४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालले बंगलादेशलाई बिजुली बेच्ने पक्कापक्की

लामो समयको प्रयासपछि अब नेपालको बिजुली बंगलादेश निर्यात हुने भएको छ। नेपालको आग्रहलाई स्वीकार गर्दै बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजाने भएको छ।

बंगलादेशको सरकारी समाचार संस्था बिएसएसका अनुसार मंगलबार बंगलादेशका अर्थमन्त्री अबुल हसन महमुद अलिको संयोजकत्वमा बसेको खरिद समितिको बैठकले नेपालबाट ४० मेगावाट बिजुली खरिद ‍गर्ने निर्णय गरेको हो।

नेपालबाट भारतको प्रसारण ग्रीड हुँदै बंगलादेशले बिजुली लैजाने निर्णय भएको जानकारी मन्त्रीपरिषद् डिभिजन सचिव महमुदुल होसैन खानले पत्रकारहरूलाई दिए।

बंगलादेशले प्रसारण लाइनको शुल्क भारतलाई ०.०५९ रूपैयाँ प्रतियुनिट ट्रेडिङ मार्जिन तिरेर लैजाने तयारी छ। पाँच वर्षका लागि सम्झौता गर्ने तयारी छ। वार्षिक १३० करोड टाका खर्च हुने र पाँच वर्षमा ६५० करोड टाका खर्च हुने अनुमान बंगलादेशको अर्थ मन्त्रालयलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन्। बंगलादेशी मुद्रा एक टाकाको नेपाली एक रूपैयाँ १४ पैसा हुन्छ।

गत वर्ष नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको थियो। नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो। ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण रहेको सरोकारवाला बताउँछन्।

नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभिभिएन बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ। सोही संस्थामार्फत नेपालको बिजुली बंगलादेश पुग्नेछ। असार दोस्रो साता नेपाल र बंगलादेशबीच हुने ऊर्जा सचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने तयारी छ।

नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भित्र्याउन सहज हुने निजी क्षेत्रको बुझाइ छ। सन् २०४० सम्म बंगलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ। हाल भारतले बंगलादेशलाई बिजुली निर्यात गरिरहेको छ।

स्वच्छ ऊर्जाको खोजीमा रहेको बंगलादेशले नेपालका केही महत्त्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ। गत वर्ष बंगलादेशमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौं बैठकले बिजुली निर्यात गर्ने निर्णय गरेको थियो।

सो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा गम्भीर छलफल भएको थियो।

गत वर्षको बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम, भारत र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा अघि बढाउने सहमति भएको थियो।

भारतसँग पनि पनि बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा गत वर्ष नै हस्ताक्षर भएको थियो। आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने योजना छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो। प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीन रूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति भएको बताएका थिए।

सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ। त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ। सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८१ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App