१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अब घरबाटै स्वास्थ्य बिमामा आबद्ध हुन पाइने

तपाईं नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमामा आबद्ध हुन चाहनुहुन्छ? अब कुनै चिन्ता लिनु पर्दैन। स्वास्थ्य बिमा बोर्डले घरैमा बसीबसी तपाईंको यो इच्छा पूरा गर्दै छ। नयाँ आव अर्थात् आगामी साउनदेखि बोर्डले अनलाइन फाराम भरी स्वास्थ्य बिमाको नयाँ सदस्य बन्ने व्यवस्था गर्ने भएको हो। यो नयाँ प्रक्रियाका लागि बोर्डले कार्यविधि निर्माण गर्ने, सफ्टवेयर बनाउने लगायत कार्य पूरा गरिसकेको छ।

अनलाइनमार्फत बिमामा आबद्ध हुनेले सरकारको नयाँ नीतिअनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नेछ। यो लागु हुनुअघिसम्म वडा कार्यालयमार्फत बिमामा आबद्ध हुँदा भने नागरिकताकै आधारमा सदस्यता दिइन्थ्यो।

साउन १ गतेपछि मात्र राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए। ‘साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्रको आधारमा मात्र बिमामा आबद्ध हुन पाइन्छ, अनलाइन र वडा कार्यालयमार्फत लिइने दुवै प्रक्रियामा राष्ट्रिय परिचय पत्र नै चाहिन्छ,’ उनले भने।

आवश्यक कागजात अपलोड गरेपछि बिमामा आबद्ध हुने सदस्यले अनलाइनमार्फत ३५ सय रूपैयाँ बिल भुक्तानी गरेपछि स्वतः बिमामा आबद्ध हुनेछन्। नयाँ सदस्य बन्नेबाहेक नवीकरण पनि अनलाइनमार्फत नै हुने निर्देशक बसौलाले जानकारी दिए।

अनलाइनमार्फत बिमाको सदस्य हुने प्रणालीले वडा कार्यालयसम्म पुगेर बिमामा आबद्ध हुने समय नभएकाहरूका लागि, डिजिटल प्रणालीमा पहुँच हुनका लागि राहत मिल्ने रकाममा ढिलाइ हुने प्रक्रिया कम हुने, वडा कार्यालयमा ग्राहको भीड हुने, नवीकरण प्रक्रियामा झन्झट बेहोर्नुपर्नेलगायत झन्झटबाट सेवाग्राही स्वतः मुक्त हुने भएकाले यो प्रणालीले सेवाग्राहीलाई सहज बनाएको डा. बसौलाले बताए।

यसका साथै बिमाको अवधि सकिएपछि तुरुन्तै घरमै बसीबसी सेवाग्राहीले नवीकरण गर्न पाउने हुँदा उत्तिकै प्रभावकारी रहेको उनले बताए। स्वास्थ्य बिमामा आवश्यक कागजात परिचयपत्रका लागि राष्ट्रिय परिचय पत्र कार्यालयसँग सम्झौता भइसकेको बसौलाले जानकारी दिए।  

प्रकाशित: १५ असार २०८१ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App