१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

अझै चुलियो कामिरिताको कीर्तिमान, २९औं पटक सगरमाथा आरोहण

सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी सोलुखुम्बु थामेका ५४ वर्षीय कामिरिता शेर्पाले आफ्नो कीर्तिमानलाई अझैअग्लो पारेका छन्। बिहान ७ बजेर २५ मिनेट जाँदा पुनः सगरमाथाको चुचुरोमा सफल पाइला टेक्दै आफ्नो कीर्तिमानको अंक अझै अग्लो पारेका हुन्। योसँगै कामिरिताले सगरमाथामा सफल पाइला राखेको २९ औंपटक हुन पुगेको छ। 

उनले गत वर्ष मात्रै दुईपटक सफल आरोहण गर्दै २७औं र २८औं पटक सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमान कायम गरेका थिए। कामिरिताको पछिपछि सोलुखुम्बुको पाङ्बोचेकै ४७ वर्षीया पासाङ दावा (पादावा) शेर्पा छन्। 

उनले गत वर्ष एकै सिजनमा २६औं र २७औंपटक सगरमाथाको सफल आरोहण गर्दै कामिरितासँग बराबरी गरेका थिए। त्यसको एक साता नबित्दै कामिरिताले फेरि २८औं पटक आरोहण गरेर नयाँ कीर्तिमान बनाउनुपरेको थियो। 

कामिरिता यसपटक विदेशी पर्यटकको हाई अल्ट्च्यूड गाइडका रुपमा सगरमाथा आरोहण गर्न गएका थिए। सोही क्रममा उनले आफ्नो कीर्तिमानको नयाँ उचाइ कायम गरेका हुन्। कामिरिताले २०४८ सालबाट हिमाल आरोहण थालेका थिए। 

त्यसको केही वर्षमै २०५१ सालमा उनले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भए। उनलाई पछ्याइरहेका पासाङ दावाले भने २०५५ मा पहिलोपटक सगरमाथा टेक्न भ्याएका थिए। 

यसैबीचमा कामिरिताले २०७४ सालमा सर्वाधिक २१ पटक सफल आरोहणको कीर्तिमान कायम गरेका थिए। त्यसयता भने उनले आफ्नो कीर्तिमान निरन्तर अग्लो पारिरहँदा पासाङ दावाले पछ्याइरहेका छन्।

कामिरिताले सगरमाथाबाहेक ८ हजार मिटर अग्ला माउन्ट केटू, चोयु, ल्होत्से, मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेका छन्।

प्रकाशित: ३० वैशाख २०८१ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App