१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा–मुग्लिन राजमार्गको पूर्वि खण्डको म्याद १ सय ५५ दिन थपियो

बिस्तार भईरहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डमा गुडिरहेका सवारी। तस्बिरः सन्तोष पोखरेल/नागरिक

कोरोना भाइरस संक्रमणले गर्दा बेलैमा काम थाल्न नपाएको भन्दै पोखरा–मुग्लिन सडकको पूर्वि खण्डको म्याद १ सय ५५ दिन थपिएको छ। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भईरहेको छ। 

दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। पूर्वि खण्डको म्याद गत वैशाख २ गते (२०२४ अप्रिल १४) मा सकिएको थियो। पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णु पाण्डेले कोरोना भाइरस संक्रमणले गर्दा सुरुको समयमा काम थाल्न ठेकेदार कम्पनिलाई बाधा पुगेकोले त्यही अवधि (१५५ दिन) थप भएको बताए। थपिएको समय बैशाख २ गतेदेखि नै लागु हुने उनले बताए।

‘कोरोना भाइरस संक्रमणले गर्दा सुरुवाती समयमा काम हुन सकेको थिएन। सरकारले त्यही बेला कोरोनाबाट अति प्रभावित आयोजनाको बढीमा ६ महिनासम्म म्याद थप्न सकिने बताएको थियो,’ उनले भने, ‘त्यही आधारमा अहिले म्याद थपिएको हो। १ सय ५५ दिनसम्म काम हुन नपाएको आयोजनाको ठहरपछि म्याद थपिएको हो।’  

निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्विखण्ड झन्डै ६० प्रतिशत मात्र काम भएको छ। पश्चिमखण्डको २५ प्रतिशत जति मात्र काम सकिएको छ। पूर्विखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो।

पाण्डेका अनुसार यो पहिलोपटक थपिएको म्याद हो। थपिएको समयमा पनि काम सम्पन्न हुन नसके समय थप हुन सक्छ । तर, त्यो त्यतिबेलाको अवस्थाले बताउनेछ। उनका अनुसार कोरोना संक्रमणका कारण ठेकेदार कम्पनिले त्यो बेला कामै अघि बढाउन सकेको थिएन। ‘सरकारले तोकेको निर्धारित समय सकिएको छ,’ उनले भने, ‘थपिएको समयमा काम सम्पन्न गर्नेगरि पहल भईरहेको छ।’  

‘कोरोना भाइरस संक्रमणले गर्दा सुरुवाती समयमा काम हुन सकेको थिएन। सरकारले त्यही बेला कोरोनाबाट अति प्रभावित आयोजनाको बढीमा ६ महिनासम्म म्याद थप्न सकिने बताएको थियो,’ उनले भने, ‘त्यही आधारमा अहिले म्याद थपिएको हो। १ सय ५५ दिनसम्म काम हुन नपाएको आयोजनाको ठहरपछि म्याद थपिएको हो।’  

उनका अनुसार अहिलेसम्म जिम्मा पाएको सडकमध्ये साढे २२ किलोमिटर चारलेन (दुइतर्फी) र साढे ७ किलोमिटर दुइलेन (एकतर्फी) सडक कालोपत्रे भईसकेको छ। एकतर्फी तर दुइलेनको सडकमा पनि दोहोरो सवारी चल्ने उनले बताए। ‘सबैगरि ३० किलोमिटर त कालोपत्रे भएको छ। चारलेनमा त सहज भईसक्यो। दुइलेनको खण्डमा पनि दोहोरो सवारी गुडाउन मिल्छ,’ उनले भने, ‘पहिलेको तुलनामा यात्रा केही सहज बनेको छ।’ दुइतर्फि कालोपत्रे भएको ठाउँमा त आफ्नो लेन अनुसार सवारी गुड्छन। एकतर्फी तर दुइलेन सडकमा पनि दोहोरो गाडी गुड्ने भएकोले सहज भएको उनले बताए ।

उनका अनुसार अब ११ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी छ। त्यसमध्ये पनि केही खण्डमा वर्षायामभित्रै कालोपत्रे गर्ने योजना रहेको उनले बताए। उनका अनुसार सबैभन्दा बढी तनहुँ सदरमुकाम दमौली आसपासको क्षेत्रमा सडक कालोपत्रे हुन बाँकी छ। त्यसपछि डुम्रे क्षेत्रमा बाँकी उनले बताए। ‘जनतालाई यात्रामा सहज हुनेगरि कालोपत्रेको खण्ड बढाउने प्रयास छ। बाँकी नाला, ढल, लगायतको व्यवस्थापन पनि भईरहेको छ,’ उनले भने।

जतिसक्दो बढी सडकलाई कालोपत्रे बनाउन प्रयास गर्ने गरि काम भईरहेको उनले बताए। पुल, नाला, ढल, ट्राफिक संकेत लगायत फिनिसिङको काम बाँकी रहेका इन्जिनियर पाण्डेले बताए। ‘यात्रुका लागि सहज यात्रा चाहिएको छ। त्यसैले प्राथमिकता पनि बढी भन्दा बढी खण्डलाई कालोपत्रे गर्ने भन्ने हो। सडक सहज भयो भने अरु काम बिस्तारै हुँदै जान्छन,’ उनले भने।

पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पनि अहिले बिस्तार भईरहेको छ। पश्चिम खण्डमा भने २०२४ अगष्टसम्म ठेकेदारको नियमित समय बाँकी छ। तर, ठेकेदार कम्पनिले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ।  

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। राजमार्गको पूर्वि खण्ड बिस्तारका लागि चाइना कम्यूनिकेसन कन्स्ट्रक्सन कम्पनिले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनि अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनिले जिम्मा लिएको छ। प्राविधिकका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकी यो खण्डमा विद्युत पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ।

एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुुखैरेनीसम्मको दुईलेन सडकलाई विस्तार गरी चारलेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भईरहेको छ। आयोजनाका अनुसार पूर्वि खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।

प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चारलेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुुनेछ। दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइर पनि यसैमा बनाइने आयोजनाले बताएका छन। डिभाइडरलाई सौन्दर्यकरण पनि गरिनेछ।

अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। पछिल्ला समय राजमार्ग झन्डै जिर्ण भएको थियो। राजमार्गका ठाउँठाउँमा खाडल पर्दा यात्रा झन्झटिलो र समय बढी लाग्ने गरेको थियो।

प्रकाशित: ९ जेष्ठ २०८१ १७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App