१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालमा पर्यटक आगमनः ६ महिनामा ५ लाख ८३ हजार पर्यटक

नेपालमा ६ महिना अवधिमा झन्डै ६ लाख विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार जुन महिनामा समेत गरेर यो वर्षको अहिलेसम्म नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको छ। 

पर्यटन बोर्डका अनुसार यो जुन महिनामा ७६ हजार ७ सय ३६ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। ‘६ महिना अवधिमा झन्डै ६ लाख विदेशी पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्,’ पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘जुन महिनाको आगमन पनि सन्तोषजनक रहेको छ।’

बोर्डका अनुसार २०२३ को जुन महिनाको तुलनामा यो पटक ६.२१ प्रतिशत बढी विदेशी पाहुना भित्रिएका छन्। सन् २०२३ को जुन महिनामा नेपालमा ७२ हजार २ सय ५० जना विदेशी पाहुना भित्रिएका थिए। त्यस्तै नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ को जुनको तुलनामा यो पटक २.४७ प्रतिशत बढी विदेशी पाहुना नेपाल भित्रिएका छन्। सन् २०१९ को जुन महिनामा नेपालमा ७४ हजार ८ सय ८३ जना विदेशी पाहुना भित्रिएका थिए।  

कोरोना भाइरस संक्रमणले गर्दा पर्यटक आगमनमा असर परिरहँदा नेपालमा सन् २०२० को जुन महिनामा जम्मा १ सय २ जना विदेशी पाहुना आएका थिए। त्यस्तै त्यो आगमन २०२१ को जुनमा ११ सय ८७ र २०२२ को जुनमा ४६ हजार ९ सय ५७ जना विदेशी पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका थिए।  

‘पर्यटक आगमन हरेक महिना वृद्धि भइरहेको छ। यसले यो वर्षको आगमन अघिल्लो वर्ष भन्दा बढ्ने सहजै अनुमान गर्न सकिन्छ,’ लामिछानेले भने। नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो।

 मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सरकारले पनि आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। २०१९ पछि कोरोना भाइरस संक्रमणले गर्दा नेपालमा विदेशी पाहुना आगमन ह्वात्तै घटेको थियो।

सरकारले पर्यटक आगमन बढेपछि आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य समेत सार्वजनिक गरेको छ। त्यसका लागि नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख छ। पर्यटक भित्र्याउनका लागि छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड–सो, मेला, महोत्सव जस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने पनि बजेटमा छ।  

जुन महिनामा भित्रिएका मध्ये सबैभन्दा बढी विदेशी पाहुना भारतीय छन्। बोर्डका अनुसार जुन महिनामा ३७ हजार ८ सय ३५ जना भारतीय पाहुना नेपाल भित्रिएका छन्। त्यस्तै जुन महिनामा भित्रिने अमेरिकी पाहुनाको संख्या ८ हजार २ सय ८१ रहेको छ। तेस्रोमा चिनियाँ पाहुनाका संख्या ७ हजार ४ सय ९४ रहेको छ। चौथो नम्बरमा बङ्गलादेशका पाहुना नेपाल भित्रिएका छन्। जुन महिनामा नेपालमा ३ हजार ८ सय ५७ जना बङ्गलादेशका पाहुना भित्रिएका छन्।  

‘चिनियाँ पाहुनाको आगमनमा अझै जोडबल गर्न जरुरी छ,’ लामिछानेले भने, ‘भारतीय र अमेरिकी पाहुनाको आगमन सन्तोषजनक छ। तर, चिनियाँको आगमनमा आशा गरे अनुरूप सुधार हुन सकेको छैन।’ चिनियाँ नागरिकको क्रय शक्ति कमजोर भएकोले घुम्न निस्कने नागरिक कम हुँदा त्यसको असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको आङ्कलन रहेको उनले बताए। 

प्रकाशित: १७ असार २०८१ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App