१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सरकारले साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रम गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् ।  

शुक्रबार धादिङको निलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरेका छन् ।  

वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए । ‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरु पुरा गर्न सक्छ,’ उनले भने । त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नुपर्ने उनको भनाइ छ ।  

मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवद्र्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको वृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्के सबै श्रमिकको तथ्यांक संकलन गरिनेछ । ‘विदेशबाट फर्केका श्रमिक तथा उनीहरुको सीपको बारेमा तथ्यांक राखिनेछ । भारतबाट फर्केका श्रमिकको पनि तथ्यांक  राखिनेछ । तथ्यांकअनुसार नै आन्तरिक रोजगारीको रणनीति तयार गर्नेछौं,’ उनले भने ।  

कार्यक्रममा मन्त्री अर्यालले निलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए । ‘नगरपालिकाले मेला आयोजना गर्दा गौरव लागेको छ । यो मेलाले संविधानले परिकल्पना गरेको उद्देश्य प्राप्त भएको सुखद सन्देश दिएको छ,’ उनले भने ।  

निलकण्ठ नगरपालिकाले आयोजना गरेको मेलामा विभिन्न रोजगारदाता तथा सरकारी निकायको सहभागिता छ ।

प्रकाशित: १४ असार २०८१ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App