६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आगामी आर्थिक वर्षको बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

कार्यकर्ता भेटघाट कार्यक्रमलाई सिन्धुलीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (Pushpa Kamal Dahal) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा बुधबार मुलकोटमा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको दाबी गरे। “म प्रधानमन्त्री भएपछि ठूलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ”, उनले भने।

राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट (Nepal Budget) निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने नीति लिइने बताए। नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने आश्वासन दिए । 

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष  दाहालले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए। वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ।  

माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने स्पष्ट पारे। वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै उनले पछिल्ला समय भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए। 

प्रकाशित: २६ वैशाख २०८१ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App