१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘अर्थतन्त्र चलायमान बनाउन घर जग्गा र सेयरबजारको नीति खुकुलो बनाऔं’

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायत। तस्बिर: चुमन/नागरिक

सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट देशको अर्थतन्त्रको समस्या समाधान उन्मुख नभएको टिप्पणी गरेका छन्।

 मोरङ उद्योग व्यापार संघले शुक्रबार विराटनगरमा आयोजना गरेको अन्तरसंवादमा पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्र चलायमान बनाउने ठोस नीति नभएकाले बजेट अर्थतन्त्रको समस्या समाधान उन्मुख नभएको टिप्पणी गरेका हुन्।

बजेटले अर्थतन्त्रको समस्याको पहिचान गरेर समाधानका लागि नीतिगत व्यवस्था गर्न नसकेको पाण्डेले बताए। उनले बजेटले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने भएकाले सरकारले तीन वटा विषयमा ध्यान दिनु जरुरी रहेको धारणा राखे।

देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले घरजग्गा र सेयरबजारमा खुकुलो नीति लिने र आयात बढाउने नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव पाण्डेको छ। ‘घरजग्गा र सेयरबजार चलायमान नहुँदा सम्पूर्ण अर्थतन्त्र नै जाम भएकाले अर्थतन्त्र चलायमान बनाउन घरजग्गा, सेयरबजारलाई खुकुलो बनाउँदै आयात बढाउने नीतिगत व्यवस्था गर्नुपर्छ’ पाण्डेले भने।

उनले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेका कारण आयात घट्दै जाँदा अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परिरहेको बताए।

उनले भने ‘आयात बढ्नु राम्रो हैन तर आयातमा निर्भर अर्थतन्त्र भएका कारण आयात नबढी राजस्व बढ्ने आधार नै नरहेकाले अल्पकालका लागि भए पनि आयात बढाउने नीति लिनै पर्दछ।’

पाण्डेले नेपालको अर्थतन्त्र चलायमा बनाउने घरजग्गाको कारोबार र सेयर बजार नै भएकाले घरजग्गा तथा सेयर बजार सुस्त हुँदा समग्र अर्थतन्त्र नै चलायमान हुन नसकेको बताए।

पाण्डेले सरकारले अर्थतन्त्र चलायमान बनाउन आयात बढाउने र घरजग्गा, सेयरमा लचिलो नीति लिँदै लगानीकर्ताको मनोबल बढाउन सुझाव दिए। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याएको बजेट हावादारी भएको टिप्पणी गरे।

थापाले सरकारले हरेक वर्ष हावादारी बजेट ल्याउने गरेको र यो वर्ष पनि त्यही हावादारी बजेटलाई निरन्तरता दिएको बताए। थापाले अघिल्लो वर्षको जस्तै यो वर्ष पनि राजस्वको लक्ष्य यथार्थपरक नभएको बताए।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा राजस्वको लक्ष्य १४ खर्ब राखिएकोमा त्यो लक्ष पूरा हुने कुनै आधार नै नरहेको थापाले बताए। यस्तै वैदेशिक अनुदान, वैदेशिक ऋण लगायतको स्रोत पनि सरकारले लिएको लक्ष भेट्टाउने गरी प्राप्त हुने अवस्था नरहेको थापाले बताए।

उनले भने, ‘यो वर्ष साढे १० खर्ब राजस्व उठ्न पनि हम्मे भइरहेका बेला आगामी वर्ष राजस्व बढेर १४ खर्ब पुग्ने कुनै आधार देखिँदैन’, उनले भने, ‘आगामी वर्ष ३४ प्रतिशतले राजस्व बढ्ने कुनै आधार छैन।’

बजेटमा राजस्वका अनुमानहरू, प्राप्त हुने वैदेशिक ऋण, अनुदानलगायतका सबैजसो विषय यथार्थभन्दा सनकका भरमा हावादारी लक्ष्य राखिएकाले बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष पनि पूरा नहुने थापाले बताए। उनले नेपालमा यथार्थपरक भन्दा पनि चर्चा कमाउने उद्देश्यले बजेट ल्याउने गरिएको बताए।

मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले सरकारले ल्याएको बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नभएको बताए। उनले बजेट ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै भएको टिप्प्णी गरे।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बजेट परम्परागत रूपमा आएको बताए। उनले बजेटले करका दर वृद्धि गरेर लगानीको वातावरण विगारेको धारणा राखे।

विशेष गरी रड उद्योगको कच्चा पदार्थ, धान, मकै, गहुँलगायत उद्योगका कच्चापदार्थमा पनि कर बढाएर नेपाली उद्योगलाई धराशायी बनाउने नीति सरकारले लिएको राठीले आरोप लगाए।  

प्रकाशित: २७ जेष्ठ २०८१ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App