यमी कर्ण शाक्यले नेपालको पर्यटनको विकास संरक्षणमूखी हुनुपर्ने औंल्याउँदै हिमालहरूको सवालमा सरकारले संरक्षण प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए। ‘भएजति हिमाल र हिमाली भूभागमा जति पनि पर्यटकलाई जान दिइएको छ। दीर्घकालीन विकास र नियन्त्रणको अवधारणा नै छैन। ह्वारह्वार्ती आरोहीलाई चढ्ने अनुमति दिइएको छ’, शाक्यले भने, ‘सरकारलाई अहिले २/४ लाख रूपैयाँ त आउला तर हिमालप्रतिको चासो र हिमाल नै नरहे पछि चाहिँ के होला?’ उनले माल पाएर पनि चाल नपाएको मुलुक नेपाल भएको बताउँदै दीर्घकालीन र संरक्षणमुखी योजना ल्याई हिमाल आरोहणमा नियन्त्रण गर्नुपर्ने बताए। उनले यसले तत्कालीन सरकारको अर्थतन्त्रमा केही संकुचन ल्याए पनि कालान्तरमा फड्को मार्ने बताए।

वसन्तऋतुमा सगरमाथा लगायत ३० हिमालका लागि विभागले आरोहण अनुमति दिएको थियो। जम्मा एक हजार दुई जनाले हिमाल आरोहणका लागि अनुमति लिएकोमा सात सय ९२ पुरूष र दुई सय १० महिला रहेका छन्। जसमध्ये सगरमाथा हिमालको लागि मात्र विभिन्न मुलुकका चार सय २१ जना आरोहीले विभागबाट आरोहणका लागि अनुमति लिएका थिए। जसबाट सरकारले ६८ करोड ९९ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

पर्यटकीय स्थल र ग्रामीण जीवनशैलीलाई भिडियो युट्युब मार्फत देखाएर नेपालको पर्यटनलाई विश्वमाझ प्रचारप्रसार गरिरहेका र मुलुकको पर्यटनलाई नजिकबाट नियालिरहेका कन्चन राई (घुमन्ते) ले हिमाली पर्यटनलाई दीर्घकालीन बनाउने हो भने सरकारले हिमालमा हुने गतिविधिबारे सूक्ष्म अध्ययन गरेर के गर्न हुने र गर्न नहुने भनेर संहिता नै बनाउनुपर्ने बताए। ‘जति धेरै आरोही आए त्यसैमा खुसी भइरहँदा आरोहीका कारण हिमालमा निम्तिन सक्ने समस्याबारे सरकारले कुनै अवधारणा बनाउन सकेको देखिँदैन’, उनले भने, ‘तत्कालीन लाभको लागि भन्दा दीर्घकालीन असरका बारेमा सोच्नु जरुरी छ।’

सरकारले सगरमाथामा कीर्तिमान कायम गर्ने नाममा उट्पट्याङ गर्ने आरोहीलाई कालोसूचीमा राख्ने मात्रै हो भने पनि जथाभावि हुन नपाउला तर यसबारे सरकारी पहल केही नै देखिँदैन। सरकारले सगरमाथाको बद्नाम गर्ने ढंगका क्रियाकलापलाई रेकर्डमा राखेर सम्बन्धित आरोही र आरोहणमा लैजाने एजेन्सीलाई समेत कारबाही गर्नेबारे पटक पटक छलफल गरेर निष्कर्षमा पुग्न ढिलो भइरहेको छ तर सम्बद्ध निकायलाई त्यता समय दिने फुर्सद छैन।

यस वर्ष वसन्तऋतुमा गरिने हिमाल आरोहणको समय सकिएको छ। पर्यटन विभागको तथ्यांक अनुसार यो समयमा विभिन्न आरोहण दलका आरोही सदस्य तथा क्लाइम्बिङ गाइड गरी ६ सय बढीले सगरमाथाको आरोहण गरेका छन्। ६ सय बढीले सगरमाथा आरोहण गरिरहँदा धेरैले रेकर्ड राखेर विश्वव्यापी चर्चा पाइरहेका छन्।

प्रकाशित: २७ असार २०८१ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App