१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गभर्नर अधिकारी भन्छन्: अर्थतन्त्र बिग्रिनुमा सहकारी समस्या कारण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र बिग्रिनुमा सहकारी समस्याको ठुलो भूमिका रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सहकारी समस्या नसुल्झिएसम्म बैंकिङ क्षेत्रमा सुधार नहुने र त्यसको असर अर्थतन्त्रमा परिरहने बताएका हुन्

‘सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ। अर्थतन्त्र स्लोडाउन हुनुमा सहकारीको ठूलो रोल छ,’ गभर्नर अधिकारीले भने, ‘मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका धेरै ठूलो छ।’

राज्यले तीन खम्बे अर्थनीति लिएसँगै सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा बनाएपछि सर्वसाधरणहरूको विश्वास सहकारीमा भएको उनले बताए। त्यसपछि निमयनबिनै र आफै नियमन गर्दै सहकारी अगाडि बढे पनि कतिपय सहकारीहरू बैंक जस्तै गरी अगाडि बढेको गभर्नर अधिकारीले बताए।

राष्ट्र बैंकले ३० वर्षअगाडि नै सहकारी संस्था नियमन हुनुपर्छ भन्दै आएको र सहकारी नियमनका लागि विशिष्टिकृत दोस्रो दर्जाको नियमनकारी निकाय चाहिन्छ भनेको गभर्नर अधिकारीको दाबी छ।

उनले भने, ‘त्योमार्फत सुपरभिजन गर्नुपर्छ। यो विषयमा सरकारसँग स्पष्ट राय राखेका छौं। समस्याग्रस्त सहकारी नियमन गर्न छुटै व्यवस्थापन टिम चाहिन्छ।’

अहिले सहकारीमा देखिएका समस्या छलफल र बाहिर कराएर मात्रै नहुने पनि उनले बताए। ‘अहिले हामी सहकारीको समस्या समाधान भन्दा पनि समस्या स्वीकार गर्न खोजिरहेको देख्छौं। जति सक्दो चाँडो विशिष्टिकृत दोस्रो दर्जाको नियमनकारी निकाय बनाउनु छ,’ उनले गभर्नर अधिकारीले भने,‘सहकारीका समस्या समाधान नभएसम्म अर्थतन्त्र र बैंकको खराब कर्जासमेत कायम रहन्छन्।’

ग्रामिण बैंक र सहकारी छुट्टै भनिएपनि कारोबारसँग सम्बन्ध रहेको गभर्नर अधिकारीको भनाई छ। ‘बैंकहरुमा खराब कर्जा बढ्नुको कारण भनेको प्रभावकारी नियमनर रिर्फम हो। फोहोरलाई अण्डर कार्पेटमा नै छाडि दिएको भए देखिने थिएन,’ उनले भने।

प्रकाशित: ९ असार २०८१ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App