१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

डान्सबारले धानेको ठमेलको रात्रिकालीन व्यवसाय

गत वैशाख १ देखि २४ सै घण्टा खुला ठमेल क्षेत्रमा रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायबाहेकका अन्य व्यवसाय सोचेअनुसारको नफस्टाएको व्यवसायीहरूको भनाई छ। ठमेलको पर्यटन क्षेत्र चलायमान बनाइ राख्ने र आर्थिक कारोबार वृद्धि गर्ने उद्देश्यले २४ सै घण्टा खुला भएको दुई महिना बितिसक्दा पनि त्यसले सोचे अनुरूपको व्यावसायिक परिवर्तन ल्याउन नसकेको व्यवसायीको धारणा छ।

ठमेलमा रेष्टुरेन्ट व्यवसायलाई नजिकबाट नियालिरहेका होटल प्रबन्धक मुकुन्द पोखरेलका अनुसार ठमेलक्षेत्र २४ सै घण्टा खुला हुँदै गर्दा सबै व्यवसाय ढुक्कसँग खुला गर्ने अवस्था आए पनि दोहोरी, डान्सबार, मसाज सेन्टर, डिस्को, क्लबजस्ता व्यवसायबाहेक अन्य व्यवसाय खासै चलेका छैनन्।

‘रात्रीकालीन मनोरञ्जनात्मक व्यवसाय, रेष्टुरेन्ट र होटलहरू अलि चलायमान भए पनि अरू पसल पहिलेको जस्तै अवस्थामा छन्’, उनले भने, ‘विदेशीहरू सिजनल हुन्छन्, नेपालीको जीवनशैली दिनमा नभ्याएर राति सेवा सुविधा लिने गरीको व्यस्त छैन।’

उनका अनुसार केही मार्ट, र रात्रिकालीन व्यवसाय नजिकका केही किराना पसल र अन्य साना होटलहरू पछिल्लो समय खुलेका छन्।

यस्तै ठमेल २४ सै घण्टा खुला भइरहँदा यसका नकारात्मक पक्ष पनि उत्तिकै देखिएको उनले बताए। ‘रातमा विदेशी पर्यटकलाई मगन्तेहरूले दुःख दिएको देखिन्छ’, उनले भने, ‘एउटा विदेशीलाई तीन जनासम्म मगन्तेले पच्छ्याइरहेका हुन्छन्, कतिले कुटपिट र लुटपाट गरेको पनि देखिन्छ।’

पोखरेलका अनुसार ‘सूचना पाए लगतै प्रहरीहरू आउँछन् तर पनि हकरले दुःख दिने प्रवृत्ति पछिल्लो समय निकै देखिएको छ। यो पहिलाको तुलनामा बढी नै हो।’

ठमेल घुम्न आउने विदेशी र आन्तरिक सबै पर्यपटकलाई जुनसुकै बेला सेवा सुविधा उपलब्ध हुने भनि २४ सै घण्टा खुलेको यस क्षेत्रले अपेक्षित लाभ लिन नसकेको ठमेलकै अर्का व्यापारी चन्दप्रभात राईले बताए। उनको बुझाइमा पनि अरूबेला २ बजेसम्म खुला हुने रात्रीकालीन मनोरञ्जनात्मक व्यवसाय मात्र चलायमान भएका छन् तर अन्य व्यवसाय खासै नउकासिएको व्यवसायीहरू बताउँछन्।

‘वास्तवमा भन्नुपर्दा युवा पुस्तालाई रमाइलो गर्न सहज भएको छ । त्यसबाहेक खासै परिवर्तन देखिएको छैन, न त विन्डो सपिङ गर्ने वातावरण नै छ’, राइले भने, हाम्रोमा अझै सिफ्ट बेसिसमा काम गर्ने प्रणाली बसिसकेको छैन। पसल खुला हुँदा केही मात्रामा किनबेच नहुने भन्ने नहोला तर व्यवसायीले सिफ्ट बेसिसमा कामदार राखिहाल्ने स्थिति नआएकाले यो  प्रभावकारी देखिएन।’

प्रभावकारी रूपमा सबै पसल खुला हुन मूल्य निश्चित हुनुपर्ने तर्क राईले गरे। ‘हाम्रो जस्तो पसल रातैभरि खोल्न सबै पसलका सामानको मूल्य निश्चित हुनुपर्छ’, उनले भने, ‘त्यस्तो प्रणालीमा हाम्रो जस्तो पसल गएकै छैनन्, त्यसैले अहिले नै यसको प्रभावकारिता देखिएको छैन्।’

उनले थपे, ‘वैशाख १ गते अगाडि मेरो पसल बिहान खोली बेलुका बन्द हुन्थ्यो, अहिले पनि त्यही गरिरहेको छु।’

ठमेल क्षेत्र कहिल्यै बन्द नहुने व्यवस्थाले हाल व्यावसायिक चहलपहल बढ्नेभन्दा पनि युवाहरूको चहलपहल बढेको, होहल्ला र फोहरमैला बढी भएको उनको धारणा छ। ‘बिहान पसल आउँदा बाटैभरि मम खाएको प्लेट छरपस्ट हुन्छ, कहिलेकाहीँ त सटर अगाडि नै फोहरको चाङ हुन्छ’, उनले भने, ‘सुरक्षा निकायले पनि कता ध्यान दियोस्, एउटा कुनामा गएर सटर अगाडि मान्छेहरू मातेर फोहर गर्दिछन्।’

हाल ठमेल क्षेत्रमा १० हजार पाँच सयको हाराहारीमा व्यवसायीहरू रहेका छन् भने  करिब ६० हजारले रोजगारी पाइरहेका छन्। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले अहिलेसम्म ठमेल क्षेत्र २४ सै घण्टा चलायमान नभएको स्वीकार गरे। पहिलेको भन्दा अहिले केही पसल राती अबेरसम्म खुल्न थालेको उनले बताए।

‘ठमेल क्षेत्रको व्यवसायमा त्यति धेरै परिवर्तन भएको छैन’, उनले भने, ‘तर हिजोको भन्दा आज केही परिवर्तन नै नभएको भने होइन।’

उनले अबको एक वर्षभित्र भने ठमेलका व्यवसाय राती २ बजेसम्म खुला हुने वातावरण तयार भइरहेको बताए। ‘हिजो ९ बजेसम्म खुला हुने पसल आज ११, १२ बजे रातिसम्म खुला हुन थालेका छन्’, उनले भने, ‘यो समय विस्तारै लम्बिन्छ, अबको एक वर्षभित्र २ बजेसम्म पसल/व्यवसाय खुला हुने वातावरण सिर्जना गर्न लागिरहेका छौं।’ 

प्रकाशित: ७ असार २०८१ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App